२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल



अ+ अ-

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।

धौलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी–जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।

थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिनुभयो । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वर्द्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा धेरैले घटेको छ ।

सेकुङ तालसम्म जोड्ने गरी बेनी–जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिएपनि कतिपय स्थानमा सडक जीर्ण हुँदा तालसम्म पुग्न सवारी साधनलाई कठिन छ । सङ्घीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरेपनि आवश्यक स्तरोन्नति गर्न सकेको छैन ।

थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्ष अघि बाँध निर्माण गरेको थियो । तर, तालमा पानी जम्मा हुन सकेको छैन । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुङ्गा राखेर पैदल बाटो निर्माण गरेको थियो । वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो ।

सेकुङ तालमा निलगिरि हिमालको प्रतिबिम्व देख्न सकिन्छ । सेकुङ ताल पर्यटकीय मात्रै नभएर धार्मिक रुपमा पनि महत्त्वपूर्ण रहेको सो वडाका वडाध्यक्ष गौतम शेरचनको भनाइ छ । तालमा सदिँयौँदेखि स्थानीयले प्रकृति पूजा गर्दै आइरहेका छन् । बर्सेनि सेकुङ तालमा हिमपहिरोको जोखिम हुने, बाढी पहिरो र सुख्खा खडेरी हुँदा सेकुङ तालमा धार्मिक पूजा गर्ने प्रचलन विद्यमान रहेको वडाध्यक्ष शेरचनले बताउनुभयो ।

यस ताल क्षेत्र वन्यजन्तु र विभिन्न पक्षीको क्रिडास्थल पनि हो । यहाँ हिउँचितुवा, चितुवा, मृग, कस्तुरी, घोरल, थार, स्याल, बनबिरालो घोरललगायतका वन्यजन्तुको बासस्थान छ । ताल आसपासमा  डाँफे, मुनाल, कस्तुरी, कालिज, च्याखुरा र ठिकुरीलगायतका चराचुरुङ्गी पाइन्छन् ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिह लालचनले सेकुङ ताल पर्यटकीय तथा प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिनुभयो । यसको सरक्षण, सम्वर्द्धन र प्रचार/प्रसारमा ध्यान दिनसकेमा पर्यटकको सङ्ख्या वृद्धि हुने बताउनुभयो । रासस