१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पर्यटक पर्खँदै ‘पूर्वको त्रिपुरेश्वर’

पर्यटक पर्खँदै ‘पूर्वको त्रिपुरेश्वर’
अ अ+ अ-

भोजपुर  ।  ‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रुप देख्न सकिने सो स्थानबाट कतिपय मूर्ति हराएका छन् । 

शिव, पार्वती, राम, सीता, हनुमान, गौरी, गणेशलगायत देवताका मूर्तिसँगै आश्चर्यजनक गुफासमेत रहेको सो  धार्मिकस्थल अहिले इतिहास बन्ने अवस्थामा पुगेको छ । गुफाभित्र गाईका थुन जस्तै देखिने ढुङ्गाका आकृति, नाग र  हात्तीका चित्र तथा ढुङ्गामा उत्पत्ति भएको दियोसँगै पोखरीसमेत छ ।  बयानब्बे वर्षीय स्थानीयवासी गङ्गाबहादुर श्रेष्ठले खोज गर्ने व्यक्तिहरूको  देहावसानपछि गुफाको संरक्षण नभएको गुनासो गर्नुभयो ।  “गुफाभित्र रहेका कतिपय मूर्ति हराए । कति तोडफोड भए । यहाँ देवताका अनेक रूप देख्न सकिन्छ । यसलाई जगेर्ना गर्न कसैको चासो गएन ।  अहिले यो अवस्थामा आइपुग्यो”, उहाँले भन्नुभयो ।  सो देवस्थलमा दर्शन गरे सन्तान प्राप्ति हुने, सोचे–चिताएको पुग्ने बताइन्छ ।   कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य फुट्ने बताइन्छ ।  ‘‘यहाँ आएर दर्शन गरे धेरै कुरा पूरा हुने धार्मिक विश्वास छ । विसं २०३६ अघिसम्म यहाँ दर्शन गर्नेको निकै भिड लाग्थ्यो । अहिले भने यसको महत्व नै हराउँदै गएको छ, जीर्ण बनेको छ ’’, उहाँले भन्नुभयो ।  

यहाँ  रामनवमी, बालाचतुर्दशी र शिवरात्रिमा मेला लाग्ने गरेको ८६ वर्षीय स्थानीयवासी केशरबहादुर श्रेष्ठले बताउनुभयो । तत्कालीन सशस्त्र द्वन्द्वकालको प्रभावसँगै अधिकांश स्थानीयवासी बसाइँ गएपछि संरक्षणविहीन बनेको उहाँको भनाइ छ । ‘‘धेरैअघिसम्मको यो त्रिपुरेश्वर महादेवस्थल देशमा कहलिएको देवस्थल थियो । यहाँ वर्षमा तीन पटक भव्य मेला लाग्थ्यो । विभिन्न काल, परिस्थितिले यो ठाउँ अहिले ओझेलमा प¥यो, संरक्षण भएन । अहिले कतिपय गुफाका प्वाल थुनिएका छन्’’, श्रेष्ठले भन्नुभयो, ‘‘यहाँ देशभरका मानिससँगै भारतबाट समेत भक्तजन दर्शन गर्न आउँथे । सातदिनसम्म त मेला नै लाथ्यो ।’’

अहिले विगतमा लगाइएका साना ढोका तथा प्रवेशद्वार भत्किएका छन् । देवस्थलको घेराबारा नहुँदा यहाँका विभिन्न ठाउँमा क्षति पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘‘पछिल्लो समय यसको संरक्षणमा ध्यान गएन । स्थानीयवासीले चासो दिएनन् । सरकारी पक्षले पनि ध्यान दिएनन् । अहिले यहाँका धेरै संरचना पुराना स्वरुपमा छैनन् । गुफा मानिसहरूको फोहोर फाल्ने ठाउँ बन्ने अवस्थामा छ तर अहिले स्थानीय युवाको पहलमा केही संरक्षणको काम भएको देख्दा खुुसी लागेको छ ।’’

विसं २०२८ मा यहाँका इच्छाबहादुर श्रेष्ठ र धनपाल तामाङले त्रिपुरेश्वर महादेव पत्ता लगाएको मन्दिरका पुजारी रितबहादुर श्रेष्ठले बताउनुभयो । ‘‘यहाँ देवस्थल छ भन्ने सपनामा देखेपछि उहाँहरूले खोजी गर्नुभयो । सपनामा देखेअनुसार त्यहाँ सानो प्वाल रहेको र त्यसलाई खनेर भित्र गएपछि यो स्थान फेला परेको भनिन्छ”, उहाँले भन्नुभयो,‘‘यस देवस्थलमा क्षति पु¥याउनेहरूको वंश नै विनाश भएको अवस्था पनि छ ।

कतिपयले संरक्षण नहुँदा घण्टीलगायत महत्वपूर्ण  सामग्री चोरेर लगेको र पछि बौलाएपछि फिर्ता पनि गरेका छन् ।’’ यहाँको झाराली गुफामा बुढा सुब्बा, राम, सीता, शिव, पार्वतीलगायत अन्य विभिन्न देवीदेवताको मूर्ति रहेको उहाँले जानकारी दिनुभयो । गुफाभित्र प्राकृतिक रुपमा बनेका दियो, नागको चित्र, गाईको थुनबाट दूध आउने स्थान, पोखरीसँगै ५० जनासम्म बस्न मिल्ने ठाउँ रहेको तथा हलेसीको जस्तै पापद्वार र धर्मद्वार पनि रहेको जनाइएको छ । रीतबहादुरले भन्नुभयो,‘‘ यहाँ हलेसीको जस्तो देवीदेवताका मूर्ति छन् ।  कतिपय ठाउँमा गुफा २०७२ को भूकम्पका कारण थुनिएको छ । भित्र पोखरी छ तर संरक्षण र प्रचारको अभावमा यो स्थान पछिल्लो समय ओझेलमा प-यो ।’’

सो स्थलको विकासका लागि स्थानीयवासीले संरक्षण समिति गठन गरेर काम गरिरहेको बताएका छन् । आफैले पैसा सङ्कलन गर्दै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम थालेको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताउनुभयो । अध्यक्ष सीतारामले भन्नुभयो,‘‘ अहिले हामी युवाहरूको अगुवाइमा संरक्षणको काम थालिएको छ  । कतिपय पुराना संरचना बिग्रिएका छन् । कतिपय मूर्ति तोडफोड भएका छन् । धेरै पटक हामीले संरक्षणका लागि बजेट माग गरेपछि वडा कार्यालयबाट यस पटक मन्दिर र पाटी निर्माणका लागि रु चार लाख पाएका छौँ ।’’

सरकारी निकायबाट माग गर्दा पनि संरक्षणका लागि बजेट नआएपछि देउसी खेलेर, स्थानीयवासीबाट चन्दा उठाएर संरक्षणमा काम गरिएको सीतारामले बताउनुभयो । ‘‘यो एउटा देशकै पहिचान बोकेको धार्मिकस्थल हो । हामीले यसको संरक्षणका लागि धेरै निकायसँग हारगुहार ग¥यौँ तर साथ पाएनौँ । स्थानीयवासीबाट पैसा उठाएर यहाँसम्म पुग्ने सडकसमेत बनाएका छौँ ’’, उहाँले भन्नुभयो ।  

करिब दुई रोपनी क्षेत्रमा रहेको सो देवस्थलको संरक्षणमा अहिले स्थानीय जनता जागरुक  छन् । काठमाडौँमा रहेका यहाँका दुई युवा योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ति र १० फिटको त्रिशूल राख्ने काम गरेको स्थानीयवासीले जानकारी दिए । यहाँ घण्टी र ध्वजापताका राख्ने काम पनि भएको संरक्षण अभियानमा जुट्नुभएका  योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य कामसँगै केही समयपछि ५२ केजीको पित्तलको घण्टी र दानपेटिका पनि राखिने छ ।  योगेशले भन्नुभयो, ‘‘हामी दुई जनाले व्यक्तिगत रुपमा रु एक लाख ५० हजारभन्दा बढीको सहयोग गरेका छौँ । अहिले हामीले यसको संरक्षणका लागि काठमाडौँमा पनि अभियान चलाएका छौँ ।  विभिन्न क्षेत्रबाट सहयोग सङ्कलन गरेर अब घण्टी र दानपेटिका राख्ने तयारीमा छौँ ।’’ 

जीर्णावस्थामा पुगेको सो स्थानको संरक्षणसँगै प्रचारप्रसार गर्न सके धार्मिक पर्यटक भित्र्याएर राम्रो आम्दानी लिन सकिने स्थानीयवासी वीरबहादुर तामाङले बताउनुभयो । तामाङले भन्नुभयो,‘‘ यहाँ यति ठूलो देवस्थल छ । यसको संरक्षणसँगै प्रचारप्रसारमा कसैको ध्यान गएन । यसलाई देशविदेशमा चिनाउन सके फूल बेचेर नै स्थानीयवासीले जीवन गुजारा गर्न सक्थे ।’’ यहाँको घेराबारा गर्नका लागि पनि रकम आवश्यक रहेको स्थानीयवासी डम्बरबहादुर श्रेष्ठले बताउनुभयो ।

‘पूर्वको त्रिपुरेश्वर’ क्षेत्रमा विद्युत् नपुगेका कारण गुफामा बत्ती जडान गर्न नसकिएको तथा पानीको धारासँगै अन्य आवश्यक संरचना निर्माण गर्न रकम अभाव रहेको स्थानीयवासीले बताएका छन् । यस्ता संरचनाको संरक्षण तथा विकासमा सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ । यूवराज बिष्ट/ रासस