५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपलाडी स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन



अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाइएको छ ।

स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई दक्ष स्वास्थ्यकर्मीले प्रसूति गराउँदै आएका छन । बर्थिङ सेन्टर चौबिसै घण्टा खुल्ला रहने व्यवस्था गरिएको छ ।

सुत्केरी हुने र शिशुको स्वास्थ्यलाई ध्यानमा राखि सरसफाइमा विशेष ध्यान दिइने गरिएको स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले बताए । भर्खरै जन्मेका शिशुलाई चिसोबाट जोगाउनका लागि ‘बेबी वार्मर’ मेसिन राखिएको छ । रु सात लाखपर्ने मेसिन सुदूरपश्चिम सरकारले स्वास्थ्य चौकीलाई प्रदान गरेको हो ।

शिशुलाई चिसो लाग्न नदिनका लागि मेसिनमा राख्ने गरिएको छ । “चिसोका कारण शिशुमा देखिने समस्या मेसिन राखेपछि हटेका छन्” स्वास्थ्य चौकी प्रमुख भट्टले भने, “बर्थिङ सेन्टरमा जन्मने शिशुको मृत्यु दर शून्य रहेको छ ।” सुत्केरी हुने र कुरुवाका लागि हिटर बाल्ने व्यवस्था बर्थिङ सेन्टरमा गरिएको छ । गर्मीका बेला बर्थिङ सेन्टरमा गर्मी हुन नदिनका लागि दुई एसी जडान गरिएका छन ।

नवजात शिशु र सुत्केरी हुने आमालाई बथिङ सेन्टरबाटै एक जोर न्यानो लुगा दिने व्यवस्था मिलाइएको छ । सेन्टरमा सुरक्षित रुपमा दैनिक दुईदेखि तीन जनासम्म आमाहरु सुत्केरी हुनका लागि पुग्ने गरेका छन । दुर्गम गाउँमा सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै सुत्केरी हुनेको सङख्या शून्य रहेको स्वास्थ्य चौकी प्रमुख भट्ट बताउँछन् ।

गर्भजाँच गर्नका लागि स्वास्थ्यचौकीमै अल्ट्रा साउण्ड मेसिनको पनि व्यवस्था रहेको छ । बर्थिङ सेन्टर सञ्चालन भएको भवन पुरानो भएकाले रङरोगनसँगै मर्मत सम्भारको कार्य गर्नका लागि आवश्यक बजेट विनियोजन गरिदिनका लागि नगरपालिकासँग माग गरिएको उनले बताए ।

“गर्भवती तोकिएको समयभित्रै स्वास्थ्य चौकी पुगेर गर्भ चेकजाँच गराउ छन्” उनले भने, “सुत्केरी हुनका लागि बर्थिङ सेन्टरमै आइपुग्दछन् ।” पहिला बर्थिङ सेन्टर सुविधा सम्पन्न नहुँदा सुत्केरी हुनका लागि गर्भवती आमाहरु टाढाको महेन्द्रनगर र धनगढीस्थित अस्पतालसम्म पुग्ने गर्दथे ।

अहिले दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मीसँगै सेवा सुविधा थपेपछि सुत्केरी हुने आमा बर्थिङ सेन्टरमै आउने गरेको उनी बताउँछन् । जटिल प्रकारको शल्यक्रिया गर्नुपर्ने अवस्थाका सुत्केरी हुने महिलालाई मात्रै बाह्य क्षेत्रमा सुत्केरी हुनका लागि परामर्श दिएर पठाउने गरेको उनले बताए ।

बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीले सुत्केरी हुने आमालाई शिशुलाई दूध चुसाउने तरिका, सुत्केरी हुने आमालाई पोषिलो खाने कुरा खानका लागि सल्लाह दिने कार्य पनि हुने गरेको छ । बर्थिङ सेन्टरमा सुरक्षित रुपमा सुत्केरी हुने आमालाई सरकारी तवरबाट उपलव्ध गराइने यातायात खर्च र नियमति गर्भजाँच गराए बापतको प्रोत्साहन रकम उपलव्ध गराइँदै आएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

बर्थिङ सेन्टरमा नवजात शिशुलाई जन्म दिएका सङ्गीता चौधरीले स्वास्थ्यकर्मीको सौहार्दपूर्ण व्यवहारसँगै आमा र शिशुलाई चिसो हुनबाट जोगाउनका लागि गरिएको व्यवस्था सन्तोषजनक रहेको बताए। नगर उपप्रमुख कल्पना पन्त स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरमा सुरक्षित रुपमा शिशु जन्माउने आमालाई ध्यू, अण्डालगायतका सामग्री प्रत्येक वर्ष निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको बताउँछन् ।

बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाउनका लागि योजनावद्ध रुपमा कार्य अगाडि बढाउँदै लैजाने उनको भनाइ छ । नगरपालिकाका चार स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन । रासस