काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका चार मध्ये तीन वटा विमान एकै पटक ग्राउन्डेड भएका छन् । यात्रु आवागमनको चाप बढेर महँगो दरमा हवाई टिकट बिक्री भइरहेका बेला निगमका दुई न्यरोबडी र एउटा वाइडबडीसहित तीनवटा जहाज एकैसाथ ‘ग्राउन्डेड’ भएका हुन् ।
तीन दिनयताका आधा दर्जन गन्तव्यमा उड्नुपर्ने उडान धमाधम रद्द हुँदा कम्तीमा २ हजार यात्रु अलपत्र परेका छन् । मुम्बई, बैंलुरु, क्वालालम्पुर, दोहा, दमामका उडान अन्तिम सयममा जहाज बिग्रिएकाले रद्द हुँदा टिकट खरिद गरेका २ हजार हाराहारी यात्रु अलपत्र परेका हुन् ।
निगमसँग १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न १ सय ५७ सिट क्षमताका दुइटा एयरबसका ए३२० न्यरोबडी र २ सय ७४ सिट भएका दुइटा एयरबसका ए३३० वाइडबडी विमान गरी चारवटा जेट छन् । तर एक सातायता निगमका तीनवटा विमान पटक–पटक बिग्रिए । चीनमा सीचेक सकिएको सगरमाथा न्यरोबडी भुक्तानीमा समस्या सृजना हुँदा एक सातादेखि उतै थन्किएको छ । अर्को लुम्बिनी न्यरोबडी अगाडिको पाङ्ग्रामा समस्यादेखिएपछस तीन दिन साउदीअरबको दमाममा थन्किएको थियो । त्यहाँको साउदी एयरलायन्सको सहायतामा मर्मत गरेर मंगलबार बिहान काठमाडौंमा अवतरण भएको त्यो विमानमा पुन: समस्या देखिएपछि निगमले विमानस्थलमा रहेको मर्मतशालामा राखेको छ ।
त्यस्तै मंगलबार बेलुकी वाइडबडी अन्नपूर्ण दिल्लीमा नियमित जाँचका कारण रोकियो । बुधबार बिहान दिल्लीबाट मर्मत गराएर ल्याइएको वाइडबडीमा इन्धनसम्बन्धी एकासी नयाँ समस्या देखिएपछि पुन: ग्राउन्डेड गरिएको छ । अब निगमसँग एउटामात्रै वाइडबडी उडानमा छ ।
गत माघमा सीचेकका लागि चीनमा पठाइएको सगरमाथा नामको न्यरोबडी मर्मत भइसकेको छ । एक साताअघि नै काठमाडौं आएर उडान गर्नुपर्ने त्यो जहाजको भुक्तानीसम्बन्धी बिलमा हिसाब फरक–फरक आएकाले झमेला सृजना भएको बताइएको छ । यो विवादले जहाज चीनमै रोकिँदा दैनिक कम्तीमा २ करोड रुपैयाँको आम्दानी निगमले गुमाउनु परेको छ ।
निगमले यतिबेला काठमाडौं, मलेसिया, दोहा, दुबई, बैंकक, बैंलुरु, दमाम लगायतका गन्तव्यका दुईतर्फी उडान अन्तिम समयमा रद्द गरेको छ । अन्तिम समयमा उडान रद्द गर्दा विमानस्थलमा आइसकेका यात्रुलाई होटलमा राखेको छ । ती सबै निगमकै अतिरिक्त खर्चमा स्वदेश र विदेशका होटलमा छन् ।










