काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत विद्यार्थीहरु अझै ढुक्क भएर फर्किन सक्ने अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
सांसद श्रेष्ठले ओडिसा राज्यस्थित केआइआइटीमा अध्ययनरत भैरहवाकी प्रकृति लम्सालको निधनपछि त्यहाँ उत्पन्न परिस्थितीलाई स्मरण गराउँदै नेपाली विद्यार्थी देश र देश बाहिर कतै सुरक्षित नरहेको प्रतिक्रिया दिएकी हुन् ।
उनले नेपाली विद्यार्थीमाथि शारीरिक र मानसिक यातना हुँदा समेत सरकार ‘नडराऊ म छु’ भनेर भन्न नसकेको भन्दै आपत्ति जनाएकी छन् ।
उनले सामाजिक सञ्जालमा भनेकी छन्– ‘के हामी नेपाली त्यति साह्रो निरिह हो कि हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदा समेत सरकार “नडराऊ म छु” भनेर भन्न सक्दैन ?’
‘अर्काको देशमा पैसा तिरेर आफै पढ्न जाँदा हाम्रो छोरी, हाम्रो बहिनी, हाम्रो नातिनी मर्ने सम्मको स्थितिमा पुग्छिन् त अरू रेल्वे स्टेशनमा फालिन्छन् । हाम्रो सरकारले “आइन्दा उसले त्यस्तो गर्दैन, फिर्ता जाऊ” भन्न सकेको कसरी ?’ उनले अगाडि प्रश्न गरेकी छन् ।
यस्तै, सांसद श्रेष्ठले यसबारे आफूले संसदमा कुरा उठाउन खोज्दा समय नदिएको भन्दै आपत्ति जनाएकी छन् । उनले भनेकी छन् – ‘सदन केही नभएको जस्तो चल्छ, सदनमा बोल्न दिदैनन्, नेपाल सरकार उताको प्रशासनले भनेको कुरामा ढुक्क हुँदै बसेको छ, विद्यार्थीलाई एक्लै छोडी दियो अभिभावकत्व सकियो ।’










