१६ असार २०८३, मंगलवार
,
Latest
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी आसपासका क्षेत्र जलमग्न



अ+ अ-

धनगढी । गएराति देखिको लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न भएका छन् । 

धनगढीको विशालनगर, मिलनचोकलगायत बस्ती, २ को मालिका टोल, कृष्णनगर, सरस्वती टोल, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्ती, ४ को उत्तरबेहडी र शिवनगरलगायत बस्ती जलमग्न भएका हुन् ।

भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्ने अवस्थासम्म नभएको धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी दिजराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “अव्यवस्थित तथा पुराना नालीका कारण अलि बढी पानी परेपछि निकासा हुन नसकेर हरेक वर्ष बर्सातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।”

पानी निकासा हुने गरेका जमानादेखिका खोला, नालाहरु अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्ती डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । कतिपयले ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती अक्सर डुबानमा पर्ने गरेको औँल्याएका छन् । डुबानबाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलहरुको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ । 

धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष बलबहादुर ऐरले सोही वडाको गुरुद्वारादेखि मिलनचोकसम्मको बेल्ट हरेक वर्ष बर्सातका समयमा डुबानमा पर्ने गरेको बताउनुभयो । उहाँले वडामा आएको बजेटले समस्याको समाधान गर्न सम्भव नभएकाले प्रत्येक वर्ष निरन्तर रुपमा प्रदेश, स्थानीय र सङ्घीय सरकारलाई वडाको ढल निकासका लागि योजना बनाई पठाएको तर त्यो कार्यान्वयन हुन नसकेको बताउनुभयो । पुराना खोलानाला मासिँदै गएकाले हरेक वर्ष डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष नरबहादुर बमको भनाइ छ ।

निरन्तर वर्षाले यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडकसमेत जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन् ।

त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छलेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । उपमहानगरभित्र भएका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुबानको समस्या बर्सेनी दोहोरिने क्रम बढ्दै गएको छ । 

यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्ती जलमग्न हुनाका साथै दर्जनौँ बढी घर तथा पसल डुबानमा परेको थिए ।