९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

23.88°C

काठमाडौं

23.88°C

Kathmandu

Feels-like: 22.95

Wind: 2.02

Humidity: 24

तपाईं के खोज्दै हुनुहुन्छ ?

विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो



प्रतीकात्मक तस्बिर
अ+ अ-

तनहुँ । विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको मृत्यु भएको हो ।

गत आइतबार च्याउ खाएर सख्त बिरामी भएका बालकको बुधबार साँझ शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार च्याउ खाएर मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सोमबार उपचारकै क्रममा सोही वडाका ३० वर्षीय नारायण मगरको मृत्यु भएको थियो ।

मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मङ्गलबार मृत्यु भएको थियो । प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि बालकलाई शनिबार साँझ गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो ।

बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् ।

उनीहरुमा बान्ता हुने, पखाला लाग्ने, रिङगाटा लाग्ने लक्षण देखिएको थियो । उक्त लक्षण नरोकिएपछि गम्भीर प्रकृतिका दुई जनालाई थप उपचारका लागि पोखरा र काठमाडौँ लगिएको थियो ।