
काठमाडौँ । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ज्ञानेन्द्रको भान्जा बताउने काठमाडौँ महानगरपालिका–३० असन घर भएका अनुप सिंह रहेका छन् ।
सिंहसहित सातजनाको टोलीले अमेरिका पठाईदिन्छु भन्दै पश्चिम रुकुमको बाफिकोट घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्दै आएका सुभद्रा दाहाल र नम्रता केसीसँग १ करोड २७ लाख ८० हजार रुपैयाँ ठगि गरेको पाईएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीले फागुन ९ मा सिंहसहित बनेपा घर भएका राजकुमार केसी, ललितपुरको च्यासल घर भएका सचिन व्यञ्जनकार र दीपकराज खनाललाई पक्राउ गरेको थियो । ठगीमा संलग्न ३ जना आरोपी भने फरार छन् ।
राजपरिवारका सदस्यको भ्रमण टिमसँग अमेरिका पठाउने आश्वासनमा उनीहरुले सुभद्रासँग मात्रै ९३ लाख नगद लिएको पाईएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यस्तै, नम्रता केसीबाट ३ लाख ४६ हजार ठगि गरेको पाईएको छ ।
यसबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।