२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’

नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’
अ अ+ अ-

काठमाडौं: नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ ।

‘जाऊँ भने जाऊँ त नि
दुईचार महिना घुमेर आऊँ त नि
हिमाल चुचुरे
दाइको मन कस्तो बानी निष्ठुरे’

लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर्दैछ ।

यो नवीन स्वरुपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीहरुले संयुक्त रुपमा गरेका हुन् । नेपथ्यसँग केही वर्षयता सहयात्रा गर्दैआएका भिडियोग्राफर दिपित राजले गत वर्ष नेपाल र अमेरिकामा आयोजित नेपथ्य कन्सर्टका दृश्यबाट सवा चार मिनेट लामो यो भिडियो तयार पारेका हुन् । गीतलाई नयाँ स्वरुपमा भने ब्यान्ड स्वयंले ढालेर केही समययता कन्सर्टहरुमा गाउँदै आएको छ ।

भर्खरै बजारमा उपलब्ध नेपथ्य ब्याण्डको जीवनीमा यस गीतको रोचक पृष्ठभूमि पनि पढ्न सकिन्छ ।

नेपथ्यका संस्थापकद्वय अमृत गुरुङ र दिपकजङ्ग राणा कुनै समय पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्थे ।

एक दिन सङ्गीत जानेका दुई जना ‘गोरा’ उनीहरूको स्कुलमा आइपुगे । हिप्पीजस्ता ती गोराले स्कुलमा सांस्कृतिक कार्यक्रम गर्ने भए । साथमा जादु र चटक पनि देखाउने भनिएको थियो । कार्यक्रमका निम्ति तोकिएको ‘डाइनिङ हल’ मा विद्यार्थीको भिड लाग्यो । त्यो दिन उनीहरूले थुप्रै गीत सुनाए । तीमध्ये धेरैजसो अङ्ग्रेजी थिए । एउटा भने सङ्कलन गरिएको नेपाली लोकगीत थियो ।

त्यो गीत सुनाइरहँदा अर्कै कुराले रमाइलो हुन पुग्यो । ती गोराहरूले गितार बजाउँदै उनीहरूको लबजमा ‘दाइको मन कस्तो’ उच्चारण गर्न खोज्थे, जुन ‘डाइको मन क्यास्टो’ सुनिन्थ्यो । यसरी जिब्रो चिप्लिँदा विद्यार्थीहरू खुबै स्वाद मानेर रमाउँथे ।

कतिसम्म भने गण्डकी बोर्डिङका केटाहरू पछिसम्मै ‘बहिनी त कस्तो राम्रो’ भन्नुपर्दा ‘क्यास्टो राम्रो’ भन्थे । जिब्रो र मस्तिष्कलाई प्रभाव पारेको त्यस गीतको सम्झना दीपक र अमृतको स्मृतिमा ताजै थियो ।

कालान्तरमा उनीहरूले खोलेको ब्यान्डको दोस्रो एल्बममा सम्झनाबाट निकालेर यो गीतलाई फेरि पस्कने मात्र नभई त्यस एल्बमको नामकरण यसै गीतबाट हुनपुगेको थियो । नेपथ्यको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ सन् १९९४ मा तयार भएको थियो ।

‘हिमाल चुचुरे गीतलाई सुरुमा बिग्रिएको जिब्रो अनुसारै क्यास्टो भनेर रेकर्ड गर्ने चाहना थियो,’ संस्थापक एवं गायक अमृत भन्छन्, ‘तर साथीहरूमा मत नमिलेपछि अलिक मिलाएरै तयार पारेका थियौं ।’
स्कुल जीवनमा प्रभाव पारेको त्यो गीतले यसरी समयसँगै चोला फेर्दै गएको देखेर आफूलाई पनि खुसी लागेको अमृत सुनाउँछन् ।

‘नयाँ पुस्ताको रुचिअनुसार नौला गीतहरू नेपथ्यले सदैव सुनाउँदै आएको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्ने नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ कुनै कालखण्डमा ब्यान्डले नै गाएको पुरानो गीतलाई पनि नयाँपन दिँदा त्यस्ता रुचिको सम्बोधन हुन सक्ने आँकलन गरेरै यो गीत यस रुपमा पुनः प्रस्तुत गरेका हौं ।’

भर्खरै तयार पारिएको यो म्यूजिक भिडियोलाई यो लिंक Nepathya – Himal Chuchure (Remastered) | हिमाल चुचुरे मा गएर हेर्न सकिन्छ । नेपथ्यका गीतहरु अधिकारिक युट्युब च्यानल Nepathya मा सुन्न र हेर्न  सकिन्छ ।

नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ । यु ट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध हुनेछन् ।