१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…
अ अ+ अ-

पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिनुभएको थियो, उतिनै उहाँका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए । सराङकोटको डाँडामा उभिँदा, उहाँका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए ।

केही वर्षअघि उहाँले श्रीमान फिल हुलवर्कको हात समाउँदै यही सिँढीहरू उक्लिनुभएको थियो । सँगै खिचिएका तस्बिरहरू, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृतिहरू, हरियाली डाँडाहरू, चराचुरुङ्गीका चिरबिर सबै त्यही थिए । थिएन त केवल एउटा साथ, एउटा स्पर्श, एउटा हात, जसले उहाँलाई जीवनभर समातेर राख्ने वाचा गरेको थियो । अब तस्बिरहरू केवल याद बनेका थिए, सूर्योदयको उज्यालोभन्दा मनको अँध्यारो गहिरो थियो र सिँढीहरू उक्लिने पाइला साहाराविहीन भएका थिए ।

नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिल हुलवर्कको नेपालप्रतिको अपार मायाले नै लोरेटालाई उहाँको अस्तु बोकेर नेपाल ल्याउने प्रेरणा दियो । अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलो पटक सन् २००७ मा नेपाल आउनुभएको थियो । थाइल्याण्ड भ्रमणका क्रममा एकजना साथीले नेपालको प्राकृतिक सुन्दरताबारे सुनाएपछि उहाँको गन्तव्य नेपाल बन्न पुग्यो । प्रकृतिसँग रमाउन मन पराउने हुलवर्क नेपालका विभिन्न स्थानमा पुगेर प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवनशैली र संस्कृतिमा घुलमिल हुनुभयो । जहाँ गए पनि, जहाँ पुगे पनि, उहाँलाई पोखराको सुन्दरताले नै सबैभन्दा बढी तान्यो ।

पोखराका सुन्दर दृश्य, संस्कृति र यहाँका मानिसहरूको मायालु स्वभावले फिललाई यति मोहित बनायो कि उहाँ हरेक वर्ष नेपाल आउन थाल्नुभयो । पोखराको शान्त वातावरण र फेवातालको किनारले उहाँलाई सान्त्वना र आनन्द प्रदान गथ्र्यो । एयरलाइन्सबाट सेवा निवृत्त भएपछि त उहाँले आफ्नो अधिकांश समय नेपालमै बिताउन थाल्नुभयो ।

सन् २०१९ मा नेपाल बसाइँका क्रममा फिल हुलवर्क नसा च्यापिएपछि विरामी पर्नुभयो । लेकसाइड गौरीघाटस्थित होटल ‘रानीवन आर्केट’ मा बस्दै आउनुभएका हुलवर्कलाई होटल सञ्चालक तथा पर्यटन व्यवसायी हरि भुजेलले उपचारमा विशेष ध्यान दिनुभयो। तर, समस्या निको भएन ।

एक महिनापछि लोरेटा नेपाल आउनुभयो र उहाँलाई आफ्नै देश लगेपछि उपचार गर्नुभयो । विडम्बना एउटा समस्या समाधान नहुँदै उहाँलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो । अन्ततः उपचारकै क्रममा छ महिनाअघि फिलको निधन भयो । बिरामी अवस्थामै नेपाललाई सम्झिरहनुभएका फिलको आत्माको शान्तिका लागि उहाँकी पत्नी लोरेटा श्रीमान्को अस्तु लिएर नेपाल आउनुभएको हो ।

श्रीमान्को अस्तु लिएर सराङकोट डाँडामा पुग्नुभएकी लोरेटासँग पर्यटन व्यवसायी हरि भुजेल, पोखराकै अर्का साथी विनय पौडेल र लोरेटाकी साथी सेरी पनि हुनुहुन्थ्यो । लोरेटाले स्व श्रीमान्को तस्बिरलाई स्पर्श गर्दै पुष्पगुच्छा अर्पण गर्नुभयो । मुस्कुराइ रहेको श्रीमान्को तस्बिर एक टकले हेर्दै गर्दा लोरेटाका आँखा आँसुले भरिए । मौनताबीचका अनगिन्ती भावनासँगै उहाँले श्रीमान्को अस्तु सराङकोटको डाँडामा विर्सजन गर्नुभयो । फिलसँगको सम्झनालाई उहाँले नेपालकै माटोसँग मिलाउनुभयो ।

फिलले आफ्नै जीवनकालमा नेपाललाई माया गर्दै बारम्बार आफ्नो अस्तु नेपालमा लैजान लोरेटालाई अनुरोध गर्नुहुन्थ्यो । “फिल नेपालका प्रकृति र संस्कृतिमा रमाउने असाध्यै सरल र मिजासिलो व्यक्ति हुनुहुन्थ्यो”, होटल सञ्चालक हरि भुजेलले भन्नुभयो, “हामीले धेरै पटक हाम्रो घरको भान्सामा सँगै नेपाली खाना खाएका छाँै, होली पर्व मनाएका छौँ, मठमन्दिर देवालय पुगेका छौँ, थुप्रैथुप्रै सम्झना छन् फिलसँग”, फिलको अन्तिम इच्छालाई लोरेटाले पूरा गरेर नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाएको भुजेलले बताउनुभयो ।

फिल नेपालीको आतिथ्यता र यहाँको जीवनशैलीको खुलेर प्रशंसा गर्नुहुन्थ्यो । विशेष गरी, पोखराका स्थानीय क्षेत्रमा गएर लोकल रक्सी स्वाद मानेर पिउने उहाँको बानी थियो । “फिल नेपाललाई यति माया गर्नुहुन्थ्यो कि उहाँ वर्षको झन्डै तीन महिना नेपालमै बिताउनुहुन्थ्यो । दुई महिना एक्लै रहनुहुन्थ्यो भने एक महिना लोरेटासँगै,” भुजेलले भन्नुभयो ।

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्सँग पोखरा घुम्न आउने गर्नुहुन्थ्यो । अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ । “फिलको नेपालप्रतिको माया र लोरेटाको समर्पणले यो क्षणलाई झन मार्मिक बनाएको छ । फिलको आत्मा नेपालका पहाड, नदी र नेपालीहरूको हृदयमा सधैँ बाँचिरहनेछ”, फिलका साथी विनय पौडेलले भावुक हुँदै भन्नुभयो ।

एउटै एयरलाइन्समा कार्यरत हुँदा सुरु भएको प्रेमलाई यो जोडीले विवाहमा परिणत गर्नुभएको थियो । जीवनको उत्तराद्धतिर आउँदा पनि फिलसँग बिताएका प्रत्येक क्षण लोरेटाका लागि अविस्मरणीय तथा प्रेमले भरिपूर्ण रह्यो ती दिनहरू सम्झँदै लोरेटाले एउटा पछुतो व्यक्त गर्नुभयो ।

“मैले सन्तान जन्माउने चाहना गरिनँ, तर अहिले कताकता एक्लोपन महसुस गर्छु”, लोरेटाले हल्का उदासीका साथ भन्नुभयो । “मेरो साथमा फिल छैन तर उसँगका बिताएका हरेक पल र उसले टेकेको माटो मलाई उत्तिकै प्रिय छ”, लोरेटाले भन्नुभयो, “फिल अब भौतिक रूपमा हाम्रो साथमा छैनन्, तर उनको आत्मा सधैँ नेपालमै रहनेछ । पोखरामा उहाँको सम्झना सधैँ जीवन्त रहनेछ ।” रासस