२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन



अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको बा६च ५५१९ नम्बरको स्कार्पियो कमलपोखरीबाट कमलादीतर्फ आउँदै छ ।’ फोन दरबारमार्ग वृत्तकै घुमुवा प्रहरी प्रसन्न श्रेष्ठले गरेका थिए । फोन गरेर प्रसन्न गाडीको पछि दगुरे ।

प्रसन्नकै साथमा अर्का घुमुवा प्रहरी बहादुरसिंह कठायत थिए । उनीहरूसँग भारत गुजरातका कौशल पटेल थिए । कौशलले गाडीमा रहेका एक व्यक्तिलाई फोन गरेर प्रहरीले पिछा गरेको सूचना दिँदै ‘सामान दिएर भाग्नू’ भने ।

उता डीएसपी दाहालले कमलपोखरीबाट प्रज्ञा प्रतिष्ठान र दरबारमार्ग ९महेन्द्र सालिक० तर्फ जाने बाटो घेरा हाल्न लगाए । सवारी हुलियाको खोजी गरियो । प्रसन्न गाडी पछ्याउँदै सुन्धारा पुगिसकेका थिए । कौशल सम्पर्कमै थिए । स्कार्पियो सहिदगेटबाट त्रिपुरेश्वर जाने बाटोतर्फ रोकियो । गाडीमा चालकसहित ३ जना रहेकामा एक व्यक्ति झोला बोकेर ओर्लिए । त्यो झोला प्रसन्नलाई दिए । त्यसपछि गाडीमा रहेका तीनै जना त्रिपुरेश्वर हुँदै बाटो लागे । यता कौशल केही बेरपछि पक्राउ परे । त्यसअघि कौशल घुमुवा कठायतसँगै थिए ।

प्रहरी स्रोतका अनुसार कुनै व्यापारी वा व्यक्तिलाई सामान बेच्नका लागि प्रबन्ध मिलाउने क्रममा सूचना चुहिएको थियो । प्रसन्नले झोलामा भएको सामानमध्ये सुनजस्तो १ केजी पहेँलो धातु बागबजारस्थित मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठको कोठामा लगेर राखे र बाँकी आफूले कमलादीबाट बरामद गरेको भन्दै डीएसपी दाहाललाई बुझाए । कमलादीमा तस्कर झोला मिल्काएर भागेको भन्दै डीएसपी दाहालले काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई जानकारी दिए । ज्ञवाली आफैं सुनचाँदी व्यवसायी महासंघ पुगेर परीक्षण गर्दा साढे १४ केजी सामान सुनले लेपन गरेको चाँदी र ७ सय ५० ग्राम सक्कली सुन भएको पाइयो । यसको मूल्य करिब ५८ लाख जति पर्ने देखियो । साथमा २ थान पेस्तोल पनि थियो । एकातिर तस्करीमा संलग्न व्यक्तिबाटै झोला मिल्काएको भनिनु र अर्कातिर घटनास्थल कमलादी भएको जानकारी स्वयं डीएसपी दाहालले परिसरमा गराउनुले घटना शंकास्पद बन्यो । चौबीसै घण्टा प्रहरी पहरा रहने क्षेत्रबाट कसरी एकाएक गाडी गायब बन्यो, प्रहरी गाडी खोज्नभन्दा सुन परीक्षण गर्नतिर किन केन्द्रित भयो भन्ने प्रश्न उब्जियो ।

वृत्तले दिएको जानकारीअनुसार नै परिसर प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर घटनास्थल कमलादी भएको र त्यहींबाट झोला बरामद गरिएको जानकारी दिए । ‘तर घटनास्थल सुन्धारा रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘दरबारमार्गका घुमुवाले सामान बुझेका कारण प्रहरी वृत्त जनसेवा घटनास्थल भए पनि कमलादी उल्लेख गरियो । सक्कली सुन भएको भन्ठानेर त्यसबाट आउने कमिसनरसुराकी भत्ताको लोभमा परेको देखिन्छ ।’

गाडी फेला नपरेपछि सूचना दिने घुमुवा प्रहरी कठायत नै पक्राउ परे । उनको बयानका आधारमा अर्का घुमुवा प्रसन्न समातिए । प्रसन्नको बयानपछि उमेशको कोठा खानतलासी गर्दा १ केजी सुनजस्तो धातु बरामद भयो । उमेश पक्राउ परे । उनीहरूसँग सम्पर्कमा रहेका भारतीय नागरिक कौशल पनि समातिए । ‘हामीलाई सक्कली सुन भनिएको थियो, त्यही भएर १ केजी ४ जनाले बाँड्ने गरी राखेर बाँकी प्रहरीमा बुझाएका हौं,’ एक घुमुवाले बयानमा भनेका छन् । घटनास्थलको गलत जानकारी र अपराध अनुसन्धानमा लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयमा दरबारमार्गका डीएसपी दाहाललाई फिर्ता बोलाइसकेको छ । ‘गलत विवरण दिनुका साथै प्रभावकारी अनुसन्धान गर्न नसकेपछि डीएसपीलाई फिर्ता बोलाएर अर्कैलाई वृत्तमा पठाइएको छ,’ स्रोतले भन्यो ।

अनि खुल्यो अपराधको नालीबेली

अनुसन्धानमा संलग्न स्रोतका अनुसार घुमुवा प्रहरीकै मिलेमतोमा गाडीलाई भगाइएको थियो । घुमुवा र सुरुको सूचना दिने कौशलसँग रहेका मोबाइल नम्बरको प्राविधिक अनुसन्धानमा प्रहरी जुट्यो । सहिदगेट–सुन्धाराबाट गाडीमा भागेका मानिस ललितपुरको नखिपोट क्षेत्रसम्म मोबाइल सम्पर्कमा रहेको खुल्यो । स्रोतका अनुसार उनीहरू थिए– बाराका इल्ताफ हुसेन अन्सारी र उनका सहयोगी भारत गुजरातका सञ्जय पटेल । तेस्रा व्यक्ति निलेश सखिया थिए । नखिपोटमा पुगेपछि उनीहरूले मोबाइल अफ गरेका थिए । निलेश, विजय पटेल र देवान पटेल एक ठाउँमा भेटिएर काठमाडौंबाट भागे । भाग्नुअघि इल्ताफलाई उनीहरूले सम्पर्क गरेको मोबाइल नम्बरका आधारमा महाशाखाको टोली काठमाडौंबाट नवलपरासीतर्फ लाग्यो । पूर्वी नवलपरासी जिल्ला प्रहरी र महाशाखाको टोलीले दुम्कीबास पुगेका बेला गुजरातकै देवान र विजय तथा निलेश बुधबार पक्राउ परे ।

बिहीबार दिउँसो नै इल्ताफले चलाएको गाडी नखिपोटकै अम्बरबहादुर राईको निर्माणाधीन घर परिसरबाट बरामद भयो । निलेश घुमुवा प्रहरी प्रसन्नलाई झोला दिने व्यक्ति हुन् । गाडी भने इल्ताफले चलाएका थिए ।

नवलपरासीबाट पक्राउ परेका तीनै जनालाई काठमाडौं ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । इल्ताफ र सञ्जय फरार छन् । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले उनीहरूको लुटपाट र ठगीको नियत रहेको दाबी गर्छन् । ‘पहेँलो धातुले लेपन गरेको वस्तुलाई सुन भनेर व्यापारी ठग्न र लुटपाट गर्न खोजिएको देखिन्छ,’ थापाले कान्तिपुरसँग भने, ‘बीचमै सूचना चुहिएकाले सामान छोडेर भागेका हुन सक्छन् ।’

घटनास्थल, उद्देश्य र घटनामा फरार भएका व्यक्तिबारे अनुसन्धान भइरहेको उनले बताए । फरार भएका व्यक्तिको पनि पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने थापाले बताए । पक्राउ परेकाहरूसँग बयान लिइरहेकाले सबै कुरा अहिले नै भन्न नसकिने उनको भनाइ छ ।

को हुन् मुख्य योजनाकार इल्ताफ ?

इल्ताफ हुसेन अन्सारी लुटपाट र तस्करीका मुख्य योजनाकार रहेको प्रहरी स्रोत बताउँछ । उनी बाराको साविक प्रस्टोखा–२, हरपुरका बासिन्दा हुन् । उनको ललितपुर नखिपोटमा पनि घर छ । इल्ताफ जाली नोट कारोबारमा अदालतबाट सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । हतियारको अवैध कारोबारमा पनि उनी मुछिएका थिए । विगतमा तराईमा सक्रिय सशस्त्र भूमिगत समूहसँग पनि उनको साँठगाँठ रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछन् । वीरगन्जलगायत प्रदेश २ का जिल्ला जोडिएका नेपाल–भारत सीमा क्षेत्रमा बस्ने गरेका इल्ताफ कहिलेकाहीं मात्रै काठमाडौं आउने गरेको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ । उनी अपराध धन्दामा आफूलाई मुन्ना खान, सदरुल अन्सारी, सदरुल मियाँलगायत नाममा चिनाउँथे ।

इल्ताफलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ०७२ जेठ ३० गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । त्यतिबेलाको पक्राउपछि अनुसन्धान गर्दा भेटिएको गाडी नै मंगलबार प्रयोग भएको पनि खुलेको छ । यातायात कार्यालयबाट लिइएको विवरण, उनको अपराध पृष्ठभूमि र पछिल्लो पटक सुनचाँदी र पेस्तोल प्रकरणलाई जोडेर अनुसन्धान भइरहेको थापाले बताए । ‘सवारी चालक अनुमतिपत्र, सवारी किताब, च्यासिस नम्बर र इन्जिन भिडाएर हेर्दा बरामद गाडीमा राखिएको नम्बर सक्कली हो,’ उनले भने ।

बरामद गाडी अन्सारी र उनका आफन्त फुलनाज बेगमका नाममा दर्ता छ । ०६५ सालमा साउथ एसियन डेभलपमेन्ट सेन्टरका नामबाट अन्सारीले उक्त गाडी खरिद गरेका थिए । ०६७ जेठ २६ गते ललितपुर जिल्ला अदालतले जाली नोटको कारोबारमा अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख ९ हजार रुपैयाँ जरिवाना असुल्ने फैसला सुनाएको थियो । फैसला सुनाइँदा उनी फरार थिए । पाँच वर्षपछि पक्राउ परेर उनी ३ वर्ष जेल भुक्तान गरेर छुटेका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।