१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुँदै



अ+ अ-

काठमाडौँ । सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसईईको नतिजा अन्तिम अवस्थामा पुुगिसकेको छ ।

विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयमा पुनः विचार नहुने र ढुक्क भएर यसको तयारी थाल्न पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले आह्वान गरेका छन् । केन्द्रका निर्देशक गणेश भट्टराईले सानातिना समस्या भए पनि आफ्नो निर्णयबाट सरकारपछि नहट्ने बताउनुभयो । राजनीतिक प्रणाली परिवर्तन भए पनि पाठ्यक्रममा परिमार्जन हुन नसकेको उल्लेख गर्दै नयाँ पाठ्यक्रम लागू गर्ने अवसरबाट पछि हट्न नहुने र सरकार यसमा अडिग रहेको उहाँले बताउनुभयो । कक्षा ११ को नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवन उयोगी शिक्षा गरी तीनवटा अनिवार्य विषयका पुस्तक सरकारले नै उपलब्ध गराउने जानकारी उहाँले दिनुभयो । केन्द्रले हालसम्म ७५ वटा विषयको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।

पाठ्यक्रममा भएका कमी कमजोरीलाई बर्सेनि परिमार्जन गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षकको तालिम, अभिमुखीकरण लगायतमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । हाल विद्यालय तहमा कार्यरत शिक्षकबाटै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तयारी थाल्दै विद्यालय
विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाले भने नयाँ पाठ्यक्रम लागू गर्न तयारी सुरु गरेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरकारबाट विशेष सहयोग हुनुपर्ने अवस्था रहेको जनाएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापाले नयाँ पाठ्यक्रम लागू गर्न ढिला भइसकेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको जग बसाल्न पनि नयाँ पाठ्यक्रम लागू गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । राजनीतिक प्रणाली परिवर्तन भए पनि त्यसबारे विद्यार्थीलाई जानकारी दिन नसकिएको अवस्थामा नयाँ पाठ्यक्रम लागू गरिने कुरामा विलम्ब हुन नहुने उहाँको भनाइ छ । विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले धेरै ठूलो धनराशि खर्च गरेर नयाँ पाठ्यक्रम निर्माण गरिएकाले यसको कार्यान्वयन यसै वर्षबाट गरिनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयहरूले नयाँ पाठ्यक्रम लागू गराउन आवश्यक तयारी थालेको उहाँको भनाइ छ । पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिनुपर्ने स्पष्ट गर्दै शिक्षकको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । सरकारले २०७६ माघ २ गते कक्षा ११ मा यसै शैक्षिक सत्रबाट र कक्षा १२ मा आगामी शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ  ।