२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती



अ+ अ-

त्रिवेणी, (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उहाँ अहिले व्यस्त हुनुहुन्छ ।

तीन बिघामा मेवाखेती गर्नुभएका महतोले अहिले ६० टन मेवा बिक्री गरिसक्नुभएको छ । मेवा बिक्रीबाट करिब रु १८ लाख आम्दानी गरेको उहाँले बताउनुभयो । मेवाको बिक्रीमा खासै समस्या नभएको उहाँको भनाइ छ । उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ । वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उहाँको भनाइ छ । केही मेवा काठमाडौँ पनि बिक्री गरेको महतोले बताउनुभयो ।

गत वर्ष चैतमा नयाँ बिरुवा लगाउनुभएका महतोले असोजबाट बिक्री सुरु गर्नुभएको हो । असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आउनुभएको छ । “मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ वीरगन्जमै खपत भएको छ”, उहाँले भन्नुभयो ।

मेवा प्रतिकेजी रु ३० देखि ४० सम्ममा बिक्री हुने गरेको किसान महतोले बताउनुभयो । मेवाखेतीमा करिब रु १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब रु पाँच लाख फाइदा लिइसकेको उहाँले बताउनुभयो । अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उहाँले बताउनुभयो । उक्त समयसम्म करिब रु २०–२१ लाखको मेवा बिक्री हुने उहाँको अनुमान छ । यसले आम्दानी पनि बढाउने उहाँले बताउनुभयो ।

मेवाखेतीबाट उहाँले आम्दानीमात्र लिनुभएको छैन, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी दिनुभएको छ । मेवाको लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब रु ९ लाख ज्यालाबापत बुझेको उहाँको भनाइ छ । कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उहाँको भनाइ छ । सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमश: आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उहाँको भनाइ छ ।

अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ । हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुन: नयाँ बोट लगाउनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले रेडलेडी प्रजातिको मेवाखेती गर्नुभएको छ ।

मेवाखेतीका लागि कावासोती नगरपालिकाले रु तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताउनुभयो । मेवाखेती गर्नुअघि उहाँले उक्त जग्गामा खरबुजाखेती गर्नुभएको थियो । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताउनुभयो । कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहनुभएका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बन्नुभएको छ । रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताउनुभएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । “मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो”, उहाँले भन्नुभयो । रासस




भर्खरै