७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
अ+ अ-

वीरगञ्ज। वर्षातको पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।

वर्षायाममा जमेको पानीले अहिले पनि खेत भरिएका छन् । किसानले बाली लगाउन सकेका छैनन् । वीरगञ्ज महानगर– २६ का किसान भगीरथप्रसाद कुर्मीले विगत छ महिनादेखि खेतीयोग्य जमिन डुबानका कारण बाली लगाउन नपाएको दुखेसो पोखे । “वर्षात्देखि खेतीयोग्य जमिनमा पानी जमेको जम्यै छ, पानी जमेकै कारणले धान पनि काट्न परेन । हिउँदयाम सुरु भयो । डुबानले गहुँखेती गर्न पाएका छैनन्”, उनले भने।

किसान कुर्मीको १५ कट्ठा क्षेत्रफलको धान तथा अन्य बाली खेती गर्ने जमिन डुबानका कारण बेकामे भएको छ । “डुबानको समस्या लिएर धेरै निकाय धाइसक्यो । तर, हाम्रो समस्या भने जस्ताको तस्तै छ, कम्तीमा वर्षायामअगावै डुबान समस्या अन्त्य गरिदिए हुन्थ्यो”, उनले बताए।

उनको जस्तै समस्या वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सुदामाकुमार द्विवेदीले पनि भोग्दै आएका छन् । वर्षायाममा परेको पानीको उचित निकास नहुँदा २१ कट्ठा खेतमा लगाएको धान काट्न नपाएको उनले गुनासो पोखे ।

“असारमा धान रोपेका थियौँ । एकमुठी धान पनि भित्र्याउन पाएनौँ, यस्तै अवस्था रहने होभने बालबच्चा र परिवार कसरी पाल्ने ?”, उनले चिन्ता व्यक्त गरे । पछिल्लो समय परवानीपुर–एकीकृत जाँचचौकी छ लेनको सडक, हुलाकी राजमार्ग, अलौँ अठराहा सडक, एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहलगायत संरचना निर्माण भएसँगै प्राकृतिक पानीको बहाव रोकिएपछि डुबानको समस्या भएको हो ।

विगतमा अलौँबाट पानीको निकास हुँदै आइरहेको थियो । तर, विभिन्न खालका पूर्वाधार संरचना निर्माण भएपछि प्राकृतिक रूपले पानीको बहाव रोकिएपछि किसानको खेत तथा घरमा डुबानको समस्या परेको हो ।

वीरगञ्ज महानगर–२४ बहुअरीका अनिल तिवारीले खेतीयोग्य जमिन मात्र नभएर चारवटै वडावासीको घरमा पानी जम्ने समस्या रहेको बताए । “चारवटै वडाका विभिन्न घर डुबानमा परेका छन्”, उनले भने, “तीन–चार फिट जमेको पानीमा हिँडेर घर जानुपर्ने समस्याबाट स्थानीय गुज्रिँदै आइरहेका छन् ।” महानगर–२६ मा २०, वडा नं २४ मा ३५ घर र वडा नं २५ मा एक दर्जनभन्दा बढी घर डुबानमा परेको बताइएको छ ।

वीरगञ्ज महानगर–२६ का कार्यवहाक वडाध्यक्ष प्रदीप पटेल सडकलगायत पूर्वाधार निर्माणले प्राकृतिक रूपमा पानीको निकास बन्द हुँदा डुबानको समस्या भएको बताए। “विगतमा यस्तो समस्या थिएन । वर्षात्को पानी असोज–कात्तिकसम्म सुकिसक्थ्यो, अहिले पानीको निकास नहुँदा कहिलेसम्म डुबानको समस्या रहने हो भन्ने शङ्का उत्पन्न भइरहेको छ”, उनले भने ।

वीरगञ्ज महानगरले गत कात्तिकमा खेतीयोग्य जमिनमा डुबानको समस्या देखिएपछि अलौँबाट शिवजी मिलसम्म तीन फिट गहिरो नाली खनेको थियो । तर, स्थानीयवासीले अस्थायी नाली पुरिदिएसँगै सो समस्या यथावत् नै रहेको बताए।

वीरगन्ज महानगरपालिकाका योजना शाखाका सबइन्जिनियर कुन्दन ठाकुरले भने, “गत कात्तिकमा डोजरले तीन फिटको नाली खनेर अस्थायी ढङ्गले पानीको निकास गर्ने प्रयास गरेका थियौँ । तर स्थानीयवासीको अवरोधको कारणले अहिले पानीको निकास हुन सकिरहेको छैन।”

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरको विभिन्न चार वडामा देखिएको डुबानको समस्या समाधान गर्न तीन तहका सरकारसँग समन्वय भइरहेको जानकारी दिए।

डुबान प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरिसकेका छौँ”, उनले भने, “सरोकार भएका निकायसँग समन्वय गरेर समस्याको गाँठो फुकाउने प्रयास जारी छ । रासस