काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस निकट विभिन्न संघसंस्था तथा प्रतिनिधिको हस्ताक्षरसहित विभागले शिक्षकका माग सम्बोधन गर्ने पहलकदमीमा अग्रसरता लिन सभापति देउवाको ध्यानाकर्षण गराएको हो ।
विभागले शिक्षक संघका पदाधिकारीहरु र नेपाल शिक्षक महासंघका पदाधिकारीहरुसँगको अन्तरक्रिया¸ छलफल¸सुझाव आदान–प्रदानसमेत गरेको थियो । छलफलले शिक्षकहरुको आन्दोलन जाहेज¸कानुन सम्वत¸समयानुकुलको शिक्षा गुणस्तर र पेशागत हकहित संरक्षण गर्ने माग रहेको ठहर गरेको थियो ।
शिक्षक आन्दोलनको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै विभागले माग पूरा गर्न अग्रसरता लिनुपर्ने जनाएको छ । शिक्षकका माग पूरा गर्न सरकारलाई कडा रुपमा निर्देशन दिनुपर्ने ठहर पनि विभागले गरेको छ ।
विभागले एसईईको उत्तर पुस्तिका परीक्षण तथा परीक्षाफल प्रकाशन तथा कक्षा १२ को परीक्षा सञ्चालनमा असर नहुने गरी आन्द्योलनरत शिक्षकसँग वार्ता गर्नुपर्नेमा जोड दिएको छ ।










