३१ असार २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने काठमाडौंका अव्यवस्थित तार निश्चित समयसीमाभित्र हटाइने ‘हरित इलाम हिलोमय भयो’: सचेतक राई मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रश्तुत भएको सांसद महन्थ ठाकुरको आरोप सांसदहरूले सेबोनलाई भनेः ‘पुँजी बजार सुधारको स्पष्ट कार्ययोजना चाहियो’ १० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति नागरिकका समस्या समाधानमा सरकार असफलः नेकपा सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी



अ+ अ-

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा सुन्तलाको जुस बेचेर घरापका दम्पती प्रेम तिलिजा र मैना तिलिजाले यो याममा रु दुई लाख आम्दानी गरेका हुन् ।

“बगैँचाका ठूला दाना व्यापारीले किनेर लगेपछि बचेका साना दाना सुन्तला अझै बोटमा राखेका छौँ,” मैनाले भन्नुभयो, “जुस खानका लागि दैनिक ५० जनासम्म पर्यटक यहाँ आउनुहुन्छ ।” बेमौसममा सुन्तलाको जुस सानो गिलासको रु दुई सय ५० र ठूलो गिलासको तीन सय ५० का दरले बिक्री हुने गरेको उहाँको भनाइ छ ।

आफ्नै बगैँचाको एक सय बोट र छिमेकीको बोटमा बाँकी रहेका सुन्तलालाई टिपेर बोक्रा छोडाइ उपकरणको सहायताले रस निकालेर बिक्री गर्दै आएको मैनाले बताउनुभयो । “उपकरणले गेडा र छोक्रालाई एकातर्फ फाल्छ भने रसलाई भाडामा खसाल्छ”, उहाँले भन्नुभयो ।

मुस्ताङको घाँसाबाट पदयात्रा गरेर म्याग्दीको तातोपानी आउने क्रममा बेमैसमको सुन्तलाको ताजा र स्वादिलो जुस उपभोग गर्न घरापमा विश्राम गरेको काठमाडौँका जनार्दनदेव पन्तले बताउनुभयो ।

जुस बनाउन थालेपछि साना दाना भएका कारण बिक्री नभएका सुन्तला खपत भएको प्रेमले बताउनुभयो । खेर जाने सुन्तलाबाट जुस बनाएर अतिरिक्त आम्दानी भएको भन्दै अन्य क्षेत्रमा सुन्तला सकिए पनि यहाँका बगैँचामा साना दानाका चैत महिनासम्म रहने उहाँले जानकारी दिनुभयो ।

ठूला दाना माघमा टिप्ने घरापका किसानले साना दानालाई जुस बनाउन चैतसम्म राख्ने गरेका छन् । सुन्तला भण्डारण गर्ने चिस्यान गृह र प्रशोधन गरेर जुस बनाउने उपकरण तथा सीपमूलक तालिम आवश्यक परेको यहाँका किसान बताउँछन् । घरापमा २० परिवारको बसोबास छ । अधिकांशले सुन्तलाखेती गरेका छन् ।

रोजगारीका लागि मलेसियामा दुई वर्ष बिताएर फर्किएका ४९ वर्षीय प्रेम र उहाँकी श्रीमती मैनाले घरापमा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गर्नुभएको छ । अन्नपूर्ण आधार शिविर, मुस्ताङ जाने–आउने र नारच्याङ घुम्न आउने पर्यटकलाई लक्षित गरेर सञ्चालित होटलमा दैनिक ३० जनासम्म बास बस्न सक्ने क्षमता रहेको प्रेमले जानकारी दिनुभयो ।

तिलिजा दम्पतीले सञ्चालन गरेको न्यु कालीगण्डकी रेष्टुरेन्ट एण्ड लजमा शान्त र एकान्त वातावरणमा रमाउन पाइनुका साथै लोकल कुखुरा, हाँस र बङ्गुरको मासु, साग, सुन्तलाको जुस, कोदोको ढिँडोलगायत परिकार पाइन्छन् । उहाँका अनुसार होटलमा दुई जनाले रोजगारी पनि पाएका छन् ।