२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्प र जेलेन्स्की बीच फोनवार्ता



अ+ अ-

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जेलेन्स्की र ट्रम्प बिचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताइन् । अमेरिकी सरकार ‘शान्ति सम्झौता’ र रुस र युक्रेनबिच चलिरहेको युद्धको अन्त्य गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो।

लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भनेकी छन्, ‘अमेरिका र युक्रेनी नेताहरूबीच शुक्रबार म्युनिखमा हुने बैठकबारे वार्ता भएको छ।’ त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पसँग लामो कुराकानी भएको जानकारी दिएका छन्। उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो। शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकामा म आभारी छु। उहाँ (ट्रम्प) ले मलाई राष्ट्रपति पुटिनले भनेको कुरा सुनाउनुभयो।’

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनसँग कुरा भएको र आफूहरू भेटवार्ता गर्ने तय भएको बताएका थिए।