काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरुले आज बिहान ९ बजेदेखि नै प्रदर्शन गर्ने भएका छन् ।
यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर, बबरमहल र बिजुलीमा प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज भने बिहानैदेखि प्रदर्शन गर्न लागेका हुन् । राप्रपाले आज निषेधित क्षेत्र तोड्ने गरी आन्दोलन घोषणा गरेकाले शिक्षकले आफ्नो विरोध कार्यक्रम बिहानका लागि सारेका हुन् । उनीहरुले ९ बजेदेखि १२ बजेसम्म विरोध गर्ने छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय सारेको हो ।
आन्दोलन परिचालन कमिटीका संयोजक एवं महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई ख्याल गरेर आन्दोलनको समय सारिएको हो ।
शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले आन्दोलन जारी राखेका छन् ।










