१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक रु एक लाखसम्म आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक रु एक लाखसम्म आम्दानी
अ अ+ अ-

बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न हुनुहुन्छ छ । उहाँले साढे सात बिघा खेतमा केराखेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।”

कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उहाँको तर्क छ । “हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ”, उहाँले भन्नुभयो । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया मा विताउनुभएका उहाँ युवाहरूलाई देशमै केही गर्न आग्रह गर्नुहुन्छ ।

विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उहाँ केराबारीमा भेटिनुहुन्छ । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उहाँको अनुभव छ । “हाम्रो बानी कस्तो छभने खेतमा बाली लगाउने अनि फर्केर नजाने”, उहाँले भन्नुभयो, “यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।”

बुबाबाजेले खेतीपाती गरेको देखेर हुर्कनुभएका उहाँले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिनुभएका उहाँ २०६५ सालमा वैदेशिक रोजगारीमा जानुभयो । “देशमा माओवादी सङ्घर्ष थियो । म पनि त्यसैमा होमिएको थिएँ । विसं २०६२÷६३ मा काठमाडौँ केन्द्रित आन्दोलन भयो । त्यहाँ पनि निकै नाराबाजी गरियो”, उहाँले विगत सम्झनुभयो ।

शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो । सीपबिनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उहाँको भनाइ थियो ।

यसरी पाँच वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेको उहाँले सुनाउनुभयो । त्यसयता उहाँले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।

गाउँमा रु पाँच सय कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उहाँको कथन छ । पुख्र्यौली सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा पाउनुभएका उहाँले १० वर्षमा १५ कठ्ठा खेत, दुई ठाउँमा घडेरी जोडेको बताउनुभयो । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उहाँको भनाइ छ ।

उहाँले एक छोरालाई फार्मेसी पढाउनुभएको छ । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको बताउनुहुन्छ । आफूहरूजस्तो निम्नवर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको छ । पैत्रिक सम्पत्तिका नाममा तीन कठ्ठा खेत पाउनुभएका उहाँले छिमेकीको एक बिघा खेत भाडामा लिएर केराखेती सुरु गरेको बताउनुभयो ।

उहाँको केराखेती अहिले साढे आठ बिघा पुगिसकेको छ । उहाँले वर्षको प्रतिकठ्ठा रु चार हजार आठ सयदेखि छ हजार पाँच सयसम्म भाडा तिर्नुहुन्छ । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । नौ हजार दुई सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा सय बोटसम्म केरा क्षति हुने गरेको उहाँको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी रु २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा रु ३१ लाख बढीको केरा बिक्री गर्ने उहाँको भनाइ छ ।

“प्रतिघरीमा ९० देखि एक सय कोसा केरा फल्छ”, उहाँले भन्नुभयो, “मैले मालभोग र नाइन ग्रेड ९घ्यू० केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा दुई सय कोसासम्म फल्छ ।” प्रतिकोसा रु ३।५० पैसाका दरले कम्तीमा तीन सय ५० देखि पाँच सयसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।

“बजारको मागअनुसार केरा दिन नसकेको उहाँले सुनाउनुभयो । हप्तामा दुई सय ५० घरीभन्दा धेरै केरा पसलेले माग्नुहुन्छ”, उहाँले भन्नुभयो, “छ–सात बिघामा गरेको खेतीले पुर्याउन गाह्रो छ । थोरैथोरै गरेर दिने गरेको छु ।” पैसासमेत दैनिक पाइने भएपछि खेती गर्न उत्साह थपिने गरेको उहाँ सुनाउनुहुन्छ । किसान बलले केराखेतीमा पाँच जनालाई नियमितजस्तै काम दिने गर्नुभएको छ । पात काट्ने, गोडमेल गर्ने, मलजल गर्ने, केरा काट्नेलगायत काम हुन्छ ।

उहाँ आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदुरको काम आफैँले भ्याउने गरेको उहाँको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उहाँले सुनाउनुभयो । भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग हाम्रो महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

राज्यले थोरै राजस्वको लोभमा देशका किसानलाई पेसाबाट पलायन गर्ने नीति सुधार गर्नुपर्ने उहाँको माग छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अपुग सामानमात्र भित्र्याउनुपर्ने उहाँ बताउनुहुन्छ । खेतमा बिरुवा लगाएर राजनीति गर्ने र कम्मरमा हात लगाएर बस्नेहरूले खेती हुन्न । बजार छैन, कृषि डुब्नका लागि गर्ने हो भन्ने भाष्य सृजना गरेकामा उहाँले दुःख व्यक्त गर्नुभयो । यस्ता भाष्यले समाजमा कृषि कर्मप्रति नै नकारात्मक सोचको विकास गरेकाले युवाहरू यही कृषि कोरिया, जापान, अष्ट्रेलिया गएर गर्न लालायित हुने तर नेपालमा खेत बाँझै हुने अवस्था आएको किसान बलको बुझाइ छ ।

कृषि गर्छु भन्नुभन्दा पनि किसानले आफूले लगाएको बिरुवाको भाषा बुझ्ने गरी अभ्यस्त हुनुपर्ने उहाँ बताउनुहुन्छ । बोटबिरुवासँग बिहान, दिउँसो र बेलुका भेट गर्ने र उनीहरूको कुरा बुझ्नेले मलजल गरेमात्र उत्पादन वृद्धि हुन्छ । उहाँले भन्नुभयो, “उत्पादन बढेपछि मात्र आम्दानी बढ्ने हो । बलले केराखेतीबाट सबै खर्च कटाएर मासिक रु एक लाखसम्म आम्दानी गरिरहेको भन्दै यस पेसाले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिनुभयो । कुनै पनि कृषिलाई उन्नत बनाउन राज्यले प्रविधिको उपयोग तथा खेती प्रणालीको विकासमा भने ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । रासस