काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले कानून निर्माणमा ढिलाई हुँदा जनतामाथि अन्याय भइरहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्ता कानून निर्माण सुस्त गतिमा हुँदा जनताले पाउनुपर्ने सेवा सुविधा समेत पाउन नसकेको बताउनुभएको हो । उहाँले जनतालाई प्रभावकारी सेवा दिनका लागि कानून निर्माणमा जोड दिँदै विधेयक छिटो छरितो रुपमा पारित गर्नुपर्ने बताउनु भयो । उहाँले प्रहरी समायोजन ऐन, शिक्षा विधेयक र संघीय निजामति सेवा विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदको मुख्य काम भनेकै कानून निर्माण गर्नु हो । हामी कानून निर्माण अति सुस्त गतिमा गरिराखेका छौं । जनताका लागि अति आवश्यक कानून समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैन । पाउनुपर्ने आवश्यक सेवा सुविधा पनि पाउदैनन् । तसर्थ छिटो छरितो रुपमा विधेयकहरु पारित गरौँ । जुन प्रहरी ऐन, शिक्षा ऐन र निजामती कर्मचारी सेवा ऐन लगायत छन् । सत्ता गठबन्धनको मुख्य उद्देश्य हो राजनीतिक स्थिरता, सुशासन, मुलुकलाई आर्थिक गति दिने र संविधान संशोधन । र यी कुराहरु नहुन भन्नको लागि प्रमुख प्रतिपक्षी दल र सत्ता बाहिर रहेका दलहरु लागिरहेका छन् । जुन कुरा मुलुकको हितमा होइन ।’
उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै सुशासन कायम गर्नु र संविधान संशोधन वर्तमान सरकारको उद्देश्य रहेको समेत बताउनु भयो । उहाँले सरकारका उद्देश्यहरु पूरा हुन नदिन सत्ताबाहिरका पार्टीहरु लागिपरेको समेत बताउनु भयो ।










