६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, जसले मोटरसाइकल चलाउन पनि राखे ड्राइभर



अ+ अ-

खोटाङ । अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ । चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाएको भए पनि बराहपोखरी गाउँपालिकाले दुईपांग्रेका लागि पनि तीनजना चालक राखेर तलब खुवाउँदै आएको छ ।

बराहपोखरी गाउँपालिकाले १७ वटा मोटरसाइकल किनेको छ । जसमध्ये दुईवटा मोटरसाइकल अध्यक्ष र उपाध्यक्षका लागि छुट्याएको छ । अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यालयले प्रयोग गर्दै आएका छन् । अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको छ । गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा ९एमाले०बाट निर्वाचित भएका हुन् ।

गाउँसभाले बनाएको कर्मचारी नियुक्तसम्बन्धी नियमावलीको प्राविधिक कर्मचारी नियुक्तसम्बन्धी व्यवस्थामा गाउँपालिकाले ह्याभी र हलुका सवारीसाधन चलाउन मात्रै चालक राख्न सक्ने उल्लेख छ । तर, गाउँपालिकाले भने अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउनका लागि चालक राखेको हो । स्थानीय सेवन राई, खेमराज दाहाल र कैलाश दाहाललाई हलुका सवारीचालकको नियुक्तिपत्र दिएर निजी सहायक चालकको रूपमा नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बञ्जराले च।१ब ९८३ नम्बरको मोटरसाइकल चढ्ने गरेका छन् । यो मोटरसाइकल खेमराज दाहालले चलाउँछन् । त्यस्तै, उपाध्यक्ष मगर च।१ब ७२२ नम्बरको मोटरसाइकल चढ्छिन् । यो मोटरसाइकल सेवन राईले चलाउने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीलाई यताउता जाँदा अन्य मोटरसाइकल कैलाश दाहालले चलाउने गरेका छन् ।

तीनैजना चालकलाई मासिक १६ हजार रुपैयाँका दरले तलब दिने गरी राखिएको लेखा अधिकृत छत्र बानियाँले बताए । यस वर्ष उनीहरूको तलब बढाएर १७ हजार पु¥याएको छ । निजी सहायक चालकका रूपमा नियुक्ति पाएका तीनैजनालाई करारमा नियुक्त गरिएको छ । उनीहरूलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बानियाँले बताए । मोटरसाइकलमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पाउने इन्धन खर्चबाटै इन्धन हाल्ने गरेको भए पनि मर्मतसम्भार भने गाउँपालिकाबाटै गरिन्छ ।

गाउँपालिकामा कच्ची सडक भएको र त्यसमा चारपांग्रे सवारीसाधन गुडाउन नसकिने भएकाले मोटरसाइकल खरिद गरेर प्रयोगमा ल्याइएको उपाध्यक्ष मगरको भनाइ छ । ‘हाम्रो गाउँपालिकामा चारपांग्रे सवारीसाधन वर्षमा करिब ६ महिना मात्रै सञ्चालन हुन्छन्,’ उनले भनिन्, ‘हिँडेर सबै ठाउँमा पुग्न सकिने सम्भावना छैन । म अनुगमन समितिको संयोजकसमेत हुँ । योजना अनुगमन गर्न सबै ठाउँ पुग्नुपर्छ । मलाई मोटरसाइकल चलाउन नआउने भएकाले चालक राखिएको हो ।’

त्यस्तै, गाउँपालिका अध्यक्ष बञ्जराले चारपांग्रे सवारीसाधन खरिद गरेर सञ्चालनमा ल्याउँदा गाउँपालिकालाई आर्थिक भार बढी हुने भएकाले पनि मोटरसाइकल खरिद गरिएको दाबी गरे । ‘तीनजना चालकलाई दिने तलबले चारपांग्रे सवारीसाधनका लागि इन्धन र मर्मत खर्चसमेत पुग्दैन,’ अध्यक्ष बञ्जराले भने, ‘गाडी किनेर फजुल खर्च गर्नुभन्दा मोटरसाइकल किनेका हौँ । गाडी किन्ने पैसाले बाटो बनाउँछौँ ।’

तर, महालेखापरीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बराहपोखरी गाउँपालिकाले चालकका लागि गरेको खर्चलाई बेरुजुमा देखाएको छ । महालेखापरीक्षकको ५७औँ वार्षिक प्रतिवेदनमा चारपांग्रे सवारीसाधन भएको खण्डमा चालक राखेर तलबभत्ता खर्च गर्न मिल्ने व्यवस्था भए पनि बराहपोखरी गाउँपालिकाले चारपांग्रे सवारीसाधनविना नै तीनजना चालकलाई करारमा नियुक्ति गरेर गतवर्ष पाँच लाख ७६ हजार खर्च गरेको उल्लेख छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।