काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरंगित हुनु खुशीको कुरा भएको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरु राखेको भन्दै आपत्ति जनाउनु भयो । भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्नसक्नेकुराको हेक्का राख्न चेतावनी दिनुभयो ।
उहाँले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्नेकुरा नरहेको उल्लेख गर्नुभयो । अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज सदन राजाको नामले तरंगित छ, अति खुशीको कुरा हामी हर्षित छौँ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गत राजाबाट शुभकामना व्यक्त हुँदै आफ्नो अभिभावकीय भुमिका बिर्सि बक्सिएन । आफ्नो बाटोबाट अन्यत्र लगिरहेको अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न सक्दैन, जनताको हित गर्न सक्दैन, त्यसकारण यो सन्दर्भमा सबै जना एकसाथ जुटौँ भन्ने सन्देशलाई सबै नेपालीले आत्मसात गरे । २५ गते पोखराबाट फिर्ती सवारी हुँदा स्वतःस्फुर्त जनता स्वागत गर्न एयरपोर्टबाट निर्मलनिवाससम्म सरिक रह्यो ।’
उहाँले आफूहरुले राम्रोसँग संविधान अध्ययन गरेको पनि बताउनु भयो । उहाँले राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने बताउनु भयो । अश्ररुको बुइ चढेर आएको पार्टीले देशको हित गर्न नसक्ने बताउनु भयो ।










