९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न
अ अ+ अ-

नवलपुर, (नवलपरासी) । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट–दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् ।

नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् । “निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेका छन्”, उहाँले भन्नुभयो, “निर्माण सकिएका दुई ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन् ।” यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन् ।

निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताउनुभयो । आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । “गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन्”, उहाँले भन्नुभयो, “यी चारवटै पुलका जनशक्ति र उपकरण अहिले विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलाको पुल निर्माणमा परिचालन गरिएको हुँदा ती पुल निर्माणमा ढिलाइ हुने भएको छ ।”

अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ । गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२ दशमलव ५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ । “यस खण्डमा निर्माण भएका पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “दाउन्नेको चार किलोमिटर क्षेत्रबाहेक अन्य सबै ठाउँमा यो वर्खा अगाडि नै कालोपत्र सक्ने गरी काम भइरहेको छ ।”

यस खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । नारायणघाटबाट बुटवलसम्मको १ सय १४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ ।

ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख गरिएको भन्दा चार गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड–१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ । ४२ महिना (२०७९ साउन) मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ । रासस