
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेको प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन् । आईतवार प्रतिनिधिसभाको बैठकमा साहले सोधेका प्रश्नमा प्रधानमन्त्रीले आक्रोश पोख्दै जवाफ नदिएका हुन् ।
१० औँ प्रश्नकर्ताको रूपमा सांसद साहले प्रधानमन्त्रीलाई प्रश्नै प्रश्न गरेका थिए । शाहले विरोध, घृणा र अपमानजनक प्रश्न सोधेको भन्दै प्रधानमन्त्रीले भने, ‘उहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन् । संसदजस्तो गरिमामय ठाउँमा यस्तो भाषाले तपाईंलाई के लाभ भयो रे, विदेश पठाएर जस्ता भाषा ? म म्यानपावर कम्पनीको मान्छे हो ?’
सांसद साहको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘तपाईँले भनेको ७० लाख नेपाली वैदेशिक रोजगारीमा ८ महिनामा गएका हुन् ? उहाँले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनु पर्ने छैन । सबै प्रश्नमा आफैँले उत्तर बोकेर आउनुभएको छ । त्यसकारण धेरै उत्तर दिइरहनु परेन । यहाँलाई धन्यवाद छ ।’
साहले सोधेका ८ प्रश्न यस्ता छन्:
१.नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको संख्या कति छ रु उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ रु ती अबैध सम्पत्तिलाई राज्यको जिम्मामा ल्याउन तपाईले के के गर्नुभयो ? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्ति विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ती अवैध सम्पतिलाई किन रोक्न राक्नुभएन ?
२.झण्डै ७० लाख भन्दा बढि नेपाली युवा अहिले वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झण्डै ४० वर्ष भन्दा बढि रेमिट्यान्स आउनुपर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३–१४ खर्ब आउने संभावना छ । मेरो प्रश्न छ–हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ? के नेपाली युवा भ्रष्टाचारीको कालाधन साँट्नलाई विदेशमा मरिरहेका छन ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?
३.वैदेशिक रोजगारमा जाने नेपाली मजदुरले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन् । किन ट्रेड यूनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१औं शताब्दीमा नेपाली मजदूरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईले के कति लाभ पाउनुभएको हो ?
४.नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ । ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढि राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जीडीपीको ३० प्रतिशत हुन आउँछ । यसलाई कर आतंक नभने के भन्ने त प्रधानमन्त्रीज्यू ? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उँभो लाग्छ ?
५.तपाईले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो ? निम्तो नै नआइकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ? प्रष्ट पारिदिन अनुरोध गर्दछु ।
६.यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहमत नहुँदा अहिले विचल्लीमा परेको जस्तो अनुभूति हुदैन ? सत्ता–सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ ?
७.संघीय राजधानी जोड्ने सबै राजमार्ग अस्तव्यस्त छन् । तपाई किन एकपटक ऑफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ? अहिले ती सडक(यात्राको क्रममा जनताको आन्द्रा–भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ?
८.आवासविहीनलाई घर बनाउन ‘सुरक्षित आवास’ भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितसँग मजाक गर्नुभयो ?