
काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा धनगढी एफसीलाई १-० गोलले हराउँदै पोखराले फाइनलमा स्थान बनाएको हो । पोखराको जितमा एकमात्र निर्णायक गोल स्टेफन समीर विलोङले गरे ।
खेलको १४ औं मिनेटमा धनगढीले अग्रता लिने अवसर गुमायो । आफिज ओलावालेले डिबक्सभित्र पाएको बललाई सदुपयोग गर्न सकेनन् । उनले बलसँगको सन्तुलन गुमाए ।
पहिलो हाफको इन्जुरी समयमा दिपेश राइको सशक्त प्रहारलाई पोखराका गोलकिपर गुइलामे प्रीसोले विफल पारे ।
खेल सकिनै लाग्दा पोखराका विलोङले गोल गर्दै पोखरालाई फाइनलमा पुर्याए । इन्जुरी समयमा उनले गोल गरेका हुन् ।
आजको खेलमा ब्राजिलका लेजेन्ड फुटबलर रोबर्टो कार्लोसको समेत उपस्थिति थियो ।
अब पोखराले उपाधिका लागि ललितपुर सिटि एफसीसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।