काठमाडौं । प्यालेस्टिनी समूह हमासले चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले ती शव रेडक्रसको जिम्मा लगाएको हो ।
एक इजरायली अधिकारीले दिएको जानकारीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार हमासले इजरायली चार जना बन्धकको शव बुझाएको हो ।
योसँगै इजरायलले वेस्ट बैंकस्थित ओफर जेलबाट ६०० बढी प्यालेस्टाइनी कैदीलाई रिहा गर्न सुरु गरेको छ । यसलाई युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । जुन शनिबार समाप्त हुँदैछ ।
हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि गरिएको छैन । यद्यपि, हमासले ८६ वर्षीय श्लोमो मन्सूर, ५० वर्षीय ओहद लाहलोमी, त्साची इदान र ६९ वर्षीय इत्जिक एल्गारट रहेको जिकिर गरेको छ ।
यी सबैलाई २०२३ अक्टुवर ७ को आक्रमण दौरान हमासले राखेको थियो । इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाई गरेको बताइँदै छ ।
हमास वुधबार मात्रै विना कुनै समारोह शव हस्तान्तरणमा सहमत भएसँगै ६०० कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् । गाजा सीमामा परिवारसहित चार शवको पहिचान संवेदनशील ढंगले चाँडो गरिने अधिकारीहरुको भनाइ छ ।










