
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले संसदमा बलमिच्याईं गर्न खोजेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाउनु भएको हो ।
उहाँले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले संसदमा विचाराधिन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरुमा समितिको बैठक राख्ने गरेको बताउनु भयो । उहाँले संसदमा प्रतिपक्षी दलका नेताहरुले सोधेको प्रश्नको जवाफ समेत सरकारले नभई सत्तारुढ दलका सांसदहरुले दिने गरेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,’हामी देखिरहेका छौं संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ । संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ । संसदमा विचाराधिन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरुमा समितिका बैठकहरु आयोजना गरिन्छन् । प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय प्रतिपक्षी दलका नेताहरुले सोधेका प्रश्नहरुको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरुले दिनुहुन्छ । यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकिकरणको सिद्धान्तअनुसार संसदले संसदको अधिकार सदुपयोग गर्न पाउनुपर्छ ।’
उहाँले सरकारले संसदमाथि गरिरहेको बलमिच्याईं रोकिनुपर्ने बताउनु भयो ।