१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो

‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
फाईल फोटो
अ अ+ अ-

सुदूरपश्चिम । कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो ।

खेतमा फष्टाएको गहुँ बाली देखेर कैलारी गाउँपालिका–५ का किसान दीपक चौधरी खुशी हुनुहुन्छ । दीपकसहित यहाँका किसानले ‘सुपर जोन’ कार्यक्रममार्फत गहुँखेती गरिरहेका छन् ।

“सुपर जोन कार्यक्रममा समेटिएपछि पहिलेभन्दा गहुँको उत्पादकत्व वृद्धि भएको छ । करिब १५ बिघा जग्गा भाडामा लिएर गहुँखेती गरिरहेको छु”, चौधरीले भन्नुभयो, “पहिले प्रतिबिघा १२–१३ क्विन्टल गहुँ फल्नेमा सुपर जोन कार्यक्रममा समेटिएपछि २० क्विन्टलसम्म फल्न थालेको छ ।”

भजनी नगरपालिका–३ ढुसी गाउँका सीताराम चौधरी धानबालीमा सञ्चालित जोन कार्यक्रममार्फत चैते धानखेती गरिरहनु भएको छ । यहाँका किसानले करिब पाँच सय बिघामा यो धान रोप्ने तयारी गरिरहेका छन् ।

“सुरुका वर्षमा आफूले बीउ ल्याएर चैते धान रोप्दा गाउँलेले आफूलाई चैतमा पनि धान रोपेको भन्दै बौलाएको भन्थे । अहिले यहाँका अधिकांश किसानले यसको खेती गर्न थालेका छन्”, सीतारामले भन्नुभयो, “वैशाख र जेठमा चैते धानलाई मौसम अनुकूल हुने भएकाले वर्षे धानको तुलनामा उत्पादन बढी हुने गरेको छ ।” प्रतिबिघामा ४५ क्विन्टलसम्म चैते धान फल्ने अनुभव सुनाउँदै उहाँले गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन वृद्धि भएको बताउनुभयो ।

भजनी क्षेत्रमा काँडा, पथरैया र कान्द्रा नदीले वर्षायाममा निम्त्याउने डुबानका कारण वर्षे धानबाली नष्ट हुने गरेको किसान बताउँछन् । डुबानको समस्या बढ्दै जान थालेपछि यहाँका किसानले विकल्पका रूपमा चैते धानखेती गर्न थालेका हुन् ।

“वर्षामा खेतमा डुङ्गा चलाउन मिल्ने गरी हुने डुबानको समस्याले वर्षे धान बाली नष्ट हुने गरेको छ”, सीतारामले भन्नुभयो, “वर्षामा हुने धानखेतीको विकल्पमा अधिकांश किसानले चैते धान लगाउन थालेका छन् ।” किसानले डुबान नहुने समयमा चैते धानखेती गर्न थालेका बताउँदै उहाँले जोन कार्यक्रम सञ्चालन भएपछि किसान थप उत्साहित भएका उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७८/७९ देखि जिल्लामा चैते धानको जोन कार्यक्रम सुरु भएको थियो । भजनी नगरपालिकाभित्र सुरुमा पाँच सय हेक्टरमा खेती गरिएकामा हाल यसको क्षेत्रफल विस्तार गरी एक हजार हेक्टर पुर्‍याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ ।

परियोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख गोविन्दराज जोशीले भजनी नगर क्षेत्र, जोशीपुर र जानकीनगर गाउँपालिकामा चैते धानअन्तर्गत ‘जोन कार्यक्रम’ कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गौरीगङ्गा, भजनी र घोडाघोडी नगरपालिका, बर्दगोरिया, जोशीपुर र जानकीनगर गाउँपालिकामा गहुँ बालीको ‘सुपर जोन कार्यक्रम’ सञ्चालन भइरहेको छ ।

गहुँ बालीको कार्यक्रमअन्तर्गत सुरुका वर्षमा एक हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकामा हाल क्षेत्रफल विस्तार गरी तीन हजार हेक्टर पुर्‍याइएको जनाउँदै जोशीले जिल्लाको घोडाघोडी, भजनी नगरपालिका र बर्दगोरिया, जानकीनगर गाउँपालिकामा तेलहन जातको खेती भइरहेको उल्लेख गर्नुभयो ।

चालु आवदेखि धनगढी उपमहानगर क्षेत्रका साथै घोडाघोडी, भजनी र कैलारी गाउँपालिका क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम कार्यान्वयन गरिएको इकाई प्रमुख जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रमअन्तर्गत माछापालनमा सहभागी किसानलाई प्राकृतिक तालतलैयाको सुधार, आधुनिक यन्त्र तथा उपकरणको सुविधा, नयाँ पोखरी निर्माण, प्रविधिको व्यवस्थालगायत सहयोग उपलब्ध गराउँदै आइएको छ ।

कृषक समूह, सहकारी संस्था र कृषि उद्यमीमार्फत् सञ्चालन भइरहेको सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनका लागि परियोजना कार्यालयले उन्नत जातका बीउ, मलखाद, सिँचाइ, कृषियन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र स्थापना तथा सञ्चालनलगायत सहयोग गरिरहेको प्रमुख जोशीले बताउनुभयो ।

“सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनसँगै पहिलेको भन्दा बालीको उत्पादकत्व पनि वृद्धि भएकोे छ”, उहाँले भन्नुभयो “बालीका लागि उर्बर मानिने जग्गामा ती कार्यक्रम सञ्चालनका लागि छनोट गरी खेती गर्न किसानलाई उन्नत जातका बीउ, सिँचाइ, यन्त्रलगायत प्रविधिमा सहयोग उपलब्ध गराइरहेका छौँ ।”

कृषि प्रविधिको सुनिश्चिता, बजारीकरणको व्यवस्थाका साथै सहुलियत ऋण, कृषि बिमाको व्यवस्था हुनसके कार्यक्रम थप प्रभावकारी हुने इकाई प्रमुख जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “कृषिमा अनुदान दिने गरेका छौँ, तर अनुदान नपाउने कृषकमा असन्तुष्टि देखिने गरेको छ । यसले कृषि प्रणालीमा प्रतिकूल असर पुगिरहेकाले सबैलाई अनुदान दिने व्यवस्था गर्नुपर्छ । यसमा सरोकार भएका निकायले आवश्यक समन्वय गर्नु जरुरी छ ।”

नेपालमा परम्परागत रूपमा निर्वाहमुखी खेती गरिँदै आएकामा कृषिको उत्पादन वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको बजारीकरण, बाली उत्पादनमा यन्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्थासहित आधुनिकीकरण, व्यावसायीकरण गरी कृषि उपजको आयात घटाउँदै जाने उद्देश्यले सरकारले आव २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको हो । यो परियोजनाअन्तर्गत मुलुकका विभिन्न जिल्लामा विभिन्न बालीमा सुपर जोन र जोन कार्यक्रम सञ्चालन भइरहेका छन् ।रासस