४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्ध लाग्ने पहिलो महिला क्रिकेटर बनिन् सोहाली अख्तर, आईसीसीले लगायो ५ वर्षको प्रतिबन्ध



अ+ अ-

एजेन्सी । बंगलादेशका स्पिनर सोहाली अख्तरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ५ वर्षको प्रतिबन्ध लगाएको छ ।

उनी २०२३ को महिला टी–२० विश्वकपमा फिक्सिङ गरेको आरोपमा दोषी पाइन् । सोहाली भ्रष्टाचारका कारण प्रतिबन्ध लाग्ने पहिलो महिला क्रिकेटर बनेकी छन् ।

अख्तरले आईसीसीको धारा २.१.१, २.१.३, २.१.४, २.४.४ र २.४.७ उल्लङ्घन गरेकी छन् । सोहालीले आफ्नो अपराध स्वीकार गरेपछि उनलाई ५ वर्षको प्रतिबन्ध लगाइएको हो । उनको प्रतिबन्ध फेब्रुअरी १०, २०२५ देखि सुरु भई फेब्रुअरी २०३० सम्म जारी रहनेछ ।

आईसीसीका अनुसार, ‘१४ फेब्रुअरी २०२३ मा अष्ट्रेलियासँगको खेलअघि सोहालीले आफ्ना साथी खेलाडीलाई म्यासेज गरेकी थिइन् । उनले आफ्ना साथी खेलाडीहरूलाई बंगलादेशको अर्को खेल फिक्स गर्न उक्साउने भ्वाइस नोट पठाएकी थिइन् ।

अख्तरले आफ्ना साथी खेलाडीलाई आफ्नो ‘कजिन’ले आफ्नो मोबाइलमा बाजी लगाएको बताउँदै अस्ट्रेलिया विरुद्धको खेलमा खेलाडीले पेस बलरलाई सोही बलमा विकेट गिराएको चाहन्थे । यदि खेलाडीले फिक्सिङ गरेमा २० लाख बंगलादेश टाका पाउने उनले बताएकी थिइन् ।

अख्तरले आफ्ना साथी खेलाडीलाई चाहे भने २० लाखभन्दा बढी पाउन सक्ने बताएकी थिइन् । दुवै बीचको वार्ता गोप्य रहने र खेलाडीले चाहेमा सम्झौता अस्वीकार गर्न सक्ने उनले बताएकी थिइन् । अख्तरले भ्वाइस नोटमा कुराकानी सकिएपछि मेसेज डिलिट गर्ने बताएकी थिइन् ।

अख्तरले सोधपुछपछि आफ्नो गल्ती स्वीकार गरेको आईसीसीले जनाएको छ । स्क्रिनसट गरिएका म्यासेजहरू आफूले दुई फरक मोबाइलबाट पठाएको उनले बताइन् ।

३६ वर्षीया अख्तरले बंगलादेशका लागि २ एकदिवसीय र १३ टी–२० खेलेकी छिन् । जसमा उनले ११ विकेट लिएकी थिइन् । उनले टी–२० मा ८ विकेट र एकदिवसीयमा ३ विकेट लिइन् । उनले एकदिवसीयमा ब्याटिङबाट ६ रन बनाएकी थिइन् ।