
चितवन । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ ।
आज बिहान १० बजेतिर अज्ञात समूह कार्यकक्षभित्र प्रवेश गरी प्रमुख श्रेष्ठमाथि आक्रमण गरेका हुन् ।
अज्ञात ३५/४० जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरी कार्यलय समेत तोडफोड गरेको भन्दै कर्मचारीहरुले हस्ताक्षरसहितको विरोध विज्ञप्ति जारी गरेका छन् । घटनाको निन्दा गर्दै उनीहरुले सत्य तथ्य छानबिन गर्न माग गरेका छन् ।
भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा हिजो मध्यान्न करिब एक घन्टाभन्दा लामो समयसम्म प्रधानमन्त्रीको विरोधमा आपत्तिजनक शब्दसहितको नारा डिस्प्ले भएको थियो ।
आज बिहान करिब १० बजे यो विषयमा विरोध जनाउन एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले डिस्प्लेमा देखिएको नाराका विषयमा भरतपुर वितरण केन्द्रलाई स्पष्टीकरण सोधिएको बताएका छन् । उनले त्यसबारे अनुसन्धान भइरहेको बताए ।
यसबारेमा प्रमुख श्रेष्ठले भने कार्यालय समयमा पासवर्ड ह्याक गरेर प्रधानमन्त्री लक्षित कन्टेन्ट हालिएको दाबी गरेका छन् ।