
काठमाडौँ । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
शनिबार एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले यस्तो घोषणा गरेका हुन् ।
रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटक पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो छ ।
आफुमाथि जिल्ला सचिवसहितका नेताहरुबाट भएको आक्रमण र अपमान सहन नसकेर पार्टी छाडेको ढकालको तर्क छ । आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गर्नुभएको छ। तत्कालिन नेकपा विभाजन र एमालेबाट माधवकुमार नेपालसहितका नेताले दल विभाजन गर्दा रसुवामा विभाजनको असर हुन नदिन भुमिका खेल्नुभएका ढकाल यतीबेला दश बुँदे पक्षधर र एमालेमा आएका प्रेम तामाङको पेलान सहन नसकेर दल त्याग गर्नुपरेको दाबी गरेका छन् ।
तत्कालिन अवस्थामा नेकपा एकीकृतमा जान लागेका माधव अर्याल, राप्रपाहुँदै माओवादी, जसपा, नयाँ शक्ति र कांग्रेस हुँदै एमालेमा प्रवेश गरेका प्रेम तामाङलाई नेतृत्वले च्याप्न खोजेको ढकालको आरोप छ ।
पार्टी महासचिव शंकर पोखरेल र प्रदेश इञ्चार्ज राजन भट्टराईलाइ पटक पटक यो विषय अवगत गराएपनि निकास नआएको उहाँको भनाइ छ । रसुवामा भविष्यसम्मको नेताको उपमा पाएका ढकालले एकाएक दल त्यागको घोषणा गरेसँगै पार्टी नेता र कार्यकर्ता दबाबमा परेका छन् ।
गल्छि- त्रिशुली-स्याफ्रु सडक बनाउन पहल गरेको, रसुवागढी नाका सुधार र सुख्खा बन्दरगाह निर्माणमा भुमिका खेलेका ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्थे । खास गरी संविधानसभा सदस्य रहिसकेका प्रेम तामाङ एमालेमा आएपछि जिल्लाको संगठन अराजक बनेको टिप्पणी भइरहेको छ । ढकाल २०७० को संविधानसभा सदस्यमा रसुवाबाट निर्वाचित हुनुभएको थियो । पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको पनि उनले आरोप लगाएका छन् ।
तत्कालिन नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएका ढकाल पछिल्लो पटक रसुवा अध्यक्ष हुनुहुन्थ्यो । जिल्लामा पार्टीलाई बलियो बनाउन तीन वटा घर र गाडी समेत बेचेर काम गर्दापनि आफुमाथि तुच्छ टिप्पणी हुनेगरेको भन्दै ढकाल आगामी दिनमा स्वतन्त्र रहने घोषणा गर्नुभएको हो ।