
काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्त राजा किन आवश्यक ? भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ती जनाए ।
सांसद पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले बोल्न थालेपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे । तर, सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह गर्दै शाहीले नमानेपछि पन्तले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए ।
‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस् । मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।
अहिले संविधानले राजतन्त्र चिन्दैन । त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन । राजतन्त्र इतिहासको विषय भइसक्यो ।’ सांसद पन्तले भने ।
राजतन्त्र ल्याउने संघर्षका लागि सडकमा उत्रिने वातावरण नबनाउन भन्दै सत्तापक्ष पनि सडकमा उत्रिन पर्ने अवस्था आउनसक्ने चेतावनी दिए ।