८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ निर्णय

फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ निर्णय
अ+ अ-

खोटाङ । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो ।

तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ ।

जिल्ला घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा बजारको मागअनुसार बाँसका विविध प्रजातिको व्यावसायिक खेती प्रवर्द्धन गर्ने, बाँसका बिरुवाको उत्पादन तथा खेती विस्तार गर्ने, नदी किनार, बाँझो जग्गा, सामुदायिक वन तथा गैरकृषिभूमिमा बाँस रोपणलाई प्रवर्द्धन गर्ने बुँदा समेटिएको मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । यस्तै, बाँस खेतीसम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने, स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण गर्दै पुस्तान्तरण गर्ने, बाँसमा आधारित उद्योगमा दक्षता र उत्पादन गुणस्तर सुधार गर्न रणनीतिक व्यावसायिक नमूना विकास गर्ने बुँदा उल्लेख छ ।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेलमैदानमा बाँसका सामग्रीसहित विभिन्न ५१ वटा प्रदर्शनी कक्ष राखिएको थियो । नगरपालिकाले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र ग्रिन ब्याम्बो क्रियसन ललितपुरलगायतसँगको सहकार्यमा बाँस सम्मेलन गरेको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्घाटन भएको बाँस सम्मेलनमा सङ्घीय सांसद, प्रदेशका मन्त्री र सांसद, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुख, जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखको उपस्थिति रहेको थियो । नेपालकै इतिहासमा पहिलोपटक दिक्तेल बजारमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैरसरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ ।

सम्मेलनको अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न/गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सीसमेत उपहार दिने निर्णय गरिएको गरिएको छ । बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सञ्चालन भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायी उत्साहित भएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले रु पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाइएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा रु ४७ लाख बराबरको खर्च भएको नगरपालिकाले जनाएको छ । रासस