
काठमाडौं । गत चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराविरुद्ध सरकारले मुद्दा नचलाउने भएको छ । १५ गते नै पक्राउ परेका उनीहरुविरुद्ध अहिलेसम्म अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहे पनि अब रिहा गर्ने तयारी छ ।
काठमाडौं प्रहरी परिसरले मिश्र र जबराविरुद्ध अहिलेसम्म राज्यविरुद्ध र संगठित अपराधको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर थुनामा राख्दै अनुसन्धान गर्दै आएको छ । तर आन्तरिक तथा वाह्य दबाबका कारण अब उनीहरुलाई रिहा गर्न लागिएको हो । कहिले रिहा गर्ने भन्ने टुंगो भने लागि सकेको छैन ।
मिश्र र जबरा पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका उच्च अधिकारीहरुले प्रहरी हिरासतमै पुगेर उनीहरुसँग भेटसमेत गरिसकेका छन् । त्यति मात्र नभएर सुरक्षा निकायका प्रमुख र सत्तारुढ दलकै शीर्ष नेताहरुसमेत मिश्र र जबरासँग संवाद गरेको स्रोतले जनाएको छ ।
यो प्रकरणमा पक्राउ परेका दुर्गा प्रसाईंलाई भने कुनै पनि हालतमा नछाड्ने अडानमा सरकार देखिएको छ । प्रसाईविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतका विषयमा अनुसन्धान जारी छ । तर राप्रपाका दुई नेतालाई भने छाड्न राजनीतिक रुपमा आन्तरिक तथा वाह्य दबाब परेको छ । उनीहरुविरुद्ध अदालतमा अभियोग लैजाँदा पनि सरकारलाई प्रमाण जुटाउन सकस पर्ने देखिएको छ । अदालतबाट रिहा भइहाले उनीहरुको राजनीतिक हैसियतसमेत बढ्ने भएकाले सरकारले मुद्दा नै नलैजाने तयारी गरेको हो ।
‘दुई जना नेतालाई नयाँ वर्ष सुरु हुनु अघि नै रिहा गर्ने तयारी थियो, तर केही प्राविधिक कारणले ढिला भएको हो’ स्रोतले भन्यो, ‘अब केही दिनभित्रै सबै प्रक्रिया गरेर रिहा गरिने छ ।’ तीनकुने घटनामा पक्राउ परेका अन्यविरुद्ध भने मुद्दा चलाइने भएको छ ।
तीनकुने घटनामा पक्राउ परेका मिश्र र जबरालाई पटकपटक म्याद थप गरेर अहिलेसम्म प्रहरीले हिरासतमा राख्दै आएको छ । पछिल्लो पटक चैत २६ गते उनीहरुसँगै २० जनालाई १५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । यसरी म्याद थप गरिएकाहरुमा मिश्र र जबरासहित गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् । उनीहरुमाथि माथि राज्यविरूद्धको कसुरमा अनुसन्धान जारी छ ।
यस्तै अन्य ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई भने २० दिनको हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ ।
प्रहरीले त्यस घटनामा संलग्नको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ । ती व्यक्तिहरूलाई स्क्रिनिङ गरी संलग्न नदेखिएकाहरूलाई छाड्दै आएको हो । प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको हो ।
चैत १५ गते भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो । त्यस दिन २० जना गोली लागेर घाइते भएका थिए ।