
काठमाडौँ । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।
चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ ।
छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्जा सागर लगायतका पोखरीहरूलाई विशेष रूपमा सजाइएको छ । भक्तजनहरू केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायत विभिन्न फलफूल लिएर सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन् । छठको पूजा पोखरी तथा नदीमा मात्र गरिन्छ । यो पर्व कात्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक जनकपुरधाम क्षेत्रमा मनाइने परम्परा रही आएको छ ।
पौराणिक कथनअनुसार, आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गर्नुभएको थियो । त्यसैगरी महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवहरूलाई पराजित गर्न सूर्यदेवको उपासना गर्दै छठ पर्व मनाएको उल्लेख पाइन्छ ।
जनविश्वासअनुसार छठ पर्व मनाउँदा दुःख९क्लेसबाट मुक्ति पाइने, सन्तान प्राप्ति हुने, चर्मरोग निको हुने, तथा पारिवारिक सुख—शान्ति कायम रहने विश्वास गरिन्छ। यस कारण श्रद्धालुहरू भक्तिभावपूर्वक यो पर्व मनाउने गर्छन् ।