२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित



अ+ अ-

कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट पाँच सय ५३ जना लाभान्वित भएका छन् ।

स्वास्थ्य सेवा कार्यालय, कालिकोटको आयोजना तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा योगी नरहरिनाथ आधारभूत अस्पताल, कुमालगाउँमा बुधबारदेखि सुरु भएको दुई दिने शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

शिविरमा नसर्ने रोग तथा भिआइए (पाठेघरको मुखको क्यान्सर परीक्षण) स्कृनिङ्गसम्बन्धी निःशुल्क सेवा उपलब्ध गराइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका अधिकृत कटकबहादुर महतले बताउनुभयो । उहाँका अनुसार शिविरमा ५५ जना दम, उच्च रक्तचाप १४ जना, मधुमेह निदानका एक सय ५६ जनाको प्रयोगशाला जाँच भएकोमा पाँच जना देखिएको छ ।

दाँत तथा मुख स्वास्थ्य ७७ जना, फिजियोथेरापी सेवा ५६ जना, विविध स्वास्थ्य परीक्षण तथा उपचार दुई सय छ जना, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण दुई सय ९२ जनामा गरिएकोमा भिआइए पोजेटिभ चार जनामा देखिएको र शङ्कास्पद पाठेघरको मुखको क्यान्सर तीन जनामा देखिएको अधिकृत महतले बताउनुभयो ।

महिलाको आङ खस्ने समस्या तथा फिस्टुलाको परीक्षण दुई सय ९२ जनामा गरिएकोमा १८९ जनामा उक्त समस्या देखिएको थियो ।रासस