१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलनमा परेका चन्द्र भण्डारीको अनुभव (भिडियो सहित)



अ+ अ-

काठमाडौं । पाका पुरानाहरु भन्ने गर्छन् घट्ना या दुर्घटनाको कुनै न कुनै संयोग हुन्छ । हुने पनि रहेछ । आज कीर्तिपुरको जलन अस्पतालमा पनि यस्तै देखियो, बडो दु:खदायी संयोग ।

संयोग थियो नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको ।

अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य आज पोखरामा एक दुर्घटनामा जलन भएपछि कीर्तिपुर अस्पतालको आइसियुमा भर्ना भएका छन् ।

पोखरा महानगरमा पोखरा भ्रमण बर्ष घोषणा कार्यक्रममा उदघाटनका क्रममा उडाउन ठिक्क पारिएको बेलुनमा आगोको झिल्का पर्दा अकस्मात पड्किन पुग्यो र आगोको झिल्काले पौडेल र आचार्यलाई पनि छोएपछि घाइते भए । उनीहरुलाई पोखराबाट हेलिकोप्टरमा ल्याई त्यहाँ भर्ना गरिएको छ ।

अस्पतालमा भेट्न टुप्लुक्क पुगे चन्द्र भण्डारी । त्यसपछि हामीले सोध्यौँ‐ यहाँ पनि जलनबाट पीडित हुनुहुन्छ । यही अस्पतालमा आउनुभएको थियो । कस्तो अनुभव गर्नुभयो ? विरामीलाई कस्तो सुझाव दिनुभयो ?

त्यसपछि उनले खोले संयोगको पोको । दुई बर्ष अघि भण्डारी पनि आजकै दिन अर्थात् फागुन ३ गते राति घरमा जलन भएर सो अस्पतालमा भर्ना भएका थिए । घरमा आमा र उनी जलेपछि सो अस्पताल राति नै पुर्याइएको थियो । यही जलनबाट पछि आमाको निधन भएको थियो ।

भण्डारीलाई भने भोलिपल्टै भारत लगिएको थियो । लामो समयको उपचार पछि उनी निको भएर फर्किएका थिए ।

भण्डारीले भने‐ संयोग पनि कस्तो । म पनि फागुन ३ गतेकै दिन हो यस्तो दुर्घटनामा परेको । दिउँसो संसदमा बोलेँ, अनि राति त त्यस्तो दुर्घटना भयो । आज विष्णुजीलाई भेट्न आउँदा झल्यास्स सम्झिएँ ।

त्यसमा अर्को संयोग पनि खुलाए उनले । उनी जलेर यो अस्पताल पुग्दा उनलाई भेट्न अरु नेताहरुभन्दा लगभग अगाडि नै पुगेका थिए विष्णु पौडेल । र पौडेलले उनलाई उपचार गर्न भारत जानु, उपचार खर्चको जोहो गरौँला भनेका रहेछन् ।

संयोगबस आज पनि उनी लगभग अरु नेताहरुभन्दा अगाडि नै त्यहाँ पुगेका थिए । यसलाई पनि अर्को उस्तै संयोग मान्नुपर्छ ।

त्यहाँ पुग्ने जोकोहीले पनि भेट्न खोज्दा उनले जलेका विरामीलाई भेट्न नहुने सुझाइरहेका थिए । उनले भन्दै थिए‐ यस्तो बेलामा भेट्न हुँदैन । मलाई त भारतमा ३ महिनासम्म कसैलाई पनि भेट्न दिएको थिएन । मानिसहरुले भेट्दा मानिसहरुबाटै संक्रमण हुने डर हुने कुरा भारतका डाक्टरहरुले बारम्बार भन्ने गरेको उनले सुनाए ।

उनले नेपालमा जलनका विरामीका लागि उपकरण र उपचार विधिका लागि आवश्यक पर्ने लजिस्टिक आवश्यक रहेको सुझाए । नेपालमा जलेका विरामीको उपचार गर्ने चिकित्सकहरु संसारकै राम्रा र दक्ष रहेको कुरा भारतीय चिकित्सकहरुले समेत भन्ने गरेका उनले सनाृए ।

सांसद भण्डारीले जलनको अस्पताललाई उपकरणयुक्त बनाउन सकिए यहाँ जनशक्तिको खाँचो नरहेकाले हामीले धेरै गर्न सकिने उनले बताए । उनले भने‐ हामीले अलिकत खर्च गरेर उपकरण र उपचार विधिमा मात्र लगानी गर्न सक्यौँ भने यहाँ उपचारका लागि संसारका मानिस आउने छन् । आफू जलनका विरामीको उपचार गर्ने सुविधासम्पन्न अस्पताल निर्माणमा लागेको र त्यसका लागि संसदमा पनि निरन्तर आवाज उठाइरहेको जानकारी पनि उनले दिए ।

आफूले अर्थमन्त्री र मेयरको अवस्था खतरामुक्त भएको पाएको जानकारी पनि उनले दिए । आफूले उहाँहरुलाई मानिसहरुसँग नभेट्न सुझाव दिएको पनि बताए ।

पौडेल र आचार्यको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई आगामी ४८ घन्टासम्म उच्च निगरानीमा राखेर उपचार गर्ने पनि जनाएको छ ।

उनीहरुलाई भेट्न अस्पतालमा मन्त्री, सांसद, नेताहरुको भिड लागेको छ । तर चिकित्सकले भने सीमित मानिसहरुलाई मात्र भेट्न दिएका छन् । आइसियुमा राखेर उपचार भइरहेको छ ।