काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी मागेका छ्न ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले तीन दिनअघिको आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना मागेका हुन् ।
उनले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा देशको विकासका लागि यौन व्यवसाय र गँजा वैधानिक रूपमा खुलाउनुपर्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ ।’
घिमिरेले उक्त धारण पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणा रहेको बताउदै क्षमा याचना मागेका हुन् । उनले भने, ‘यही चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद्को हैसियतले विशेष समयमा अभिव्यक्त गरेको धारणा यो धारण पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु ।’










