९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
अ अ+ अ-

बेनी, (म्याग्दी) । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आउनुभएका उहाँको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिनुभएको छ ।

परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “गोठमा गाईभैँसी पाल्नु भनेको दु:खको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्”, पुनले भन्नुभयो । भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन् ।

लेकाली क्षेत्रमा पालन गरिने भैँसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैँसी र खसीबोकाको माग धेरै छ । यहाँका किसानले कोदो, मकै, जौँ, गुहँुलगायतको खेती गर्ने भएकाले खेतबारीलाई मलिलो बनाउन पशुपालन अनिवार्यजस्तै हुने गरेको छ । पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वनजङ्गल, लेक–बेँसीका उकाली ओरालीको दु:ख र बर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ ।

मुनाकै ८० वर्षीय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ । आफ्नो बुबाआमाले गर्दै आएको भेडाबाख्रापालन गर्ने कामलाई निरन्तरता दिनुभएका उहाँले आफ्नो छ छोरी र चार छोरासहितको परिवारको हुर्काइबढाइको जोहो गोठबाटै गरेको बताउनुभयो । “म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्र पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेँसीमा भने गोठमै दिन कटाउँछु”, उहाँले भन्नुभयो ।

पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरूको सङ्ख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसानजस्तै हुने गरेको उहाँले अनुभूति सुनाउनुभयो । पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन् । मुनामा अहिले पनि करिब १०० घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।

दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए । परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बूढापाकाले मात्र धानेका छन् । हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन् । वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन् ।

खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक किसान हर्कबहादुर रोकाले बताउनुभयो । घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उहाँको भनाइ छ ।

“पुर्खाले गरेको पेशालाई च्वाट्ट छाड्न पनि सकिएन, बीचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरि आफ्नै पुख्र्यौली घुम्ती गोठमा पशुपालन गर्ने काम अँगालेको छु”, रोकाले भन्नुभयो । पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ । स्थानीयले गाईभैँसी र बाख्रापालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन् ।

हिउँदयाममा बेँसीको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ । जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेँसीतर्फ झार्ने गरिन्छ । हिउँदेबाली जाँै, गहुँलगायत भित्र्याएपछि वैशाखको सुरुदेखि घुम्ती गोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ । यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पुर्याउने गर्छन् ।

यस क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या घटे पनि घुम्ती गोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो । “युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रम ल्याउन सुरु गरेका छौँ, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो”, वडाध्यक्ष रोकाले भन्नुभयो ।

चालु आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि किसानबाट माग सङ्कलन गरिरहेको छ । म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ । यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ । रासस