१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

आज रमजान मुबारक समापन हुँदै

आज रमजान मुबारक समापन हुँदै
अ अ+ अ-

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् ।

एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने परम्परा रहेको विराटनगर महमानगरपालिका–६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरले जानकारी दिनुभयो ।

रमजान उर्दू पात्रोअनुसार हिजरी संवत्को नवौँ महिना हो । रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको होभने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको उहाँको भनाइ छ ।

अशक्तलाई दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन हैदरले बताउनुभयो ।

“शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खालगायत हानिकारक खाद्यपदार्थ खाने बानीमा परिवर्तन आउँछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन”, उहाँले भन्नुभयो ।

सुख, शान्ति र समृद्धिका ‘एत्तकाब’

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २०औँ दिनमा मस्जिदमा एत्तकाब बस्ने गर्दछन् । रमजान महिनालाई तीन भागमा विभाजित गरी यो पर्व मनाइन्छ । पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजापछि सुरु हुने तेस्रो आसरा नर्कबाट मुक्ति’ प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने चलन रहेको प्रधानाध्यापक हैदरले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यो एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेक मानव जातिका लागि सुुख, शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो । एत्तकाबमा बस्ने मानिसले मौन रही घरपरिवार, इस्टमित्र, व्यापार तथा अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता रहेको बताउँदै यसलाई रोजा मान्ने मुसलमानहरूले अहिलेसम्म पछ्याइरहेका उहाँले उल्लेख गर्नुभयो ।

इदउलफित्र

इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २९औँ दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने तयारी गरिरहेका छन् । ‘इदउलफित्र’को दिन कोही मस्जिदमा, कोही ‘इदगाह’मा मुस्लिमहरू सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन् ।

नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न मिष्ठान्न परिकार खाने गर्छन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्छन् । यसमा आर्थिक अवस्था बलियो भएका अधिकांश मुस्लिम ‘हज’का लागि साउदी अरबको मक्कामदिना जाने गर्छन् ।

फितरा र जकात

रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो ७५० ग्राम गहुँको  मूल्य बराबर फित्तराका रूपमा निकाल्नु पर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला) मा खर्च गर्नुपर्छ । यो रकम ‘इद’को नमाज पढ्नुभन्दा पहिले निकाली सक्नुपर्ने बताउँदै प्रधानाध्यापक हैदरले यसपछि मात्रै उसले धारण गरेको व्रत ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ । उहाँका अनुसार जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नु पर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरूमा लागू हुन्छ ।

तराबी नमाज

रमजान महिनामा मुस्लिमले नियमित रूपमा दिनमा पाँचपटक पढ्ने नमाजसँगै तराबी नमाज ९विशेष नमाज० पढ्ने गर्छन् । तराबी नमाज धार्मिकग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् । तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लो दिनदेखि तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरूले उपहार दिने चलन छ ।

अनुभव

इटहरी इन्टरनेसनल कलेजमा आइटी प्रथम वर्षमा अध्ययनरत २० वर्षीय मोहम्मद अर्ज अलीले रोजा बस्दा मुस्लिम भएको गर्व महसुस हुने गरेको बताउनुभयो । उहाँले लगभग १६ घण्टा निराहर बस्नुपर्ने यो पर्वमा रोजा बस्दा कष्ट भए पनि जीवनमा आनन्द प्राप्त भएको भन्दै आफूले ११ वर्षको उमेरदेखि नियमित व्रत पूरा गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँले “संजोगले यो वर्ष म घर बाहिर भएकाले तराबी नमाज पढ्न असर्थ रहेँ”, उहाँले भन्नुभयो ।

मोरङ बूढीगङ्गा गाउँपालिकाको पोठिया निवासी १० वर्षीया फातिमा हविवाले गत वर्षसँगै यस वर्ष पनि रोजा बसेको सुनाउनुभयो । रोजा बस्दा भोक लागेको अनुभव नभएको भन्दै उहाँले तिर्खा धेरै लाग्ने गरेको बताउनुभयो । “मेरो बुबा हाफिज र मौलान दुवै हुनुहुन्छ, उहाँले सधैँ कुरान पाठ गर्नुहुन्छ । अरबी भाषामा भएकाले यसको अर्थ मैले नबुझे पनि मुस्लिमले पढ्नुपर्ने ग्रन्थ भएको बुबा सलमान मिफताहीले सुनाउनु हुन्छ’, उहाँले भन्नुभयो ।

इदको दिन नयाँ लुगा लगाउने र समुदायमा पाक्ने परिकारका बास्नाले झन् रमाइलो हुने गरेको विराटनगर सरोचिया निवासी मोहम्मद गुल्जारले बताउनुभयो । “इदको दिन हामी आममानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भनी अल्लाहसँग प्रार्थना पनि गर्छौँ”, उहाँले भन्नुभयो । मोहम्मद सदरुल/रासस