१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मास्कको मूल्य कति ?

मास्कको मूल्य कति ?
अ अ+ अ-

काठमाडौँ । बजारछेउ निस्किएका बेला पाल्पा बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका रेमनबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लियो । मास्क नलगाएको भन्दै उनलाई सय रुपैयाँ जरिवाना तिराई प्रहरीले नजिकैको पसलबाट मास्क किनेर लगाउन भन्यो । उनले तीस रुपैयाँ तिरेर दुई लेयर भएको सर्जिकल मास्क किनेर लगाए । उनले भने, ‘सर्जिकल भनेर किनेको हो तर दुई लेयर पनि जुटको कपडाजस्तो छ ।’

पाल्पा, मोरङ र दैलेखका यी प्रतिनिधि उदाहरणले देखाउँछन्, कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका बेला रोकथामका लागि अत्यावश्यक मानिएको मास्कको मूल्यमा कालोबजारी भएको छ । सर्जिकल मास्क उत्पादन गर्ने विभिन्न कम्पनी र होलसेल वितरकहरूको भनाइअनुसार उच्च गुणस्तरको सर्जिकल मास्कको खुद्रा मूल्य दस रुपैयाँभन्दा बढी पर्दैन भने दुई लेयरको र नोज पिन नभएको सर्जिकल मास्कको खुद्रा मूल्य ५ रुपैयाँभन्दा कम पर्छ । तर कमजोर सरकारी नियमन र संकटका बेला नाफा कुम्ल्याउने व्यापारीका कारण सर्वसाधारण महँगो मूल्य तिरेर मास्क किन्न बाध्य छन् ।

गृह मन्त्रालयले बुधबार जारी गरेको स्वास्थ्य र सुरक्षा मापदण्ड कार्यान्वयनसम्बन्धी निर्देशनको दोस्रो बुँदामा मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई दण्ड–जरिवाना गर्ने उल्लेख छ । थप कडाइसँगै मास्क नलगाईकन सार्वजनिक स्थानमा हिँड्नेहरूलाई पक्राउ गर्ने कामलाई प्रहरीले तीव्रता दिएको छ । देशभर मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म मास्क नलगाई हिँडेका ११ हजार ३ सय ७५ लाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो संख्या त्यसपछिको २४ घण्टामा दोब्बरभन्दा बढीले बढेको छ । अर्थात् बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म मास्क नलगाई हिँडेकै कारण ३६ हजार ४ सय ५३ जना पक्राउ परे ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार साउन ७ बाट लकडाउन खुलेयता मास्क नलगाई हिँडेका ३ लाख ४४ हजार ७ सय १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले परिस्थिति हेरेर कतै संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार सय रुपैयाँ जरिवाना लिएर छोड्ने गरेको छ भने कतै मास्क किनेर लगाएपछि छोडिदिने गरेको छ ।

मास्क नलगाई हिँड्दा प्रहरीले पक्राउ गर्ने र सबैभन्दा सस्तो मानिएको सर्जिकल मास्क पनि उचित मूल्यमा किन्न नपाउने भएपछि सर्वसाधारण मर्कामा परेका छन् । सरकारले कडाइ गर्दा मास्क लगाउनेको संख्या बढे पनि सहज रूपमा पाउन समस्या भएको हुम्लाको नाम्खा गाउँपालिका–२ का ग्याला लामाले बताए । उनले भने, ‘सुरुसुरुमा त संघसंस्थाले पनि निस्शुल्क दिए तर संक्रमण बढेका बेला महँगोमा किन्नुपरेको छ ।’ उनका अनुसार सदरमुकाम सिमकोटमा साधारण सर्जिकल मास्कको मूल्य २५ रुपैयाँ पुगेको छ ।

थोक व्यापारीहरूका अनुसार सुलभ र सस्तो भनिएको सर्जिकल मास्कको खुद्रा मूल्य गुणस्तर र त्यसमा प्रयोग भएको सामग्रीमा निर्भर रहन्छ । विराटनगर महानगरपालिका–३ स्थित न्यु तिरुपती बालाजी मास्क उद्योगका सञ्चालक सरोज खड्काले लकडाउन सुरु भएसँगै मास्क उद्योग सञ्चालनमा ल्याएका हुन् । तीन तह भएको सर्जिकल मास्क उत्पादन गरिरहेका उनले गुणस्तरका आधारमा भ्याटसहितको थोक मूल्य सुनाउँदै भने, ‘नोज लुप नभएको २ रुपैयाँ ५० पैसा, नोज लुप भएको ३ रुपैयाँ ५० पैसा र मेसिनले सबै सेट गरेको ५ रुपैयाँमा व्यापारीलाई बेचिरहेका छौं ।’ सरोजकै भनाइलाई आधार मान्ने हो भने पनि बजारमा उपभोक्ताले थोक मूल्यको दोब्बरभन्दा बढी तिर्न बाध्य भइरहेका छन् ।

उनले भने, ‘मास्कको बीचमा राखिने मेल्ट ब्लोन (मास्क फिल्टर लेयर) नपाएर नराखी बिक्री गरिरहेका छौं । योसहित बिक्री गरेको भए २/३ रुपैयाँ मूल्य बढी हुन आउँथ्यो ।’ विश्वव्यापी कोरोना संक्रमण देखिएपछि मास्कको बीचमा राखिने मेल्ट ब्लोन भनिने पेपरको अभाव भएको छ । उनले भने, ‘नेपाल र भारतमा मेल्ट ब्लोन नबन्ने भएकाले तेस्रो देशबाट मगाउनुपर्छ । नेपाली उत्पादनका अधिकांश मास्कमा मेल्ट ब्लोन राखिएको छैन ।’

नेपाल औषधि व्यवसायी संघ प्रदेश १ का अध्यक्ष कुमार खतिवडाले स्थानीयस्तरमा उत्पादन हुने सामान्य सर्जिकल मास्क थोकमा ४ रुपैयाँ र गुणस्तरीय सर्जिकल मास्क थोकमा ५ रुपैयाँमा बिक्री भइरहेको बताए । जबकि सर्वसाधारणले भने खतिवडाले भनेभन्दा धेरै मूल्यमा मास्क किन्न बाध्य छन् । औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले अहिले मास्कको मूल्य दोब्बर बढेको बताए । उनले आफूले भने थोकमा प्रतिगोटा ४ रुपैयाँमा किनेको सर्जिकल मास्क खुद्रा बेच्दा ५ रुपैयाँ मात्रै लिने गरेको बताए । तिम्सिनाले ५ रुपैयाँमा सर्जिकल मास्क बेच्ने बताए पनि स्थानीयस्तरमा औषधि पसलदेखि किराना पसल, पान पसल र सडक छेउछाउमै पनि १० रुपैयाँभन्दा धेरैमा बिक्रीवितरण भइरहेको भेटिन्छ ।

तिम्सिनाका अनुसार अहिले बजारमा गार्मेन्ट, टेलर सञ्चालक लगायतले मास्क उत्पादन गरिरहेका छन् । उनले भने, ‘सर्जिकल मास्कको मापदण्डबारे उनीहरूलाई कुनै जानकारी छैन । त्यसैले गुणस्तरीय मास्क उत्पादनको कुरै भएन ।’ उनले नियमनकारी निकायले अनुगमन गरेर नियन्त्रण नगरुन्जेल बजारमा गुणस्तरीय मास्कको पहुँच हरेक उपभोक्तामा नपुग्ने उनले बताए ।

काठमाडौंको त्रिपुरेश्वरस्थित खनाल सर्जिकल सप्लायर्सका सञ्चालक शिव खनालले स्वदेशी र चिनियाँ दुवै थरी सर्जिकल मास्क बिक्री गर्दै आएका छन् । खनाल सर्जिकल सामग्रीहरूको थोक बिक्रेता हुन् । उनले स्वदेशी उद्योगबाट थोक मूल्य साढे ४/५ रुपैयाँमा किनेको सर्जिकल मास्क ५० पैसा नाफा राखेर खुद्रा बिक्रेतालाई उपलब्ध गराएको जानकारी दिए । चाइनिज सर्जिकल मास्कको थोक मूल्य साढे ९ रुपैयाँ पर्ने र खुद्रा बिक्रेतालाई १० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए । ‘हामीले खुद्रा बिक्रेतालाई सप्लाई मात्र गराउँछौं,’ उनले भने, ‘लकडाउनअघि सर्जिकल मास्कको थोक मूल्य २र/३ रुपैयाँ पथ्र्यो । साढे २ रुपैयाँजतिमा खुद्रा व्यापारीलाई दिन्थ्यौं ।’

कान्तिपुरले सातै प्रदेशस्थित ब्युरो कार्यालयमार्फत संकलन गरेको सूचनाअनुसार सर्जिकल मास्कको मूल्य देशैभरि दोब्बरभन्दा धेरै छ । संक्रमण सुरु भएपछि देशभित्रै उत्पादन सुरु भएकाले मास्कको अभाव नदेखिए पनि संकटमा फाइदा लिन पल्केका व्यापारी र कालोबजारीविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन नसक्ने सरकारी संयन्त्रका कारण सर्जिकल मास्कको मूल्य ह्वात्तै अकासिएको छ । दुर्गम पहाडी जिल्लामा त सर्जिकल मास्कको मूल्य उच्च छ ।

कर्णाली ब्युरोका अनुसार जुम्ला सदरमुकाममा सर्जिकल मास्कको मूल्य १५ रुपैयाँ छ भने अन्य जिल्लामा २० देखि २५ रुपैयाँमा बिक्री भइरहेको छ । घर वरिपरि हिँड्दा लगाउने चलन नभए पनि प्रहरीले गस्ती गर्ने ठाउँमा मास्क अनिवार्य बनेको मुसिकोट नगरपालिका–१० का बलबहादुर खड्काले बताए । ‘अहिले व्यापार भनेकै मास्कको छ,’ उनले भने, ‘तर मूल्य मनपरी छ ।’ स्थानीय प्रशासनले अनुगमन नगर्दा मास्कको जथाभावी बिक्री भइरहेको उनले बताए । एक साताअघि १५ रुपैयाँमा किनेको मास्क बुधबार २५ रुपैयाँमा किनेको खड्काले बताए । ‘एउटै मास्क धेरै दिन प्रयोग गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

स्थानीय प्रशासनले मास्कको मनपरी मूल्य रोक्न नसक्दा त्यसको सोझो मार विपन्न नागरिकमा धेरै परेको छ । मुगुको छायानाथ रारा नगरपालिकाका भूषण मल्लले बारम्बार किनिराख्नुपर्ने मास्कको मूल्य धेरै हुँदा विपन्न परिवारमा आर्थिक बोझ थपिएको बताए । ‘थोरै भए पनि खर्च बढेको छ,’ उनले भने, ‘मास्क किन्नु नपर्दा त्यो पैसाले अरू काम गर्न सकिन्थ्यो होला ।’ कोरोना संक्रमणको ‘हट स्पट’ रहेको वीरगन्जमा नोज पिन भएको सर्जिकल मास्क हतपती पाइँदैन । स्थानीय औषधि पसलदेखि अन्य दोकानसम्ममा नोज पिन नभएको सर्जिकल मास्क १० रुपैयाँमा पाइन्छ । जबकि यस्तो मास्कको थोक मूल्य ५ रुपैयाँ पनि नपर्ने व्यापारीहरू बताउँछन् । वीरगन्जस्थित सर्जिकल सामग्रीका थोक बिक्रेता सुशील खेतानका अनुसार नोज पिन नभएको सर्जिकल मास्क स्थानीय बिक्रेताले बढीमा ६ रुपैयाँमा खरिद गर्छन् । नोज पिन भएको मास्क १३ रुपैयाँमा खरिद गर्छन् । उनले भने, ‘तर पसलैपिच्छै मूल्य फरक–फरक छ ।’

कोरोना संक्रमणको दर उच्च रहेको सप्तरीको अवस्था पनि त्यस्तै छ । ग्रामीण भेगको त कुरै छाडौं, सदरमुकाम राजविराजमै पनि स्थानीय खुद्रा व्यापारीहरूले सर्जिकल मास्कको मनपरी मूल्य लिइरहेका छन् । सामान्य सर्जिकल मास्क १० देखि २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ग्रामीण क्षेत्रमा त यस्तो मास्क ३० रुपैयाँसम्ममा बिक्री गरिन्छ ।

गुणस्तरको ग्यारेन्टी नभएको सर्जिकल मास्क महँगोमा बिक्री हुँदा विपन्न नागरिकले सामान्य खालको मास्क मैलो भए पनि कैयन् दिनसम्म प्रयोग गर्न बाध्य छन् । सप्तरीको विष्णुपुर गाउँपालिकाका ५० वर्षीय महिन्द्र सरदार दैनिक मजदुरी गरेर गुजारा चलाउँछन् । कोरोना संक्रमण र जिल्लामा जारी निषेधाज्ञाका बेला पनि उनी सदरमुकाममा घर निर्माणको काममा चर्को गर्मीको परवाह नगरी जुटेका छन् । ६ परिवारका सदस्य उनले भने, ‘मजदुरी गरेर खानेले सधैं मास्क किन्न कहाँ सक्नु ? यही मास्क धुँदै लाउँदै गरेर काम चलाइरहेका छौं ।’ उनले आफूले चैत ११ गते किनेको मास्क अहिलेसम्म धुँदै जतन गरेर लगाइरहेको बताए । भने, ‘दिनदिनै महँगो मास्क किन्दा त कमाएको सबै पैसा त्यसैमा सकिन्छ ।’

प्रदेश ५ को रूपन्देहीको बुटवलस्थित चौराहमा भेटिएकी सालझन्डी घर भएकी सुशीला कँडेलको हातमा नयाँ सर्जिकल मास्क झुन्डिएको थियो । लकडाउनअघि ५ रुपैयाँमा किनेजस्तै सर्जिकल मास्क अहिले १५ रुपैयाँमा किनेको बताउँदै उनले भनिन्, ‘अहिले सबैलाई चाहिने भएर होला व्यापारीले महँगो भनेका छन् । राम्रो क्वालिटी भनेर ठगिरहेका छन् ।’ उपभोक्ता हित संरक्षण मञ्च बाँकेका जिल्ला अध्यक्ष वसन्त गौतमका अनुसार बजारमा मास्कको मनपरी मूल्य चलेको छ । उनले भने, ‘खरिद मूल्यभन्दा २० प्रतिशत बढी नाफा लिएरसमेत बिक्री भएको छ । यो कालो बजारी नै हो ।’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका कृष्ण पौडेलले पनि मास्कको मूल्यमा एकरूपता नभएको स्वीकारे । उनले भने, ‘मेडिकल तथा किराना पसलेले पनि सर्जिकलको लाइसेन्स लिएर कारोबार गरिरहेका छन् ।’

दाङ घोराही उपमहानगरपालिका–१५ का रेशम पौडेलले एक पसलमा २५ रुपैयाँमा सर्जिकल मास्क किने । तुलसीपुर उपमहानगरपालिका–६ की बबिता नेपालीले तुलसीपुरमा त्यस्तै मास्क ३० रुपैयाँमा किनिन् । मुस्किलले ५० किलोमिटरको दूरीमा रहेका जिल्लाकै दुई सहरमा उस्तै खाले सर्जिकल मास्कको मूल्यमा ५ रुपैयाँ फरक किन पर्यो भन्ने रेशम र बबितालाई थाहा छैन । रेशमले प्रश्न गरे, ‘७ देखि ११ रुपैयाँसम्म पर्ने मास्क बजारमा २५/३० रुपैयाँमा बिक्री भइरहेको छ । यस्ता व्यापारीलाई कसले कारबाही गर्ने ?’ बबिताका अनुसार उपभोक्तालाई संकटका बेला अत्यावश्यक मास्क महँगोमा किन्न बाध्य पारिएको छ । उनले भनिन्, ‘हरेक दिन प्रयोग गरेर फाल्नुपर्ने मास्क यति महँगोमा किन्नु परेपछि कसरी सकिन्छ ?’

जिल्लास्थित नागरिक समाजका संयोजक चन्द्रराज पन्तले बजारमा मास्कमा उपभोक्ता ठगिएको बताए । उपभोक्ताले सस्तो भनिने सर्जिकल मास्क चर्को मूल्यमा किन्न बाध्य परे पनि जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बजारमा नियमित अनुगमन गरी उपभोक्तालाई ठगिनबाट बचाउने प्रयास भइरहेको बताए । सरकारले मास्कको मूल्य नतोक्दा न्यून आय भएका र गरिखाने बाटो गुमाएहरूको स्वास्थ्य जोखिममा परेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–४, बैतडाका नैनसिंह धामी गाउँमा सामान्य खाजा पसल चलाउँछन् । दिनमा दुईरतीन सय आम्दानी हुन्छ तर सस्तो भनिने सर्जिकल मास्क पनि फेरि–फेरि लाउनुपर्दा उनको परिवारमा दिनमै ५०/६० रुपैयाँ मास्कमा खर्च हुन्छ । भने, ‘पातलो मास्कलाई पनि १०/१५ रुपैयाँ भन्छन् । फेरि एक पटक लगाउनेबित्तिकै चुँडिन्छ ।’

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी कमला विष्ट हातमा चुँडिएको मास्क बोकेको अवस्थामा महेन्द्रनगर बजारको चोकमा भेटिइन् । उनले भनिन्, ‘बिहान १५ रुपैयाँको मास्क किनेको बजार नपुग्दै चुँडियो ।’ गाउँघरमा मास्क नलाउने गरेकी उनले बजार झर्दा मास्क किनेकी थिइन् । महेन्द्रनगर तथा आसपासका बजारमा सर्जिकल मास्कको मूल्य लकडाउनको सुरुवाती दिनभन्दा सस्तो भए पनि उत्पादन मूल्यभन्दा धेरै नै चर्को छ । स्थानीयका अनुसार लकडाउन हुनुअघिसम्म सर्जिकल मास्क २०/२५ रुपैयाँसम्म पर्थ्यो  । तर अहिले १०/१५ रुपैयाँमा पाइन थालेको छ । ‘पहिलेभन्दा सस्तो छ, तर गुणस्तर कमसल छ,’ भीमदत्त नगरपालिका–१० जिमुवाकी तुलसी पालले भनिन्, ‘राम्रो नराम्रो जस्तो भए पनि १५ रुपैयाँ लिन्छन् ।’

स्थानीय थोक बिक्रेताहरूले सामान्य सर्जिकल मास्क प्रतिगोटा ४ रुपैयाँमा थोकमा बेचिएको बताए । जबकि स्थानीय पसलेहरूले त्यही मास्क १० देखि १५ रुपैयाँसम्म बेचिरहेका छन् । ‘१० मै बेच्दा पनि राम्रै बचत हुन्छ,’ थोक बिक्रेता भोजराज भट्टले भने, ‘विगतको भन्दा मूल्य पनि कम भएको छ, व्यवसायीहरूले पनि त्यहीअनुसार घटाउनुपर्छ ।’

कोरोना महामारीअघि चीनबाट आउने गरेको ४ लेयरको सर्जिकल मास्क हिजोआज कास्कीको पोखरामा सहजै पाइँदैन । बजारमा नेपालमै बनेको तीन लेयरको सर्जिकल मास्क पाइन्छ तर त्यसको मूल्य चर्को छ । स्थानीय सर्जिकल व्यापारीका अनुसार चीनबाट आउने ४ लेयरको सर्जिकल मास्क कोरोना महामारीअघि १० रुपैयाँमा पाइन्थ्यो । तीभन्दा कमसल मास्कको मूल्य अहिले १५ रुपैयाँ पर्छ । पोखराको मास्क आपूर्तिकर्ता कम्पनी सन फार्मेसीका सञ्चालक केशरी तिवारी सर्जिकल मास्क १० रुपैयाँभन्दा बढीमा बेच्न नपाइने बताउँछन् । ‘कम्पनीअनुसार मूल्य तलमाथि पर्छ,’ उनले भने, ‘कसैले १५ रुपैयाँ लिएको छ भने त्यो महँगो हो ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रविन्द्र आचार्यले सर्जिकल मास्कको खुद्रा मूल्य सरकारले तोकेको विषयमा आफूहरू जानकार नभएको बताए । उनले भने, ‘सर्जिकल मास्क १० रुपैयाँभन्दा बढीमा बेच्न पाइँदैन । योभन्दा बढी मूल्यमा बेच्नेलाई कारबाही गरिरहेका छौं ।’

विभागले लकडाउनयता १६५ व्यवसायीलाई थर्मल गन, पीपीई, सेनिटाइजर र मास्कमा कालोबजारी गरेको भनेर ५० हजारदेखि ३ लाखसम्म जरिवाना गरेको उनले बताए । फागुन ३० देखि ११ साउनसम्म मास्क, सेनिटाइजर लगायतका अत्यावश्यकीय सामग्रीमा कालोबजारी गरेको भन्दै ६ वटा उजुरी परेको सुनाए । उनले भने, ‘२० प्रतिशतभन्दा धेरै नाफा लिएर बेच्नु कालोबजारी हो । हामीले खरिद मूल्य र बिक्री मूल्यका आधारमा कारबाही गरिरहेका छौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।