काठमाडौं। नेपालस्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले आफ्नो नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) को अवैध दुरुपयोग भइरहेको भन्दै सार्वजनिक चेतावनी जारी गरेको छ।
इस्कोनले मोरङ, सुनसरी, झापा, सिरहा, नवलपरासी (पश्चिम) लगायत विभिन्न जिल्लामा आफ्नै नाम तथा ट्रेडमार्कको दुरुपयोग गर्दै गलत गतिविधिहरू भइरहेको जनाएको छ। मोरङ प्रशासन कार्यालय, उद्योग विभाग, निष्क्षेत्र तथा विराटनगर उच्च अदालतले समेत सो कार्य गैरकानुनी रहेको पुष्टि गरिसकेको इस्कोनको दाबी छ।
संस्थाका पूर्व पदाधिकारीहरू वसन्त पराय गुरु (भक्तिसिद्धान्त दास), शैलेन्द्र यादव (सिद्धार्थ दास), मनीष राई (मन: शिक्षा दास), विनिसा यादव (विभिन्न विहारी दास) र खगिन्द्र बहादुर बस्नेत (व्यास अनुरुप दास) ले इस्कोनको नाम दुरुपयोग गरी जनमानसलाई भ्रममा पार्ने कार्य गरिरहेको इस्कोनको आरोप छ।
इस्कोन नेपालका पदाधिकारीहरूले कुनै पनि भ्रामक गतिविधिमा नफस्न अनुरोध गर्दै इस्कोनसँग सम्बन्धित कुनै पनि दान, सहयोग वा अन्य कार्यहरूका लागि इस्कोनको केन्द्रीय कार्यालय वा अधिकृत शाखाहरूमा मात्र सम्पर्क गर्न आग्रह गरेका छन्।









