
धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटलको अनुगमन गर्नुभएको छ । यहाँका केही होटलमा सफा, तथा स्वस्थ खाना उपलब्ध नहुने गुनासाका आधारमा मुख्यमन्त्री सिंहले आज होटल अनुगमन गर्नुभएको हो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्वीट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गर्नुभयो ।
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले होटल अनुगमनलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने जानकारी दिनुभयो ।
अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्सा कोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ । साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्वीटबाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ । न्यू जानकी भ्यू होटल र लक्ष्मी मिष्ठान्न भण्डारबाट अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । रासस