
काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान भोलिमात्रै हुने भएको छ ।
अखिल छैटौँका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोष्ठक छुटेपछि मतदान प्रक्रिया अघि बढ्न सकेको थिएन ।
उक्त मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएकाले भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान थालिने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।
मतदान गर्ने कार्यमा सहयोग गरिदिन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरु एवं विद्यार्थी मतदाताहरुलाई अनुरोध पनि गरिएको छ ।
राष्ट्रिय स्तरका नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनलाई धेरैले चासो र चिन्ता लिएका छन् ।
यहाँको स्ववियु चुनावलाई विद्यार्थी राजनीति मात्र नभई राष्ट्रिय राजनीति निर्माणको आधारशिलाका रूपमा समेत हेरिएको छ ।
१६ वर्षसम्म हुन नसकेको चुनाव हुने माहौल बन्दा विद्यार्थीहरू उत्साहित छन् । यसअघि २०६५ सालमा भएको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुबाट रश्मि आचार्य स्ववियु सभापति चुनिएपछि त्यसयता यहाँ निर्वाचन हुन सकेको छैन ।
पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लपी न्यौपाने २ जना स्वतन्त्र रूपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार रहेका छन् ।
एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका उम्मेदवार रहेका छन् ।
क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेका छन् ।