६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बर्षमा प्रधानमन्त्रीको सन्देश: निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताउनु भएको छ ।

नयाँ वर्ष २०८२ का अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने संकल्प लिनुपर्ने जनाउनु भएको छ ।

शुभकामना सन्देशको पूर्णपाठ

नयाँ वर्ष २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजबाट सुरु भएको नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दछु ।

नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छुु ।

देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो । राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौं । राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ । सबै दिदीबहिनी दाजुभाइहरुमा नयाँ वर्षले नयाँ संकल्प पैदा गर्ने छ भन्ने आशा गरेको छु ।

जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् । यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्दछ । सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौं ।

मुलुकमा आज विकास केवल सपना होइन, यथार्थ बनिरहेका छन् । यस वीचमा ग्रामीण भेगहरूमा पुगिरहेको पूर्वाधार, यसले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि हुन् । युवापुस्ता हाम्रो राष्ट्रका सम्भावना हुन् । उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको छ ।

नयाँ वर्षमा हामीले हाम्रो प्रकृतिसँग पनि मित्रता राख्ने संकल्प गर्नु आवश्यक छ । वातावरणको रक्षा बिना दिगो विकास सम्भव छैन । हरियाली, स्वच्छता, जलवायु सन्तुलन र प्रकृतिप्रति जिम्मेवार व्यवहारले मात्र हामी नयाँ पुस्तालाई सुरक्षित मातृभूमि हस्तान्तरण गर्न सक्छौं ।

मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने संकल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नु पर्दछ ।

नयाँ वर्ष २०८२ सम्पूर्ण नेपालीहरूको जीवनमा शान्ति, समृद्धि, प्रगति र सन्तोषको वर्ष बनोस् । हार्दिक शुभकामना ।