
जङ्गी अड्डाको आयोजनामा, आज वि.सं.२०८१ फागुन १४ गते महाशविरात्री पर्वको विहान शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाले राजधानी काठमाडौंको मध्यभाग सदर टुंडिखेलमा नेपाली सेनाको २६२ औं स्थापना दिवस अर्थात् : सेनादिवस मनाइएको छ ।
नेपाली सेनाले धेरै पहिलेदेखि टुंडिखेलमा घोडेजात्रा, फुलपाति बढांइ र महाशिवरात्री बढांइ गर्दै आएको थियो ।
तत्कालिन शाही नेपाली सेनाको सहायकरथी पदबाट वि.सं.२०५७ मा सेवानिवृत्त चिनीयांबहादुर बस्न्यात (सिपाहीको जिन्दगी, चिनीयाबहादुर बस्न्यात, काठमाडौं : श्रीमती इन्दू बस्न्यात, २०७४, पृ.१९७) का अनुसार, शाही नेपाली सेना (परिवर्तिन नाम : नेपाली सेना) का परमाधिपति अतिरथी परमसेनाधिपति श्री ५ महाराजाधिराज वीरेन्द्रवीरबिक्रम शाहको इच्छाअनुसार त्यस बेलाका प्रधानसेनापति श्री सत्चितशमशेर जबराको कार्यकाल वि.सं.२०४४–४८ बाट महाशिवरात्री पर्वको दिनलाई सेनादिवस का रुपमा मनाउन थालिएको थियो ।
महाशिवरात्री र सेनादिवस
महाशिवरात्री पर्वको दिन नै सेना दिवस किन मनाइयो ? यसबारेको वहष र विवेचना लामै हुनसक्छ । सरसरती भन्न्ुपर्दा भगवान शिवका महादेव, महेश्वर, शङ्कर, रुद्र, भव समेत हज्जार नाम छन् । शिवका भक्तहरु शिवका ती सहस्र नामले उनको स्तुती गर्दछन् । कल्याण, श्रीशिवमहापुराणाङ्क, वर्ष ९२, सङ्ख्या १, भारत : गीताप्रेश गोरखपुर, २०७४ अनुसार यस संसारको सृष्टि, पालन र संहारको काम क्रमश: ब्रम्हा, बिष्णु र महेश्वर (शिव) को हो । वैदिक र पौराणिक ग्रन्थहरुमा (ब्रम्हा, विष्णु र महेश्वर) को चर्चा प्रशस्त गरिएको पाइन्छ । ती ग्रन्थका अनुसार पृथ्वीका प्राणीको सृष्टि ब्रम्हाबाट, पालन विष्णुबाट र संहार अर्थात् मोक्ष (मुक्ति) को काम शिवबाट भइरहेको छ । शिवको महेश्वर स्वरुपलाई कालस्वरुप (संहारकर्ता) भनिन्छ ।
श्रीशिवमहापुराणका अनुसार शिवबाट संहार मात्र होइन प्राणीहरुले मोक्ष वा मुक्ति पनि प्राप्त गर्दछन् । प्राणीहरुलाई मोक्षफल, अभीष्टफल, सुख, कामनापूर्ण, मनोरथपूर्ण, आनन्द लगायतका फल प्रदान गर्ने परमेश्वर शिव हुन् । प्राणी अर्थात् आफ्ना भक्तमाथि ती निगाह प्रदान गर्न शिव अर्थात् महेश्वरका अनेका अवतार छन् । ती अवतारमार्फत शिवजीले भक्तलाई भुक्ति र मुक्ति प्रदान गर्दछन् ।
वैदिक र पौराणिक ग्रन्थहरुमा शिवलाई सर्वशक्तिमान स्वरुपमा प्रस्तुत गरिएको छ । ती शास्त्रका अनुसार देवताहरुलाई उनीहरुका स्थायी शत्रू दानव, दैत्य (राक्षस) हरुको भय र त्रासबाट मुक्ति प्रदान गर्ने सर्वशक्तिमान नायक शिव नै हुन् । शक्तिकी देवी जगदम्बा भगवतीलाई भगवान शिवसंग जोडेर गरिएका ब्याख्याहरुले पनि शिवलाई सृष्टिका सबैभन्दा अधिक अर्थात् परम शक्तिबाट सुसम्पन्न, शक्तिका अजस्र स्रोत हुन् भन्ने पुष्टि गर्दछ । अझ भनौं शिव श्रृष्टिको समस्त शक्तिको अधिष्ठाता हुनुहुन्छ । सेना राष्ट्रको बल अर्थात् शक्ति हो । राष्ट्रको बल सेनालाई शक्तिका अजस्र स्रोत भगवान शिवसंग जोड्नु, सेनाले शक्तिका स्रोत शिवको आशिर्वाद प्राप्त गर्ने अभीष्ट राख्नु हो, यो कदम आध्यात्मिकदृष्टिमा सेनाको दूरदर्शीता हो ।
यसका साथै, श्रीशिवमहापुराणको २१ औं अध्यायमा युद्ध (रण) को फल वर्णन छ । उक्त अध्यायका अनुसार हतियारका भरमा बांच्ने आयुधजिवी ((सैनिक) पेशा अपनाउने योद्धाहरुले शत्रू सेनालाई माड्दै युद्ध गर्दछ, त्यसले धर्म, अर्थ, कीर्ति प्राप्त गर्दछ । जो वीर हतियार नछोडि युद्ध गर्दछ, युद्ध लड्दालड्दै वरिगति पाउंछ भने उसले स्वर्ग (उत्तमलोक) बाट कहिल्यै फर्कनु पर्दैन ।
सैनिक पेशामा आवद्ध सैनिक जुनसुकै समय कर्तव्यपालनका सिलसिलामा देशहितका लागि वीरगति प्राप्त गर्नसक्छ । यसरी वीरगति प्राप्त सैनिकलाई मोक्षदाता भगवान शिवबाट मुक्ति मिलोस् भनी सेनाले शिवसंग कामना गर्नु, आराधना गर्नु र त्यस्ता भगवान शिवलाई शिवरात्री जस्तो पावन दिनमा बन्दूकबाट बढांइ दिएर सम्मान गर्नु सेनाको उत्कृष्ट सुकर्म हो ।
वि.सं.२०४४/४५ सम्म नेपालमा सेनादिवस मनाउने प्रचलन थिएन । संसारका प्राय: सबै देशका सेनाले आफ्नो स्थापना वा कुनै विशेष दिन सेनादिवस मनाउंछन । अन्य देशका दृष्टान्त नियाल्दा नेपालमा पनि कुनै दिन सेनादिवस मनाउनु पर्ने देखिएको तर नेपालमा सेनादिवस कुन दिन मनाउने भन्ने अन्योल थियो । पृथ्वीनारायण शाहबाट वि.सं.१८१९ मा सिन्धुली र मकवानपुर बिजयपछि त्यहांबाट लुटिएका हतियारको आडमा स्थापना गरिएका पांच कम्पनीमध्ये जेष्ठ श्रीनाथ पल्टन (कम्पनी/गण) को वार्षिकोत्सवको दिन मनाउने या त नुवाकोट बिजय भएको असोज १५ गते मनाउने ? वा अर्काे कुनै दिन ? यसबारे छलफल भइरहेको थियो ।
श्री ५ वीरेन्द्रले राजा भएपछि विश्वका धेरै देश भ्रमण गरेका थिए । उनले ती देशका सेनाले सेना दिवस मनाएको देखेका सुनेका थिए । उनले शाही नेपाली सेनाको पनि अलग्गै दिवस मनाउनुपर्ने कुरा सेनाका वरिष्ठ अधिकारीहरुसमक्ष राख्दै आएका थिए । तर कुन दिन ? यसमा एकमत थिएन ।
शाही नेपाली सेनाले त्यसबेला पनि टुंडिखेलमा हरेक वर्ष महाशिवरात्री बढांइ, घोडेजात्रा र फुलपाति बढांइ आयोजना गर्ने गर्दथ्यो । यसबाहेक अर्काे अलग्गै दिन सेनादिवस मनाउंदा व्ययभार वा राज्यको खर्च धेरै लाग्ने र सैनिकहरु यसप्रकारका उत्सवमा लामो समय व्यस्त रहनुपर्ने हुंदा उसको व्यावसायिक दक्षता अभिबृद्धिमा पनि कम ध्यान जाने, परम्परागतरुपमा मनाउंदै आएको राष्ट्रिय पर्वलाई हटाउन पनि सान्दर्भिक नहुने अवस्थालाई समेत दृष्टिगत गरेर श्री ५ वीरेन्द्रवीरबिक्रम शाहको इच्छाअनुसार वि.सं.२०४५/४६ तिरबाट महाशिवरात्रीको दिन सेनादिवस मनाउन थालिएको अवकाशप्राप्त सहायक रथी चिनीयांबहादुर बस्न्यातको विचार छ । यसबाट राष्ट्रको खर्च बचत हुने, सैनिकहरुले कम समय दिए हुने र भगवान शिवप्रति आस्था वा सम्मान बढ्ने तत्कालिन सैनिक नेतृत्व र श्री ५ को समेत ठहर रहेको देखिन्छ ।
नेपाली सेना स्थापना : कहिले र कति वर्ष ?
नेपाली सेनाले प्रारम्भिक वर्षहरुमा सेनादिवस मात्र भन्ने गरेको थियो । विगत २/३ वर्षयता वि.सं.१८१९ मा पांच आधुनिक सैनिक कम्पनी स्थापना भएको वर्षलाई नेपाली सेना स्थापना भएको वर्ष मानेर यसवर्ष २०८१ को महाशिवरात्री पर्वलाई नेपाली सेना स्थापनाको २६२ औं वर्ष घोषणा गरेर राष्ट्रप्रमुखको आतिथ्यमा मनाइसकेको छ । के नेपाली सेना वि.सं.१८१९ मा स्थापना भएको हो ? हालका दिनमा यसबारे धेरैमा जिज्ञासा र अन्योल रहेको पाइन्छ ।
तत्कालिन समय हालको नेपाल भूमीमा करिब ५३ अलग ससाना राज्य थिए, तीमध्ये गण्डकी क्षेत्रमा रहेको एक राज्य लमजुङका राजा यशोब्रम्ह शाहका तीन छोरा नरहरि शाह, नरपति शाह र द्रब्य शाह थिए । माइला नरपति शाहको चांडै देहान्त भयो । इतिहासकार तथा प्राज्ञ दिनेशराज पन्त (गोरखाको इतिहास, भाग १) का अनुसार कान्छा द्रव्य शाहले गणेश पांडे, नारायण अज्र्याल, गंगाराम राना, केशव बोहरा, भगीरथ पन्त, सर्वेश्वर खनाल, मुरली खवास समेतको सहयोगमा पहिले लिगलिग अधिकार गरे । लिगलिगमा त्यसअघि घले राजा थिए ।
गणेश पांडे, भगीरथ पन्त समेतको सहयोगमा द्रव्य शाहले लिगलिगपछि गोरखामा अधिकार गरे । गोरखामा खड्का मगर राजा थिए । यो समय वि.सं.१६१६ को भाद्रकृष्ण अष्टमी बुधबारको हो । द्रव्य शाहपछि गोरखामा पूर्ण शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह, नरभूपाल शाह राजा भए । वि.सं.१७९९ चैत २५ मा नरभूपाल शाहको मृत्युपछि पृथ्वीनारायण शाह राजा भए । द्रव्य शाहले वि.सं.१६१६ मा लिगलिगकोट र गोरखा बिजयका लागि भगीरथ पन्तलाई सेनापति बनाएर गठन गरेको गोरखाली सेना पृथ्वीनारायण शाह वि.सं.१७९९ चैतमा गोरखाको राजा हुंदासम्म सशक्त थियो । सेनापति फरक थिए, सैनिक फरक थिए, तिनले लड्ने युद्ध फरक थियो, प्रयोग गर्ने हातहतियार र युद्धशैलीमा केहि परिवर्तनहरु थिए, तर त्यही राज्य र त्यही गोरखाली सैनिक सङ्गठन जिवित थियो, सेना त्यसैको निरन्तरता थियो ।
पृथ्वीनारायण शाह राजा भएपछि गोरखाको सोही सेना अघि लगाएर उनले नुवाकोट आक्रमण गरे, तर पराजय भयो । तुरुन्त उनी विश्वासि भारदारसहित हाल भारतमा पर्ने बनारस, काशी यात्रा गरेर केहि थान आधुनिक बन्दूक किनेर ल्याए । ती बन्दूक चलाउन जान्ने तीनजना मुसलमान पनि साथमै ल्याएर तिनलाई गोरखाली सेनामा अजिटन पद दिएर घरषेत समेत दिएर राखे । काशीबाट ल्याएर संध्याएका हतियार र सैनिकको बलमा उनले वि.सं.१८०१ असोज १५ मा नुवाकोट दोस्रोपटक आक्रमण गरे र जिते । वर्तमान नेपाल निर्माणको प्रस्थानविन्दू सोही विजय थियो । त्यो विजय गोरखाको पुरानै सैनिकबाट भएको थियो ।
नुवाकोट पराजयपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले काशीराम थापा नेतृत्वमा गोरखाली सेनाबिरुद्ध सैनिक पठाएर नुवाकोट फर्काउने प्रयास गरे, तर गोरखाली सेनाले कान्तिपुरे सैनिकलाइ पराजित गरिदियो, त्यसपछि गोखाली सेनाले सांखु, चांगु, महादेवपोखरी, नालदुम, सिन्धुपाल्चोक, दोलखा, फर्पिङ, लामीडांडा, पलान्चोक, तिमाल र वि.सं.१८१९ भदौमा सिन्धुलीगढी र मकवानपुर बिजय गर्यो । मकवानपुर बिजयपछि मकवानी राजाका धेरै चांपवाला आधुनिक बन्दूक गोरखालीले पाए, पछि, वि.सं.१८१९ माघमा मकवानपुरको हर्नामाडीमा मकवानी राजाको सहयोगका लागि दक्षिणका नवाव मीरकाशीमले आफ्ना सेनापति गुर्गीन खां नेतृत्वमा झण्डै दुईहज्जार सैनिक गोरखालीबिरुद्ध लड्न पठाए । ती सैनिकलाई पनि गोरखाली सेनाले पराजित गरिदियो र धेरै हतियार हातपार्न सफल भयो । मकवानी राजा र गुर्गीन खां का सैनिकबाट गोरखाली सेनाले धेरै आधुनिक हातहतियार खोसेको थियो ।
ति हतियारको प्राप्तीपछि पृथ्वीनारायण शाहले वि.सं.१८१९ असोजदेखि चैतसम्म : श्रीनाथ, बज्रवाणी, सबुज, कालीबक्स र पुरानो गोरख समेत पांच आधुनिक सैनिक कम्पनी स्थापना गरे । प्रारम्भमा ती सैनिक कम्पनीको कमाण्डर सुबेदार हुने गर्दथे । नयां कम्पनी स्थापना भएतापनि त्यो गोर्खाली सेनाको सेनापति वा कमाण्डर गोर्खाली सेनाका पुराना सरदार वा काजी नै थिए । तसर्थ वि.सं.१८१९ को पांच सैनिक कम्पनी स्थापना नयां सेना स्थापना होइन, पुरानो गोरखाली सेनाको निरन्तरता थियो ।
पृथ्वीनारायण शाहले वि.सं.१८१९ मा ती पांच सैनिक कम्पनी स्थापना गर्दा पुरानो गोर्खाको सेना बिघटन गरेको, मासेको, खारेज गरेको भनेको–लेखेको कहीं कतै पाइएको छैन । इतिहास शिरोमणी बाबुराम आचार्य लिखित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा सेना स्थापना भनिएको छैन, सैनिक कम्पनीहरुको गठन उल्लेख छ । यो भनेको पुरानै सैनिक सङ्गठनमा केहि बन्दूक बोक्ने सैनिक कम्पनी (दल/युनीट) थप गरेको भनिएको हो ।
भनिन्छ : पृथ्वीनारायण शाहले धनुकांड बोक्ने, सिकारी दल लगायत अन्य थप सैनिक दल पनि गठन गरेका थिए, कालान्तरमा तीनको अस्तित्व सैनिक कम्पनीमा विलय भयो । सुबेदार नेतृत्वमा श्रीनाथ, सबुज, बज्रवाणी, कालिबक्स र पुरानोगोरखा समेत पांच सैनिक कम्पनी स्थापना गरेको भएपनि युद्धमा लडाइको नेतृत्व गोर्खाली सेनामा आवद्ध काजी वा सरदारले गर्दथे । ती काजी वा सरदार गोर्खाली सेनाका पुराना सैनिक अधिकारी हुन् । तसर्थ पनि नेपाली सेनाको स्थापना वि.सं.१८१९ को ती पांच सैनिक कम्पनी होइनन्, ती त वि.सं.१६१६ मा द्रव्य शाहले स्थापना वा गठन गरेको गोर्खाली सेनाको समयसापेक्ष नवीनता, आधुनिकता र निरन्तरता थियो ।
वि.सं.१६१६ मा द्रव्य शाहले स्थापना गरेको गोर्खाली सेना वि.सं.१७९९ मा पृथ्वीनारायण शाह राजा हुंदासम्म धेरै परिवर्तन भएको थियो । भलै आजको जस्तो यति वर्ष पुरानो भनी कागजादहरुमा लेखापढी भने कम गरिंन्थ्यो, यो फरक सन्दर्भ हो । द्रव्य शाहले गोरखा राज्य र गोर्खाली सेना स्थापना गरेपछिका दिनमा गोर्खाली सेना निरन्तर युद्धमा थियो, युद्धबाटै त्यो सेना वरपरका राज्यका सेनाभन्दा संख्यामा कम र हतियार कमजोर भएतापनि जुझारु, तिखारिएको, ज्यादा लडाकुपन भएको, आत्मबल र मनोबल धेरै भएको, मर्न र मार्न किन्चित नडराउने दृढ, परिपक्व र विश्वासि थियो । गोर्खाली सेनामा यो आत्मबिश्वास र मनोबल पुस्तापुस्तामा बांचिरहेको थियो, खासमा गोर्खाली सेनाको यही मनोबलले युक्त मध्यकालीन पुस्ताबाट आजको आधुनिक नेपाल एकीकरण (निर्माण भन्नु उपयुक्त हुनेछ) सम्भव भएको थियो । तसर्थ: नेपाली सेनाको स्थापना वि.सं.१८१९ होइन, वि.सं.१६१६ नै हो ।
नेपाली सेनाले केहि वर्षयता नेपाली (गोर्खाली) सेनाको स्थापना वि.सं.१८१९ लाई मान्यता दिएको छ, तर यसको पुष्टि गरेको कहीं कतै पाइएको छैन । गोर्खाली सेनाले वि.सं.१८१९ पछि हालको राजधानी काठमाडौं उपत्यका विजय गरेको हो, नेपाली सेनामा बिद्यमान पद वा दर्जाहरु धेरै पछि लागू भएका हुन् । हाल अस्तित्वमा रहेका अधिकांस संख्याका पल्टन (युनीट) हरु वि.सं.१८१९ भन्दा पछि स्थापना भएका हुन् । वि.सं.२००९ को आधुनिकीकरण पनि यसैको निरन्तरता हो । साथै सेनामा तोपखाना, इन्जिनियर, सिग्नल, हवाइ सुरक्षा ब्याट्री लगायतका ब्यवस्थाहरु आधुनिकीकरणका थप पाइला हुन् । सैनिक सङ्गठनमा भएका उपरोक्त परिवर्तनहरु जिवन्त संस्थाका नियमित कार्य हुन् । कुनै समय धेरै भए, कुनै समय थोरै भए र यस्ता परिवर्तन भोलीका दिनमा पनि भइरहनेछन् । संस्था वा सङ्गठनमा भए गरिएका परिवर्तन वा आधुनिकीकरणका कुनै खास एक सन्दर्भलाई स्थापना वर्ष मान्नु अपरिपक्वता हो, ऐतिहासिक सत्यमाथि गरिएको भद्दा मजाक हो ।
हामीले बुझ्नु पर्ने कुरा ब्यक्तिभन्दा देश र संघ, संस्था वा सङ्गठनको आयु लामो हुन्छ । लामो आयु भएको सङगठनको लामै इतिहास हुन्छ । लामो इतिहासको कालखण्डमा देश वा सङ्गठनमा नेतृत्व, कार्यशेैली, यसको दायित्व, कर्तव्यको सीमा, हातहतियार, तालिम, पोशाक, राशन, तलब स्केल लगायतका सेवा सुविधाहरुमा परिवर्तन भइरहन्छ । समयसमयमा भइरहने यसप्रकारका परिवर्तन र समयसापेक्ष हुने आधुनिकीकरणलाई स्थापना भनि परिभाषित गरिनु तत्कालिन नेतृत्वको ऐतिहासिक भुल हो । यसलाई समयमै सच्याउनु श्रेयष्कर हुनेछ ।
नेपाल र नेपाली सेनाको सन्दर्भ विश्वका अरु देशका सन्दर्भसंग मेल खांदैन । सोभियत रुसमा अक्टोवर क्रान्तिमा बिजयी भएपछि भ्लादिमीर लेनीन नेतृत्वको अलग क्रान्तिकारी सेना रुसको राष्ट्रिय सेना बन्यो । त्यसपछि रुसी राष्ट्रिय सेना र सो को स्थापना मिति फरक हुने नै भयो । छिमेकी चीनमा सन् १९४९ मा माओत्सेतुङ नेतृत्वको द चाइनीज पिपुल्स लिवरेसन आर्मीले चीन कब्जा गरेपछि सोही सेना चीनको राष्ट्रिय सेना बन्यो । अर्काे छिमेकी भारतमा बेलायतले गठन गरेको सेनाको निरन्तरता छ ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतले आफ्नो नयां सेना स्थापना गरेको घोषणा गरेको छैन, सेनामा समयसापेक्ष आधुनीकीकरण गरिरहेको छ तर पुरानै सेनालाई निरन्तरता दिएको छ । पाकिस्तानले भने नयां स्थापना गरेको भन्नु सान्दर्भिक हुनसक्छ । बंगलादेशमा बंगलादेश स्वतन्त्र बनाउन गठन भएको र लडेको सेना राष्ट्रिय सेना भएकोले सो को स्थापना मिति फरक छ ।
नेपालमा वि.सं.१८०१ असोज १५ मा नुवाकोट विजय र त्यसपछिका केहि वर्ष पछिसम्म काठमाडौं उपत्यकासहित ५२–५३ वटा स–साना राज्य र ती राज्यमा अलग सेना थिए, ति सेना बिस्थापित भए र एउटै सेना गोर्खाली–नेपाली सेना कायम भयो । त्यसपछि यहां समयक्रममा शासक र शासन ब्यवस्था परिवर्तन भएको छ । समयसमयमा छिटपुट आपसी संघर्ष भएका छन् तर गोर्खाली–नेपाली सेनाले आधुनिक नेपाल निर्माण सम्पन्न गरेको हो र यहां यही सेनाको सर्वमान्यता अविछिन्न छ । यसर्थ, वर्तमान राष्ट्रिय सेनाको स्थापना वर्ष वि.सं.१८१९ नभएर वि.सं.१६१६ नै हो, यहि कायम गरिनु अपरिहार्य छ ।