४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस



अ+ अ-

एजेन्सी। स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत नेपालले राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत नेपालले राजासँग केहीसमय शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोसहित सहयोग अभिवृद्धिका बारेमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत नेपालले राजा फिलिपसँगको भेटमा नेपालको परराष्ट्र नीतिको प्राथमिकता, विकासका योजना र कार्यक्रम तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासका बारेमा राजालाई अवगत गराए। यसैगरी जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा देखापरेका समस्या र वातावरणीय चुनौतीका सामना गर्न अन्तर्राष्ट्रियस्तरमा सहयोग र सहकार्यमा आवश्यक रहेको उनले जानकारी दिए।

भेटका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाउँदै राजदूत नेपालले राजा फिलिपलाई नेपाल भ्रमणका लागि आग्रह गरेकामा राजा फिलीपले आफूले धेरै अगाडि नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको राजदूत नेपालले जानकारी दिए।

नेपालप्रति राजाले विशेष सद्भावका साथ चासो व्यक्त गरेको र नेपालको विषयमा खुलेर कुरा गरेको उनले जानकारी दिए। सो अवसरमा राजदूत नेपाललाई बधाई ज्ञापन गर्दै राजा फिलीपले सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।

त्यसैगरी राजदूत नेपालले स्पेनस्थित विदेश मन्त्रालयका दक्षिण तथा पूर्व एसिया हेर्ने उपमहानिर्देशकसँगसमेत भेटवार्ता गरेका थिए। उक्त समारोहमा राजदरबारका प्रोटोकल प्रमुख, विदेश मन्त्रालयका अधिकारी, नेपाली दूतावासका कर्मचारी र स्पेनिस सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति रहेको दूतावासले जनाएको छ।

नेपालले गत महिना म्याड्रिड पुगेर राजदूतको जिम्मेवारी सम्हालेका हुन्। कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए। नेपाल र स्पेनबीचमा सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो। रासस