१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
Latest
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना आज कोशी र गण्डकीमा वर्षाको सम्भावना रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किए प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिने प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर निर्वाचित ईदले समाजको सद्भाव अझै प्रगाढ बनाउने छ : पूर्वराष्ट्रपति भण्डारी धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ  :  उपराष्ट्रपति आज इस्लाम धर्मावलम्बीले ईद मनाउँदै, देशभर सार्वजनिक विदा आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवनको भर्‍याङ् निर्माणमा लापर्वाही देखिएपछि भत्काउन र थप काम रोक्न समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्‍याङ् जोखिमपूर्ण भेटिएको र भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएको थियो । यसपछि समितिले जोखिमपूर्ण भर्‍याङ् भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन निर्देशन दिएको हो ।

जमिन तलाबाट पहिलो तलामा जाने भर्‍याङका   तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यस अघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकोले निर्माण कार्य रोकिएको हो ।

अनुगमनका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख डंगोलले, पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापहरुमा आँखा चिम्लिन नसकिने बताउनुभयो । ‘तोकिएको मापदण्डमा घट्ने गरी कतैको पनि काम अगाडि बढ्न दिँदैनौँ । काम नभएर फरक पर्दैन, गलत हुनुहुँदैन ।’ उहाँको भनाइ थियो ।

‘निर्माण कार्यमा अपनाउनु पर्ने विधिमा लापर्वाह गरेको भेटियो ।’ सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘निर्माण कार्यमा पहिलेको दाँजोमा सुधार आएको छ । तर, अझै कडा निगरानी चाहिएको छ । हामी यसलाई कडाइ गरेर लैजान्छौँ ।’

यो विहार वुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको हो । गएको भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य २०८२ भदौ २२ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ । आयोजनाको सम्झौता रकम ५६ लाख ५८ हजार ३७२ रुपैयाँ हो ।

१ हजार १७८.१८ वर्गफिट क्षेत्रफल भएको जमिनमा निर्माण हुने ४ तले विहारको जमिन तला, पहिलो र दोस्रो तला ८२३.२३ वर्गफिटका हुनेछन् । माथिल्लो तला ५७८.६४ वर्गफिट क्षेत्रफलको हुनेछ ।

अनुगमनका क्रममा आज वडा नं. २२ मा रहेको मूलश्री महाविहार (मुःबाहा) मा रहेको कुमारी द्यो छेँ र वडा नं. २४ मा रहेको ब्राम्हिण राजोपाध्याय आगमछेँ निर्माण प्रक्रिया हेरियो । संरचनाहरुको प्राचीन पक्षका विषयमा जानकारी लिएर निर्माण शैली, निर्माण सामग्री, कला र कलाकारिताका पक्ष हेरिएको थियो । संरचनासँग सम्बन्धित बास्तुकला, देवस्थान, काष्ठकला र यससँग सम्बन्धित संस्कार र सांस्कृतिकक सम्बन्धका विषयमा सरोकारवाला स्थानीयसँग कुराकानी गरिएको थियो ।

बुइँगल रहेको कुमारी द्यो छेँको सम्झौता रकम १ करोड ९२ लाख ९ हजार ११३ रुपैयाँ हो । यसको पुनःनिर्माणका लागि २०८१ भदौ ९ कार्यादेश दिइएको हो । २०८२ फागुन ८ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्छ ।

मूःबहाल कुमारीका परिवारका सदस्य सनम बज्राचार्यका अनुसार जीवित देवी शाक्य कुमारीभन्दा अगाडि बज्राचार्यहरुले मान्ने जीवित बज्राचार्य कुमारी राख्ने चलन थियो । कुमारी राख्न आयस्ता नभएपछि करिब २०३२ सालदेखि बज्राचार्य कुमारी राख्ने चलन छोडियो । यहाँ मुःबहालभित्र बसोबास गर्ने बज्राचार्यहरुबाटै कुमारी चलन थियो ।

हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार द्यो छेँको पहिलो तलामा कुमारीको मूर्ति र जीवित कुमारीको आसन राख्ने योजना छ । दोस्रो तलामा धार्मिक तथा सामाजिक क्रियाकलाप गर्ने योजना छ ।

वडा नम्बर २४ वंघ (इन्द्रचोक)बाट यट्खातर्फ जाँदा बायाँतर्फ रहेको आमगछेँ देवव्राम्हण राजोपाध्याय आगमछेँ हो । यो अहिले पुननिर्माण भइरहेको छ । यसको सम्झौता रकम १ करोड ७४ लाख ९१ हजार ६३२ रुपैयाँ हो । २०८१ मंसिर ७ कार्यादेश दिइएको यस कार्यको अवधि २०८२ मंसिर ६ सम्म हो ।

स्थानीय कविन्द्र रिमालले आगमछेँ र राजोपाध्यायका विषयमा जानकारी दिँदै भन्नुभयो, ‘यहाँ १४ औँ पुस्तादेखि राजोपाध्याय बसोबास गर्नुहुन्छ । स्वबासी देवव्राह्मण (उहाँहरु) को यो धार्मिक र सामाजिक कार्य गर्ने ठाउँ हो ।’

आगमछेँको जमिन तला खुला रहन्छ । पहिलो तलामा देवता कक्ष रहन्छ । दोस्रो तलामा खुला कक्ष रहनेछ । तेस्रो तलामा राजोपाध्यायहरुले गुप्त पुजा गर्ने कोठा रहन्छ ।

महानगरपालिकाको योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने अनुगमनका विषयमा जानकारी दिँदै भन्नुहुन्छ, ‘प्रचलित मापदण्डलाई पूर्ण कार्यान्वयन गराउन अनुगमनको भूमिका बढ्दै गएको छ । यसलाई नियमित र आकस्मिक दुवै प्रकारबाट सञ्चालन गरिरहेका छौँ ।’