१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

सामुदायिक वनमा महिला नेतृत्वको सफल अभ्यास

सामुदायिक वनमा महिला नेतृत्वको सफल अभ्यास
अ अ+ अ-

तिलोत्तमा । रुपन्देहीको देवदह–९ मा रहेको जनप्रिय सामुदायिक वन २०६६ सालमा महिलाको हातमा हस्तान्तरण भयो । सामुदायिक वनमा महिला नेतृत्वसँगै संरक्षणमा स्थानीय महिलाको जीवनको एक महत्वपूर्ण पाटो बनेको छ । हस्तान्तरणको समयदेखि हालसम्म वनलाई महिला नेतृत्वले हाँकिरहेका छन् ।

रुपन्देहीको देवदह–९ मा रहेको यो सामुदायिक वन दुई सय ३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । देवदह–९ मा वन कार्यालय रहे पनि वडा नं ९ र १० का चार सय ८० घरधुरी उपभोक्ता यसमा समेटिएका छन् । वनबाट वन पैदावरसँगै स्थानीयको आवश्यकता पूरा गर्दै महिलाहरुको आत्मविश्वास र आत्मबल बढाएको सामुदायिक वनका अध्यक्ष रुका सापकोटाले बताउनुभयो । महिलाको समूहले वन जोगाउँदै स्थानीयका आवश्यकता पूरा गरिरहेको उहाँले बताउनुभयो । “नेतृत्वसँगै सामाजिक उत्तरदायित्वका काम गरेका छौँ”, उहाँले भन्नुभयो, “महिलाका लागि अचार बनाउने तालिम, क्षमता विकासका विभिन्न तालिम प्रदान गरेका छौँ । यसबाट महिलाको आर्थिक पाटो पनि बलियो बन्न सहज भएको छ ।”

वन समितिले वनलाई पर्या–पर्यटनसँग जोड्ने योजना बनाएर ‘बोटानिकल गार्डेन’को अवधारणा साधारणसभाबाट समेत पारित गरिएको उहाँले बताउनुभयो । बढ्दो आधुनिकताले च्यापिरहेको समयमा भावी पुस्तालाई बोटबिरुवा र पर्यावरणका बारेमा जानकारी हुने भएकाले यो योजना अघि सारिएको छ । वन समितिले स्थानीयलाई तरकारीका बिरुवा निःशुल्क उपलब्धसमेत गराउँदै आएको छ । यसबाट घरमा दैनिक प्रयोग गरी बढी भएको तरकारी बिक्री गरेर आम्दानी हुँदा स्थानीय महिला खुसी भएको रुकाको भनाइ छ । अध्यक्ष रुकाभन्दा अगाडि यस सामुदायिक वनको नेतृत्व माया गलामी र रुक्मा चौधरी गरिसक्नुभएको छ । अवसर पाउँदा महिलाले जुनसुकै काम सफल रुपमा गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेको रुकाले बताउनुभयो ।

यस्तै देवदह वडा–७ मा रहेको सिर्जना सामुदायिक वनमा पनि सम्झना दुवे अध्यक्ष हुनुहुन्छ । विसं २०५१ मा स्थापना भएको यस सामुदायिक वनमा २०४९ सालमा वन ऐन आएसँगै संरक्षण गर्दै हालै अध्यक्ष बनेको सम्झना दुवेले बताउनुभयो । पहिले १९ हेक्टर क्षेत्रफलमा रहेको वन हाल विभिन्न कारणले १४ हेक्टरमा सीमित भएको अध्यक्ष दुवेको भनाइ छ । यस सामुदायिक वन क्षेत्रभित्र २०७३ सालमा ‘यशोधरा चिल्ड्रेन पार्क’ निर्माण गरिएको छ । पार्कमा बुद्धसँग सम्बन्धित महामाया, यशोधरा, प्रजापतिको मूर्ति स्थापना गरेर अवलोकनका लागि खुला गरिएको अध्यक्ष दुवेले जानकारी दिनुभयो ।

सामुदायिक वनको १५ सदस्यीय समितिमा उहाँसँगै आठ महिलाको सहभागिता छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त रु १० लाख बजेटबाट पार्कलाई थप व्यवस्थित गरी भगवान गौतम बुद्धको मावली स्थानका रुपमा परिचित देवदहलाई आगामी दिनमा बौद्धमय बनाउने अध्यक्ष दुबेले बताउनुभयो । “अब पार्कलाई बौद्धमय बनाउँछौँ”, उहाँले भन्नुभयो, “हरेक बुद्धजयन्तीभन्दा पाँच दिन अगाडि यशोधरा दिवस मनाउँदै आएका छौँ । यो विश्वमा नै पहिलो हो ।”

जिल्लाको कञ्चन गाउँपालिकाको पहिलो खोला सामुदायिक वनको नेतृत्व लक्ष्मी रानाले गर्दै आउनुभएको छ । कञ्चन वडा नं १० मा रहेको वन एक सय २५ दशमलव ९९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस सामुदायिक वनमा पालिकाका वडा नं १० र ११ का उपभोक्ता जोडिएका छन् । हालसम्म तीन कार्यकाल अध्यक्ष बनेर नेतृत्व गरिरहनुभएकी लक्ष्मीले वनकै माध्यमबाट विभिन्न सामाजिक कामहरु गरेको बताउनुभयो ।

वन संरक्षणसँगै यसकै माध्यमबाट महिलाको आर्थिक अवस्था बदल्न सहयोगी बनेको अध्यक्ष राना बनाउनुहुन्छ । “वन संरक्षण त भएकै छ । यससँगै घुम्ती कोष सञ्चालन गरी विपन्न परिवारका महिलालाई आर्थिक अवस्थामा सहजता प्रदान गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “घुम्ती कोषमार्फत एक रुपैयाँ व्याजमा ऋण दिने र उक्त रकम एक वर्षमा फर्काउनुपर्ने व्यवस्था गरेका छौंँ ।”

समूहकी अध्यक्ष लक्ष्मीका अनुसार घुम्ती कोषको रकमबाट महिलाले आयआर्जन हुने खालका व्यवसाय सञ्चालन गर्दै आएका छन् । उहाँका अनुसार घुम्ती कोषको ऋण सापटीबाट महिलाले कुखुरा, बाख्रा, बङ्गुर, भैँसीपालन गर्ने गरेको र कतिपयले सानोतिनो व्यापार गरी आर्थिक अवस्था सुधार गर्दै आएका छन् । त्यसका साथै वनकै माध्यमबाट सडक बत्तीको समेत व्यवस्था मिलाएको बताउनुभयो । विभिन्न समयमा हुने कटान र ढलापडा काठ बिक्री गरेर वनको आम्दानी बढाउँदै लगिएको समेत अध्यक्ष रानाले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको शान्ति सिर्जना वनमा रेखा पौडेल अध्यक्ष हुनुहुन्छ । चारैतिरबाट बस्तीको बीचमा रहेको यो वन १८ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब दुई सय ९३ उपभोक्ता रहेको यस वनमा अध्यक्षसँगै सबै महिला सदस्य रहेका छन् । वन क्षेत्र यसै पनि जोखिमको क्षेत्र भएकाले महिलालाई मात्र गाह्रो हुने भएकाले अब आगामी योजनामा पुरुषलाई पनि सहभागी गराउने अध्यक्ष पौडेलले बताउनुभयो । एघार सदस्यीय महिला समितिमा उपभोक्ता भने पुरुषहरु पनि छन् । विभिन्न समयमा हुने कटान र ढलापडा नै वनको मुख्य आम्दानीको स्रोत हो । यसबाहेक अन्य कुनै पनि आर्थिक स्रोत नहुँदा महिलाहरुको क्षमता वृद्धिका कामहरु गर्न नसकेको पौडेलले गुनासो गर्नुभयो ।

महिलाहरुले नेतृत्व गरेका रुपन्देहीका सामुदायिक वनहरु सात वटा छन् । यस नगरपालिकाभित्र रहेका सिर्जना सामुदायिक वन, जनप्रिय सामुदायिक वन, चेतना सामुदायिक वन, महामाया सामुदायिक वन, हरियाली सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन् । चेतना सामुदायिक वनमा सम्झना चौधरी, महामाया सामुदायिक वनमा कमला न्यौपाने र हरियाली सामुदायिक वनमा सरस्वती चौधरीले सामुदायिक वन समितिको नेतृत्व गर्दै आउनुभएको सब–डिभिजन वन कार्यालयले जनाएको छ । उता कञ्चन गाउँपालिकामा पनि एक सामुदायिक वनमा महिलाको नेतृत्वमा वन समिति बनेको छ । यस्तै पहिलो खोला सामुदायिक वनमा महिला अध्यक्ष लक्ष्मी राना रहेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुजन धिमालले बताउनुभयो ।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको रुद्रपुर धमिनाताल सामुदायिक वनमा पनि महिला अध्यक्ष पार्वती थापासहितको वन समिति रहेको अधिकृत धिमालले जानकारी दिनुभयो । रुपन्देहीका वनमा महिला अध्यक्ष मात्र हैन जिल्लाका दुई वटा वनको समितिमा सबै महिला सदस्य रहेका छन् । कञ्चन गाउँपालिकामा एक सय ८५.७ हेक्टर क्षेत्रफलमा फैलिएको पिपरीचापा महिला सामुदायिक वनमा सिङ्गो समितिमा महिलाहरु छन् । यसमा रेउकुमारी काउचा अध्यक्ष रहेको वरिष्ठ वन अधिकृत धिमालले बताउनुभयो ।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको शान्ति सिर्जना सामुदायिक वनको सिंगो समिति नै महिलाको छ । २१.४२ हेक्टर क्षेत्रफलमा समेटिएको वनमा रेउकुमारी काउचा अध्यक्ष रहनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल रुपन्देहीका अध्यक्ष श्यामकला आचार्यले महिला नेतृत्वका सामुदायिक वनमा आर्थिक पारदर्शी हुने बताउनुभएको । “महिलाहरु इमान्दार हुन्छन्, उनीहरुले नियम, कानुन, पद्धतिको अनुसरण गर्छन्” उहाँले भन्नुभयो, तर कतिपय पुरुष नेतृत्व भएको ठाउँमा आर्थिक सुशासन कमजोर रहेको देखिन्छ ।”

महासङ्घका अध्यक्ष आचार्यले वैज्ञानिक वन व्यवस्थापन हटिसकेको अवस्थामा पनि त्यसैलाई अनुसरण गर्नुपर्छ भनेर पुरुष नेतृत्वले भन्ने गरेको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापनमा धेरै काठ काट्न पाइने र त्यसैबाट फाइदा निकाल्न खोज्ने प्रवृत्ति हाबी भएको उहाँको भनाइ छ । शिवनगर सामुदायिक वनमा दोस्रोपटक सचिव बनेकी सुमित्रालाई पहिले वनकै कुरा थाहा पाउन मुस्किल हुन्थ्यो । तर अचेल भने बल्ल वनका कुरा थाहा हुन थालेको बताउनुभयो । कामको सन्दर्भमा पनि पुरुषको तुलनामा महिलाले आफ्नो जिम्मेवारी जसरी पनि पुरा गर्ने उहाँको भनाइ छ । डिभिजनल वन कार्यालय रुपन्देहीका सिनियर डिभिजनल वन अधिकृत प्रविण बिडारीका अनुसार रुपन्देहीमा रहेका एक सय १० सामुदायिक वनमध्ये सात वटा सामुदायिक वनमा महिला अध्यक्ष छन् । त्यसैगरी जिल्लाका दुई वटा सामुदायिक वनमा सिङ्गो वन समिति महिलाको रहेको छ । रासस