१० मंसिर २०८१, सोमबार
,
Latest
मन्त्रिपरिषद्को बैठक जारी प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह पुल नबन्दा स्थानीयलाई सास्ती सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारतबीचको सम्बन्धको उतारचढावमा चीनलाई तान्न खोजिन्छ : होउ यान्छी



अ+ अ-

नेपालको आन्तरिक मामिलामा प्रायः प्रतिक्रिया नजनाउने चीन केही समययता सक्रिय भएको स्पष्ट देखिन्छ । त्यसैले नेपालको कूटनीतिक मात्र होइन, राजनीतिक चर्चाको केन्द्रमा छिन्, चीनकी राजदूत होउ यान्छी । भिन्न कूटनीतिक शैलीमा देखिएकी यान्छीको सक्रियतालाई चीनको सक्रियताका रूपमा बुझ्न थालिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी पछिल्लो समय आन्तरिक विवादमा रुमल्लिरहँदा उक्त पार्टीका नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग लगातार भेटघाटमा सक्रिए देखिएकी उनको यो कदमलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । त्यस्तै नेपाल र भारतबीच सीमाविवादमा पनि चीनको भूमिका छ भनेर भारतीय समाजमा विश्लेषण भइरहेको छ । उता चीन र अमेरिकाबीचको राजनीतिक तथा व्यापारिक सम्बन्धले पनि विश्व राजनीति तताएको छ । यी विषयमा मात्र होइन, कोभिड–१९ नियन्त्रण गर्न चीनले हासिल गरेको सफलता पनि चर्चाको विषयमा छ । यी समग्र विषयमा नयाँ पत्रिकाका लागि नरेश ज्ञवालीले गरेको संवादः

दुनियाँ अहिले कोभिडविरुद्ध संघर्षमा छ, तर केही देशले भने उदाहरणीय रूपमा यो महामारी नियन्त्रण गरेका छन्, त्यसमा चीन पनि एक हो । खासमा त्यति ठूलो जनसंख्या भएको देश चीनले कसरी यो महामारीलाई नियन्त्रणमा राख्न सकेको छ, चीनको प्रयासबाट अन्य मुलुकले के सिक्न सक्छन् ?

कोभिड–१९ विरुद्धको लडाइँमा चीनको अनुभवलाई ‘थ्रिएस’का रूपमा संक्षेपीकरण गर्न सकिन्छ । पहिलो ‘एस’, सिस्टम (प्रणाली) रहेको छ । हामीले संस्थागत सुविधाको पूर्ण सदुपयोग गर्‍यौँ । साथै, केन्द्रीकृत एवं किफायती कमान्ड प्रणाली स्थापित गरेका छौँ । राष्ट्रपति सी जिनपिङको नेतृत्व र मार्गनिर्देशनअन्तर्गत सबै तहका सरकारका सबै विभागले अत्यन्त व्यवस्थित रूपमा नियन्त्रण प्रयास गरेका छन् । स्थानीय अधिकारी तथा अन्य सरोकारवालाहरू पनि आ–आफ्नो जिम्मेवारीमा खरो उत्रिएका छन् । र, उनीहरूले केन्द्रीय अधिकारीका प्रत्येक निर्णय र योजनालाई कार्यान्वयन गरेका छन् । संक्रमण नियन्त्रणका सबै उपाय कडाइसाथ प्रभावकारी रूपले लागू गरिएको छ । यसरी एउटा प्रभावकारी एवं सुचारु मुलुकव्यापी नियन्त्रण संयन्त्र तैनाथीमा छ ।

दोस्रो ‘एस’मा साइन्स रहेको छ । कोभिड नियन्त्रणका निम्ति लक्षित, कानुन र विज्ञानमा आधारित विधि अपनाइएको थियो । मुलुकभर सार्वजनिक स्वास्थ्य आपत्कालका उपाय अभूतपूर्व एवं व्यापकस्तरमा लागू गरिएको थियो । हामीले सुरुमै पहिचान गर्ने, रिपोर्टिङ गर्ने, क्वारेन्टाइन गर्ने र उपचार गर्ने पद्धति परिचालन गर्‍यौँ । यसका लागि ‘अर्ली डिटेक्सन, रिपोर्टिङ, क्वारेन्टाइन एन्ड ट्रिटमेन्ट’ व्यवस्थित रूपमा भयो । परीक्षणपछि अस्पताल भर्ना गर्नुपर्ने सबैलाई अपस्तालमा भर्ना गर्ने, आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने सबैलाई आइसोलेसनमा राखेर उपचार गर्ने नीति अवलम्बन गरेका थियौँ । संक्रमणलाई न्यूनतम बनाउन हामीले हाम्रो सामथ्र्य र वशमा भएका सबैथोक गर्‍यौँ । प्रारम्भिक चरणमै हस्तक्षेपमार्फत संक्रमणको शृंखला तोड्न प्रकोपको केन्द्रबिन्दु वुहान र हुवेईका सडकलाई कडाइसाथ बन्द गरेर यातायातमा प्रतिबन्ध लगाइएको थियो । महाव्याधि रोकथाम र नियन्त्रणका लागि हामीले कुनै निश्चित भूभाग विशेष एवं बहु–स्तरगत विधि पनि अपनायौँ । संक्रमणको तीन स्तरका जोखिम छन्– न्यून, मध्यम र उच्चस्तरको संक्रमण । जुन क्षेत्रमा जोखिमको स्तर जस्तो छ, त्यसैअनुसार नियन्त्रणको उपाय अपनाउन सक्ने व्यवस्था गरियो । जोखिमको स्तरलाई विकसित परिस्थितिअनुरूप गतिशील र समायोजन गरिएको छ । 

तेस्रो ‘एस’ सेक्रिफाइज (त्याग) हो । मुलुकको भाग्यका लागि सबै नागरिकको जिम्मेवारी हुन्छ । एक अर्ब ४० करोड चिनियाँ जनता, चाहे जुनसुकै लिंग, उमेर र पेसाका हुन्, तिनले एकताबद्ध भएर यो महाव्याधिविरुद्धको लडाइँमा आफूलाई होमेका छन् । चिकित्साकर्मीहरू साहसका साथ आफ्नो कर्तव्यमा उत्रिए । वुहान र हुवेईको अन्य भागका जनताले दृढ संकल्पित भएर नोबल कोरोना भाइरसविरुद्ध लडे र संक्रमण फैलन नदिन बलिदानी पनि दिए । समुदायमा काम गर्न पठाइएका समुदायका कामदार, प्राथमिक एवं सामुदायस्तरका अधिकारी, अन्य अधिकारी, प्रहरी र भन्सार अधिकारीहरू नागरिकको जीवन र सार्वजनिक सुरक्षाको रक्षा गर्न अहोरात्र खटिए । कुरियर, सफाइ कर्मचारी, यातायात कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवी एवं समाजका अन्य क्षेत्रका थुप्रै मानिसले आफूलाई यो महाव्याधिविरुद्धको लडाइँमा समर्पित गरेका छन् । उनीहरूको यो एकता र धैर्यले अदम्य शक्ति प्रस्तुत गरेको छ ।

यसरी ठूलो प्रयासबाट चीनमा महाव्याधि लगभग नियन्त्रणमा आएको छ । तर, महव्याधिको पुनरोदय हुने र बाहिरबाट संक्रमण भित्रिन सक्ने जोखिम भने अद्यापि छँदै छ । त्यसैले, चीनले आयातित एवं घरेलु दुबै खाले संक्रमण रोक्ने संक्रमण नियन्त्रण विधिको पूर्ण कार्यान्वयनलाई जारी राख्नेछ । साथै, आर्थिक एवं सामाजिक सुव्यवस्था पुनर्वहाल गर्न र नागरिकको स्वास्थ्य रक्षा गर्न समयमै संक्रमण पत्ता लगाउने, तत्काल उपचार गर्ने, सटिक नियन्त्रण र प्रभावकारी उपचारको विधिलाई जारी राख्न पनि सिंगो देश चनाखो र तयारी अवस्थामा छ ।

केही आलोचकहरू चीनले कोरोना भाइरस नियन्त्रणमा अपनाएका उपाय निकै कठोर र बढी नै सर्वसत्तावादी भएको टिप्पणी गर्दै छन् । चीनले यो धारणालाई कसरी हेर्छ ?

पहिलो, कोभिड–१९ एउटा नयाँ भाइरस हो, अहिलेसम्म यसको कुनै खोप छैन । यो भाइरसमाथि विजय पाउन चीनले एउटा उत्कृष्ट अभ्यास र भरपर्दो अनुभवमा आधारित रहेर सफलताको आफ्नै बाटो तय गरिरहेको छ । चीन एक अर्ब ४० करोड जनसंख्या भएको मुलुक हो । महाव्याधिको उद्गमस्थल वुहानमा मात्रै पनि एक करोड १० लाखभन्दा बढी बासिन्दा छन् । महाव्याधि रोकथाममा कठोर उपाय नअपनाइएको भए परिणाम भयावह हुने थियो । संक्रमणको स्रोत नियन्त्रण गर्न, संक्रमण प्रसारको शृंखला भत्काउन र समुदायमा आधारित सुरक्षा घेराको रखबारी गर्न कठोर उपाय अपनाइएकाले महाव्याधिलाई नियन्त्रणमा लिन सक्यौँ । नतिजा पनि त्यसैले सकारात्मक आएको हो । वास्तवमा विश्वभरका अधिकांश मुलुकले चीनको सफल मोडलको अनुसरण गरेका छन् र लकडाउन र कफ्र्युजस्ता रोकथामका कडा उपाय अवलम्बन गरेका छन् । जसले नतिजा पनि राम्रो दिएको छ । दोस्रो, चिनियाँ जनता सामूहिकताप्रति प्रतिबद्ध छन् । नियन्त्रणका कठोर उपायले हिँड्डुल एवं व्यावसायिक गतिविधि गर्ने स्वतन्त्रतालाई असर गर्न सक्छ । तर, अधिकांश चिनियाँ जनताले यी उपायप्रति समझदारी देखाएका छन् । र, समाजको समग्र एवं दीर्घकालीन हितका खातिर व्यक्तिगत स्वतन्त्रता एवं अधिकारलाई केही समयका लागि स्थगित गर्न इच्छुक छन् । यसैबीच, चीनको जमिनीस्तरको सार्वजनिक सेवाको प्रणालीले सापेक्षिक रूपले पूर्णता पाएको छ । सहरी एवं ग्रामीण भेगका अधिकांश नागरिकमा एकअर्कालाई सहयोग गर्ने सामाजिक परम्परा पनि छ । साथसाथै, यहाँ इ–कमर्स सञ्जाल एवं रसदपानी प्रणाली पनि सापेक्षित रूपले विकसित नै छ । यस्तै उपायबाट मात्रै जनताको जिउधनको सुनिश्चितता हुन सक्छ । 

तेस्रो, महाव्याधि रोकथामका लागि अपनाइएका कठोर उपाय एवं मापदण्डले जनताको जीवनप्रतिको राज्यले गर्ने सम्मानलाई पनि स्पष्ट पार्छ । जीवन सबैभन्दा माथि छ । महाव्याधिको प्रकोपपछि हामी आर्थिक विकासको मूल्यमा भए पनि नागरिकको स्वास्थ्य तथा जीवनको रक्षाप्रति प्रतिबद्ध छौँ । सक्रिय विज्ञानमा आधारित लचिलो उपचार पद्धति अपनाउँदै हरेक बिरामीको उपचार गर्न र जीवन जोगाउन हामीले हरसम्भव प्रयास गरेका छौँ, चाहे जुनसुकै मूल्यमा किन नहोस् । चीनमा मृत्युदर कम हुनुका पछाडिको एउटा कारण यो पनि हो । प्रकोपको सुरुवातमा चीनले अन्य मुलुकमा भाइरस फैलन नपाओस् भनेर मानिसलाई समूहमा हिँड्डुल गर्न पूर्ण रोक लगाउने र अध्यागमन एवं भन्सार क्वारेन्टाइनलाई अपग्रेड गर्नेजस्ता कडा उपाय अख्तियार गरेको हो । चीनले अवलम्बन गरेका यस्ता कठोर उपायले संसारका सबै मानिसको स्वास्थ्य र जीवनप्रतिको उसको जिम्मेवारीबोधलाई प्रतिबिम्बित गर्छ । जसलाई विश्व स्वास्थ्य संगठन एवं अन्य अधिकांश मुलुकबाट निकै प्रशंसा पनि भइरहेको छ ।

विश्वप्रसिद्ध विद्वान्हरू यो महाव्याधि मानव इतिहासको महत्वपूर्ण पानीढलो हुनेछ र हाम्रो युग कोरोनाअघि र कोरोनापछिको कालमा विभक्त हुनेछ भन्दै छन् । केहीचाहिँ नयाँ विश्व–व्यवस्थाको भविष्यवाणी गर्दै छन्, जहाँ चीन प्रमुख शक्ति हुनेछ । यसमा चीनको दृष्टिकोण के छ ?

कोभिड–१९ ले विश्वका सबै मुलुकमा वास्तवमै ठूलो प्रभाव पारेको देख्न सकिन्छ । यसले अन्तर्राष्ट्रिय समुदायमा व्यापक र सघन विमर्श सुरु गरेको छ । मेरो विचारमा अन्तर्राष्ट्रिय व्यवस्थामा यो महाव्याधिको प्रभाव मुख्यतः तीन कोणबाट प्रतिबिम्बित भएको छ । पहिलो, विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको छ । विश्व अर्थतन्त्रको प्रवृत्तिलाई लिएर सबै सरोकारवाला थप निराशावादी बन्दै गएका छन् । सम्भवतः भविष्यमा आपूर्ति र माग दुवै पक्षद्वारा सञ्चालित विश्वव्यापी आर्थिक मन्दी छाउन सक्छ । दोस्रो, भूमण्डलीकरणले एउटा ठूलो परीक्षाको सामना गरिरहेको छ । विश्वव्यापी स्तरमा महाव्याधिको प्रसारले भूमण्डलीकरणलाई ‘बलिको बोको’ बनाएको छ । अहिले लोकप्रियतावाद, संरक्षणवाद र भूमण्डलीकरणविरोधी सोच उत्कर्षमा छन् ।

तेस्रो, वैश्विक गैरपरम्परागत सुरक्षाका क्षेत्रमा विद्यमान सुशासनका कमजोरी उजागर भएका छन् । विभिन्न मुलुकमा महाव्याधिको प्रतिक्रियाबाट उत्पन्न समस्याले अन्तर्राष्ट्रिय समुदायसँग अझै पनि सार्वजनिक स्वास्थ्य आपत्कालको आकलन गर्ने र प्रतिक्रिया जनाउने एकीकृत मापदण्ड एवं परिपक्व समाधानको अभाव रहेको तथ्य उजागर गरेको छ । यसर्थ, अहिलेको विश्वव्यापी शासन प्रणालीलाई सुधार्नु र चुस्तदुरुस्त बनाउनु अझ अपरिहार्य बनेको छ ।

यो भाइरसले कुनै सिमाना चिन्दैन, यस महाव्याधिसामु सबै समान छन् । सारा मानवजाति साझा भविष्य भएको एउटा समुदाय हो, कुनैपनि मुलुक एक्लै सुरक्षित रहन सक्दैन भन्ने यसले एकपटक फेरि प्रमाणित गरिदिएको छ । वैश्विक सुशासनको प्रणालीमा निरन्तर परिष्कृत गरिरहन हामी आफ्ना संस्थागत भिन्नताको सीमा नाघेर ‘जिरो–सम गेम’को संकीर्ण चिन्ताबाट बाहिर निक्लनैपर्छ । त्यसैले, राष्टपति सी जिनपिङ भन्नुहुन्छ, ‘हामी इतिहासको सही पक्षमा उभिनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा बहुपक्षीयवाद र लोकतन्त्रको पालना गर्नुपर्छ । विकासको योजनामा खुलापन, सबैको जित र सहकार्यको भावना विकसित गर्नुपर्छ । आर्थिक भूमण्डलीकरणलाई थप खुला, समावेशी र सन्तुलित रूपमा अटुट प्रवद्र्धन गर्नुपर्छ, ताकि यसको लाभ सबैमा बाँड्न सकियोस् र एउटा खुला विश्व अर्थतन्त्र निर्माण होस् ।’ चीन विश्वका सबै मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानलाई निरन्तरता दिन इच्छुक छ । र, विश्वभरका मानिसको हित र मानवजातिको साझा भविष्यका लागि एउटा समुदाय निर्माणलाई प्रवद्र्धन गर्न मिलेर काम गर्न तत्पर छ ।

तर, चीनले यही वेला विभिन्न मुलुकलाई स्वास्थ्य सामग्री तथा कोभिडसँग सम्बन्धित सहायता उपलब्ध गराएको छ । विश्वमा नयाँ ध्रुवीकरण बढाउन र बढीभन्दा बढी देशलाई आफ्नो पक्षमा ल्याउन चीनले अहिलेको मौका उपयोग गर्न खोजेको भनेर पनि विश्लेषण हुन थालेको छ । महाव्याधि दौरानमा सहायतापछाडि लुकेको चीनको उद्देश्य के हो ?

जीवन सर्वोच्च छ, जीवनको सम्मान नै सबभन्दा महत्वपूर्ण मानवअधिकारको रक्षा हो । यो महाव्याधिको सुरुवाती चरणमा हामीलाई नै ठूलो परिमाणमा चिकित्सकीय सामग्रीको आवश्यकता थियो, तथापि हामीले एक सय २० भन्दा बढी मुलुक र थुप्रै अन्तर्राष्ट्रिय संगठनलाई सर्जिकल तथा एन–९५ मास्क, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), न्युक्लिक एसिड टेस्ट किट्स तथा अन्य सहायता उपलब्ध गराउने व्यवस्था मिलायौँ । हामीले चीनमा अत्यावश्यक सामग्रीको खरिदमा अधिकांश मुलुकलाई सहजीकरण गरेर सहयोग गरेका छौँ । साथै, हामीले भिडियो कन्फ्रेन्स एवं चिकित्सकीय टोलीलगायतबाट पनि विश्वसँग संक्रमणको रोकथाम एवं नियन्त्रणका अनुभव साझा गरेका छौँ । यसले चीनको कर्तव्य र जिम्मेवारीबोधको भावनालाई पूर्णतः प्रतिबिम्बित गर्छ । 
महाव्याधिको प्रकोपयता विभिन्न मुलुकले मेडिकल सामग्री अभावको समस्या झेलेका छन् । केही मुलुकमा चिकित्सा क्षेत्रको पूर्वाधार तुलनात्मक रूपले कमजोर छ । उनीहरू बिरामीलाई ठीकसँग उपचार गर्न असमर्थ छन् । हामी मानिसले जीवन गुमाएको हेर्न चाहन्नौँ, त्यसैले अन्तर्राष्ट्रियतावादको भावनालाई अघि बढाएका हौँ । हामी संसारका सबै मुलुकलाई मेडिकल सामग्री उपलब्ध गराउन र अनुभव साझा गर्न सक्दो प्रयास गर्छौँ । यद्यपि, केही पश्चिमा मुलुक र राजनीतिज्ञ यो महाव्याधिलाई राजनीतीकरण गरी चीनलाई राष्ट्रिय हितबाट समेत बेदखल गर्ने हतियारका रूपमा प्रयोग गरिरहेका छन् । यो विश्वको स्वास्थ्य प्रणालीमा चीनको योगदानको उपेक्षा हो ।

राष्ट्रपति सी जिनपिङले ७३औँ विश्व स्वास्थ्य सभा (डब्ल्युएचए) को उद्घाटनका अवसरमा चीनमा कोभिड–१९को खोप विकास भयो भने चीनलाई पु¥याएपछि, चीनले यसलाई सार्वजनिक वस्तु (पब्लिक गुड्स) बनाउने घोषणा गर्नुभएको छ । यो विकासशील मुलुकका लागि खोपको पहुँच र सुलभताको सुनिश्चिततामा चीनको योगदान हुनेछ । यसले बाँच्न पाउने अधिकारप्रति सम्मानको अवधारणालाई चीनले निरन्तर अघि बढाउने र विश्वका हरेक मुलुक विशेषगरी विकासशील मुलुकको महाव्याधिविरुद्धको लडाइँमा चीनको योगदान जारी रहने छ भन्ने देखाउँछ । अझै पनि यसमा कुनै मुलुक वा व्यक्तिले राजनीतिक अभीष्ट देख्छन् भने म उनीहरूलाई चिनियाँ खोप प्रयोग नगर्दा हुन्छ भन्ने सुझाब दिन्छु ।

यही महाव्याधिको समयमा चीन–अमेरिका सम्बन्ध सबैभन्दा नाजुक बिन्दुमा पुगेको छ । यसले दुनियाँको हित अवश्य गर्दैन । विश्वका दुई शक्तिशाली मुलुक यो अवस्थामा कसरी आइपुगे ?

अमेरिका भाइरसबाट सबभन्दा बढी प्रभावित मुलुक बनेको छ । हामी अमेरिकी समाजले जे भोगिरहेको छ, त्यसप्रति गहिरो सहानुभूति प्रकट गर्न चाहन्छौँ । साथै, हाम्रो कामना छ, उनीहरूले चाँडै यो भाइरसलाई हराउन सकून् । चीनमा मात्रै महाव्याधिको प्रकोप हुँदा थुप्रै अमेरिकी संगठन, कम्पनी र नागरिकले हामीलाई सहयोगको हात बढाएका हुन् । जब अमेरिका भाइरसको चपेटामा आयो, चीनले पनि गुन तिर्न जरुरी मेडिकल सामग्री सप्लाई गर्‍यो । साथै मेडिकल सामग्री खरिद गर्ने प्रणालीलाई पनि चीनले सहजीकरण गरेको छ । 

सबैभन्दा ठूलो विकासशील मुुलुकको रूपमा चीन र सबैभन्दा ठूलो विकसित मुलुकका रूपमा अमेरिकाको ठूलो जिम्मेवारी छ, यी दुई देशको काँधमा विश्वको शान्ति र विकासकोे जिम्मेवारी छ । चीन र अमेरिका दुवैलाई सहयोग एवं सहकार्यबाट फाइदा र टकरावबाट नोक्सानी हुन्छ भन्ने हामीलाई इतिहासले सिकाएको छ । चीन र अमेरिकामा अलग–अलग सामाजिक प्रणाली छन्, तर त्यो त हाम्रा नागरिकको फरक छनोटको परिणाम हो नि, त्यसलाई हामीले सम्मान गर्नैपर्छ । यो पनि सत्य हो कि हामीबीच थुप्रै असहमति छन्, तर त्यसले सहकार्यलाई रोक्नु हुँदैन ।

अमेरिकासँग समन्वय, सहकार्य र स्थायित्वमा आधारित सम्बन्धको निर्माण गर्न, आपसी सम्मान तथा ‘विन–विन’को सहकार्यका लागि कुनै संघर्ष र टकरावको भावनाविना मिलेर काम गर्न चीन सधैँ तयार छ । साथसाथै, चीनले आफ्नो सम्प्रभुता एवं भौगोलिक अखण्डता, विकासको वैध अधिकार, विश्वमा आफ्नो स्वाभिमान र गौरवपूर्ण स्थानको रक्षा पनि गर्नेछ, जुन कमाउन चिनियाँ जनताले धेरै कडा मिहिनेत गरेका छन् ।

अब हामी नेपाल–चीन सम्बन्धतर्फ फर्कौँ । हालै, नेपालको सत्तारुढ दलको विवाद विभाजनसम्म पुग्ने आकलन भइरहेकै वेला तपाईं र चिनियाँ पक्ष सक्रिय भएको देखिन्छ । काठमाडौंमा तपाईंले सत्तारुढ दलका नेतालाई भेटिरहनुभएको छ । पृष्ठभूमिमा नेपाल–चीनका राष्ट्रपतिबीच र परराष्ट्रमन्त्रीका समकक्षीबीच समेत टेलिफोन संवाद भएको छ । चीनले नेपालमा किन यस्तो सक्रिय भूमिका खेलेको हो ? के यसले भविष्यमा नकारात्मक परिणाम ल्याउँदैन ?

सन् १९५५ मा यी दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापित भएयता हामीले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा मैत्रीपूर्ण सम्बन्ध विकास गरेका छौँ । एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त दुवै मुलुकका सरकारले निरन्तर अनुसरण गरेका छन् । दुवै मुलुकको घरेलु, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय परिस्थितिमा कुनै तलमाथि हुँदैमा यसमा परिवर्तन हुँदैन ।

महाव्याधिपछि दुवै मुलुकले यसमा नयाँ चरणको विकास गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र स्टेट काउन्सिलर एवं परराष्ट्रमन्त्री वाङ यीले फोनमा क्रमशः नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग २७ र १३ अप्रिलमा कुराकानी गर्नुभएको छ । दुवै पक्षले मुख्यतः जारी महाव्याधिविरुद्धको लडाइँमा सहकार्य गर्ने, नेताबीचको सहमति कार्यान्वयनमा लैजानेलगायत विषयमा विचार आदान–प्रदान गरेका छन् । मलाई जहाँसम्म थाहा छ, महाव्याधिको प्रकोपयता राष्ट्रपति सी जिनपिङ र स्टेट काउन्सिलर एवं परराष्ट्रमन्त्री वाङ यीले विभिन्न मुलुकका नेतासँग टेलिफोनमा ५४ पटक र मन्त्री एवं अन्तर्राष्ट्रिय संगठनका प्रमुखसँग १०४ पटक कुराकानी गर्नुभएको छ ।

नेपाल एउटा स्वतन्त्र मुलुक हो, कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य हो । यदि सामान्य भेटघाट एवं फोन संवादलाई पनि आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिने हो भने मुलुकबीच कुनै कूटनीतिक सम्बन्ध नै हुँदैन । नेपालको छिमेकी मित्रका रूपमा हामी नेपालले स्थायित्व र एकता कायम राखेको हेर्न चाहन्छौँ । जुन राष्ट्रिय विकासको पूर्वसर्त हो । नेपाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सरेको छ र आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्न कटिबद्ध छ । हामी नेपालको प्रयासको सम्मान र समर्थन गर्छौँ ।

नेपाल र भारतबीच सिमानाका विषयमा पछिल्लो समय असमझदारी बढेको छ । तर, यो विषयमा चीन पनि तानिएको छ । तर, चीनको भूमिका के हो भन्नेमा नेपाली नै अस्पष्ट छन् । किनकि सन् २०१५ मा चीन र भारत लिपुलेकमार्फत द्विपक्षीय व्यापारका लागि सहमत भएका थिए । नेपाली भूमि लिपुलेकबाट व्यापार गर्ने भनेर सम्झौता गर्दा नेपालसँग कुनै छलफल एवं परामर्श गरिएन, त्यसैले नेपाल सरकारले त्यो सम्झौताको विरोध गरेको छ । हालै, भारतले त्यही क्षेत्रमा सडक उद्घाटन गर्‍यो । नेपालले त्यसको विरोध मात्र गरेन, आफ्नो भूमि समेटेर नक्सा पनि जारी गरेको छ । यी विकासक्रमलाई चीनले कसरी हेरेको छ, उसको आफ्नो धारणा के छ ? कालापानी र लिपुलेकमा भारतको दाबीलाई चीनले किन सहयोग पुर्याउन खोज्दै छ ?

म के दोहोर्याउन चाहन्छु भने चिनियाँ पक्ष नेपाली पक्षको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सधैँ सम्मान गर्छ । कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो । हामीलाई आशा छ, दुई मुलुकले आफ्ना असहमति मित्रवत् छलफलमार्फत ठीकसँग सुल्झाउनेछन् । र, परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट जोगिनेछन् भन्नेमा हाम्रो विश्वास छ । 

सन् २०१५ मा चीन र भारतबीच हस्ताक्षरित संयुक्त वक्तव्य विवादित भूभागको सम्प्रभुतासँग संलग्न छैन । यो परम्परागत व्यापार च्यानल केवल सीमाका बासिन्दाको सुविधाका लागि मात्रै हो । यसको अरू व्याख्या जरुरी छैन । मैले के नोटिस गरेकी छु भने जब–जब नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँछ, त्यसमा चीनलाई तान्न केही शक्तिले प्रयास गरिरहेका हुन्छन् । उनीहरू हुँदै नभएका विषय रचना गरेर अफवाह फैलाउन थाल्छन् । यसले हामीलाई एकदमै अलमल पार्ने गरेको छ । यी हर्कतले चीन–नेपाल मित्रताको समग्र स्थितिलाई खलल पुर्याउनेछैन भन्नेमा म विश्वस्त छु ।

एमसिसीको विषयमा नेपालले आफ्नै प्रणालीमा बहस गरिरहेको छ, तर यसमा चीन तानिएको छ । नेपालले आफ्नै हितमा एमसिसी र बिआरआई दुवै स्विकार्न, दुवै अस्वीकार गर्न वा कुनै एक मात्र स्विकार्न सक्छ । तर, चीनले नेपाललाई एमसिसीमा सहभागी हुनबाट रोक्न काठमाडौंमा विभिन्न अनौपचारिक माध्यम प्रयोग गरिरहेको भन्ने चर्चा छ । तपाईंको प्रतिक्रिया के छ ?

सन् २०१७ मा बिआरआईको फ्रेमवर्कमा रहेर द्विपक्षीय सहयोगको समझदारीपत्र (एमओयु्)मा नेपाल र चीनबीच हस्ताक्षर भएदेखि नेपाल आधिकारिक रूपले नै बिआरआईको एउटा महत्वपूर्ण सहभागी बनिसकेको छ । यी दुई मुलुक कनेक्टिभिटी, पूर्वाधार, प्रकोपपछिको पुनर्निर्माण, व्यापार, लगानी र जनस्तरको आदानप्रदानको क्षेत्रमा सहयोग सुदृढ बनाउन प्रतिबद्ध छन् । यसबाट थुप्रै सकारात्मक उपलब्धि भएका छन् । जहाँसम्म एमसिसीको कुरा छ, त्यो नितान्त नेपाल र अमेरिकाबीचको विषय हो । म बिआरआईलाई एमसिसीसँग तुलना गर्न चाहन्नँ । क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपालले आफ्नो राष्ट्रिय हितका आधारअनुरूपको छनोट गर्नेमा हामीलाई विश्वास छ । नयाँ पत्रिकाबाट